पोखरा/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले पदभार ग्रहण गरेका छन् । सो क्रममा उनले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघीयताको विकासमा लाग्न सवैखालका प्रयासमा साथ दिन निर्देशन दिए । अहिलेको कार्यभार भनेको संघीयताको पूर्ण कार्यान्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्न गर्नुपर्ने उनले बताए ।
योजनाको वर्गीकरण गरी संघ प्रदेश र स्थानीय तहको कार्यविभाजन बिना परिणाम नआउने भएकाले योजना वर्गीकरणलाई पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो । टुक्रे र परिणामविहीन योजनाले गण्डकी प्रदेशको विकास संभव नहुने भएकाले दीर्घकालीन रुपमा रणनीतिक योजनामा प्रदेशले काम थाल्ने उनले बताए ।
पदभार ग्रहण गर्दे मन्त्री चुमानले गण्डकी प्रदेशमा विद्युतीय सवारी सञ्चालनसम्बधी मापदण्ड तयार गरी लागू गर्ने र्निणय गरेका छन् । हालसम्म सार्वजनिक रुपमा विद्युतीय सवारी सञ्चालनका लागि कुनैपनि मापदण्ड नभएकाले एक महिना भित्र मापदण्ड तयार गर्नेउनले बताए । पदभारकै क्रममा गण्डकी प्रदेश बुदसिंह मार्गमा पर्ने तनहुँ स्थित बन्दीपुर गाउँपालिका ६ कुचिलाफेद र देवघाट गाऊपालिका ३ तनहुँ जोड्ने सडकअन्र्तगत सेतिनदीमा पुल र्निमाण कार्य आरम्भको लागि प्रक्रिया अगाडी बढाउने निर्णय पनि गरिएको छ ।





