पोखरा/ यती एयरलाइन्सको विमान दुर्घटनास्थल सेती खोंचमा मृतकको सम्झनामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन भएको छ । पोखरा महानगरपालिकासहित विभिन्न राजनीतिक दल र संघ÷संस्थाहरुले दुर्घटनाको १३औं दिनमा सो कार्य गरेका हुन् ।
पोखरा महानगरपालिकाले दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुलनजिक ठीक १०ः५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो । सो अवसरमा घटनामा निधन भएका सबै यात्रुको स्मृतिमा दीप प्रज्वलनसमेत गरियो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तब्ध भएको बताए । दुर्घटनाका आला घाउहरु पुर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाइ थियो । उनले दुर्घटनापछि जोखिम मोलेर उद्धारमा महत्त्वपूर्ण योगदान गर्नेहरुलाई सम्झिए । यता, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सोही ठाउँमा पूजापाठसहित मृतकहरुको चीरशान्तिको कामना ग¥यो । राप्रपाले आयोजना गरेको श्रद्धाञ्जली सभामा ओमकार परिवारले शान्तिपाठ गर्दै पूजा गरेका थिए ।
एकातिर बुद्ध धर्मालम्बीले आफ्नै परम्परा अनुसार पूजापाठ गरिरहेका थिए भने अर्कोतिर बटुकहरु आफ्नो अगाडि दीयो बालेर स्वस्तिशान्ति मन्त्र पाठ गरिरहेका थिए । हिन्दु र बौद्ध परम्परा अनुसार दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको आत्माको शान्तिका लागि पूजापाठ गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । यता विमान दुर्घटनामा दिवगंत पत्रकार त्रिभुवन पौडेल तथा सञ्चारकर्मी अनिल शाहीको १३ औ पुण्यतिथिमा बिहीबार श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना भयो ।
दिवंगत त्रिभुवन पौडेल नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष, महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष र हाल महासंघका केन्द्रीय सदस्य थिए । यस्तै सञ्चारकर्मी अनिल शाही एपोस्टल एफएम सञ्चालन गर्दै आएका थिए ।





