पोखरा/ गएको पुस १४ गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भयो ।
नयाँ पूर्वाधार १७ हजार पाँच सय दर्शक क्षमताको प्यारापिट, व्यवस्थित सिट, शौचालय भएको मैदानको प्रशंसा पनि भयो । आयोजक सहारा क्लब पोखराले प्रतियोगिता संचालन गर्दा रंगशाला प्रयोगवापत्को भाडा तिर्नु परेन । दुई दशकदेखि निरन्तर पोखराको फुटबल विकासमा लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङले परिषद्सँग समन्वय गरेर निःशुल्क गराइदिए । मैदानको भाडा तिर्न नपरेपनि सरसफाइ र प्रतियोगिता दौरान पूर्वाधारमा क्षति भएमा निर्माणको जिम्मेवारी भने आयोजककै थियो ।
आयोजक सहारा क्लब पोखराले फुटबल मैदान प्रयोग गर्नुअगावै सम्पूर्ण पूर्वाधारको अवलोकन गर्दै सबैको फोटो खिचेर प्रमाण स्वरुप राख्यो । सुरुमा सबै ठीक थियो तर प्रतियोगिताका दौरान रंगशालामा रहेकामध्ये केही शौचालय धाराका टुटी चोरी भए । नौ दिन प्रतियोगिता संचालन गर्ने उपक्रममा दैनिकजसो टुटी चोरी भए । सहाराले क्षतिपूर्तिबापत् २३ हजार रुपैयाँका सामानहरु रंगशालालाई बुझाएको प्रतियोगिता प्रचार प्रसार संयोजक सुदर्शन रञ्जितले जानकारी दिए ।
अहिले फेरि शौचालमा रहेका धाराका टुटी तथा सामानहरु चोरी भएका छन् । तेस्रो संस्करणको टाइगरकप आयोजना हुँदै गर्दा गण्डकी प्रदेश सरकारले निर्माण गरेका धाराका टुटीहरु पुनः हराएका हुन् । रंगशालाको सुरक्षाका लागि उत्तरतर्फको मुल गेट र दक्षिणमा रहेको दोस्रो ठूलो गेटमा उच्चस्तरको दुईवटा सिसिटिभी क्यामेरा जडान भएको छ । रंगशालाको विभिन्न स्थानमा गरी कुल ५३ सिसिटिभी जडान छन् । त्योबाहेक विभिन्न खेल संघले आ–आफ्नो तरिकाले समेत सिसिटिभी क्यामेरा जडान गरेका छन् ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिबी नेपालीले प्रतियोगिताका दौरानमात्रै चोरीका घटना घटेको सुनाए । उनले पेशेवरबाटै चोरी भएको अनुमान लगाए । ‘आहा रारा गोल्डकप संचालनको समयमा १७÷१८ वटा धाराका टुटीहरु हराए । त्यो हेर्दा एकदम पेशेवर चोरहरु जसरी नै एकदम व्यावसायिक जस्तो देखियो,’ उनले भने, ‘प्रदेश खेलकुदले मनाएको शौचालयको पनि अहिले पूर्वतर्फको झ्याल खोलेर भित्र पसेको देखिन्छ । झ्याल खुल्लै रहेछ त्यहीँबाट पसेको हाम्रो अनुमान रहेको छ ।’ रंगशालामा पर्याप्त सुरक्षाकर्मी नहुँदा चोरी भइरहेको उनले बताए । नवौं राष्ट्रिय खेलकुद र प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदामात्रै सुरक्षाकर्मी राखेको उनको भनाइ छ ।
चोरीका घटना बढ्न थालेपछि अहिले बिहान र बेलुका खटिनेगरी दुई जना सुरक्षा गार्डको व्यवस्था गरेको उनले जानकारी दिए । कार्यालय सहयोगी र प्रदेश खेलकुद परिषदलेसमेत बेलुकाको सुरक्षाका लागि कर्मचारी खटाएको उनको भनाइ छ । यसअघि रंगशालाकै एक कर्मचारीको आफन्तमाथि शंका गरी सोधपुछ गरिएको थियो ।
प्रमाण नभेटिएपछि उनलाई गलत हर्कत गरेको खण्डमा कामबाट बिदा गर्ने चेतावनी समेत दिएको थियो । एक खेलकर्मीका अनुसार खेलका दौरान चोरी नभएको खेल सकिएपश्चात र रातको समयमा चोरी भएको देखिएको छ । ‘यहाँ दिउँसो चोरी भएको छैन् । प्रतियोगिता भएको दिनको रातमा चोरी भएको आशंका गर्न सकिन्छ ।
खेल हुँदा धेरै जना आउँजाउ हुन्छ त्यसैले चोरी गर्न सहज छैन् तर रातको समयमा भने चोरी हुन सक्छ,’ उनले भने । उनका अनुसार चोरीमा रंगशालमै काम गर्ने कर्मचारी हुन सक्ने आशंका गरिएको छ । ‘रंगशालाको चाबी सबैसँग हुँदैन । अनि त्यहाँ छिर्ने ठाउँपनि छैन् । यो चाबी भएकै व्यक्तिको काम हो जस्तो देखिन्छ,’ उनले थपे,‘यसको छानविन रंगशालाले गर्नुपर्छ होइन भने प्रहरीमा समेत जानुपर्ने हुन्छ । यसरी घटना घट्दै जाँदा भोलिका दिनमा ठूला चोरी हुन सक्छन् ।’





