पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री र सचिवलाई अनावश्यक खर्च घटाउन निर्देशन दिएका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि पहिलोपटक सबै मन्त्री र साविकका १२ वटै मन्त्रालयका सचिव र नवनियुक्त मन्त्रीहरुलाई सँगै राखेर बिहीबार उक्त निर्देशन दिएका हुन् । बैठकमा मुख्यमन्त्री अधिकारीले पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन निर्देशन दिए ।
मुख्यमन्त्री अधिकारीले मितव्ययी भएर नागरिकले महसुस गर्ने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिए । प्रदेश सरकारविरुद्ध अहिले विभिन्न खालका गुनासा आउने गरेको भन्दै ती गुनासाहरुलाई सम्बोधन हुनेगरी कार्य सम्पादन गर्न भने ।
आर्थिक ऐन, नियम तथा कार्यविधि कार्यान्वयन गरी पुरानो बेरुजु रकम फर्छ्यौट गर्न एवम् नयाँ बेरुजु हुन नदिन पहल गर्नुपर्ने बताउदै मुख्यमन्त्रीले प्रदेशमा सुशासन कायम गर्नुपर्नेमा पनि जोड दिए ।
मुख्यमन्त्री अधिकारीले प्रदेश गौरवका आयोजनालाई अगाडि बढाउन, समपुरक, विशेष र वित्तीय समानीकरण अनुदानको गुणात्मकता ल्याउन समन्वय, सहअस्तित्व र सहकार्यको अवधारणालाई व्यवहारमा उतार्ने गरी ठोस कार्यक्रम र कार्ययोजना समन्वयात्मक ढंगबाट सम्पादन गर्नेगरी व्यवस्था मिलाउन, सबै मन्त्रालयले आवधिकरुपमा ठोस नतिजासहितको कार्य प्रगति प्रतिवेदन पेस गर्न पनि निर्देशन दिए ।
बैठकमा प्रमुख सचिव रविलाल पन्थले सहजीकरण गरेका थिए । उनले राजनैतिक नेतृत्वले लिएको अवधारणालाई कानुनी प्रक्रिया पुरा गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।





