शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

संकटमा कालीगण्डकीको सभ्यता : संरक्षणका लागि सर्वत्र चिन्ता

संकटमा कालीगण्डकीको सभ्यता : संरक्षणका लागि सर्वत्र चिन्ता


  • धु्रवसागर शर्मा
  • माघ १६ २०७९, सोमबार
Lunar landscape near Kangbeni, in Nepal

म्याग्दी/
‘माछापुच्छ्रे गिरी शिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम
काली गंगा भनन कसरी कुँद्छ्रयौ शालिग्राम ?’

राष्ट्रकवि माधवप्रसाद घिमिरेले कालीगण्डकीलाई शालिग्राम कसरी कुद्छ्यौ ? भनि प्रश्न गरि लेखेको यो कवितांशमा नै कालीगण्डकीको महिमा झल्किएको छ ।
शालिग्राम कुद्ने विशिष्ट वरदान पाएको पवित्र नदी कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाउमा मानवीय प्रहार हुन थालेपछि पवित्र नदी कालीगण्डकीको सभ्यता र अस्तित्व दुवै संकटमा परेको छ ।

कालीगण्डकी केवल पानीले निकास खोज्दै उंधोतिर बगेको नदीमात्र होइन, यो त सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहर हो भन्ने कुरा विर्सदा कालीगण्डकीको सभ्यता संकटमा पर्दै गएको सरोकारवालाहरुको बुझाइ छ ।

राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौं वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्वन्ध रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

विश्वकै एकमात्र शालिग्राम पाइने नदीको रुपमा यसको बेग्लै पहिचान बनेको छ । हिन्दूहरुको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि राम्रो हुने जनविश्वास अहिले पनि त्यतिकै व्याप्त रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

कालीगण्डकीको महिमा यतिमै मात्र सीमित रहदैन । कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभएर पशु,पंक्षी,किट,पतंगदेखि लिएर मानव जातीलाई समेत सेवा पु¥याएको प्राकृतिक सेवक पनि भएको पं भीमनाथ पराजुलीले बताए । ‘कालीगण्डकीको धार्मिक महत्व त अवर्णनीय छ नै,यसको जैविक,सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्व पनि कम छैन’, पं पराजुलीले भने ।
कालीगण्डकीको मुक्तिनाथदेखि देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ । यसवाट हजारौं हेक्टर भूमि सिञ्चित भएको छ । कालीलाई थुनेर ठाउँठाउँमा विद्युत ऊर्जा निकालिएको छ । नेपालकै सबैभन्दा ठूलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा रहेको छ ।

पछिल्लो समय कालीगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाकाका कारण कालीगडकी चर्चामा छ ।
बुटवल, भैरहवा, रुपन्देही, कपिलवस्तु लगायतका क्षेत्रहरुमा कालीगण्डकीको पानी पु¥याएर सिंचाइ, जलविद्युत र अन्य प्रयोजनका लागि लाभान्वित गर्ने बृहत उद्देश्यका साथ डिजाइन गरिएको राष्ट्रिय आयोजनाका रुपमा यसलाई लिइएको छ ।

तर यो आयोजनाबाट गण्डकी प्रदेश भने नराम्ररी बिच्किएको छ । यसले मुस्ताङदेखि देवघाटसम्मको विशाल क्षेत्रफलमा गम्भीर असर पार्ने विश्लेषणका साथ गण्डकी प्रदेशका स्याङ्जा, पाल्पा र तनहूँका जनप्रतिनिधिहरु आक्रोशित बनेका छन् ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त ‘कालीगण्डकी डाइभर्सन विष्णु त के ब्रह्मा आए पनि पूरा नहुने’ कडा टिप्पणी गरी डाइभर्सनप्रति गम्भीर असहमति जनाउनुभएको थियो ।
डाइभर्सन आयोजनाले स्याङ्जाको राम्दीदेखि देवघाटसम्मको १३३ किलोमिटर अन्तर्गत चापाकोट नगरपालिका, रामपुर नगरपालिका हुँदै रम्भा, निस्दी, घिरिङ, बुलिङटार, बौदीकाली, देवघाट गाउँपालिका हजारौं परिवार प्रभावित हुने अनुमान गरिएकाले यस क्षेत्रका मानिसहरु आयोजना अगाडि बढ्ने भयो भनेर थप आक्रोशित बनिरहेका छन् ।

यता गण्डकी प्रदेशका पर्वत,बागलुङ,म्याग्दी मुस्ताङ लगाएतका जिल्लाका वासिन्दाहरु चिन्ता भने बेग्लै छ । कालीगण्डकीको दक्षिणी क्षेत्रमा लुम्बिनी प्रदेश लक्षित डाइभर्सनको विषयले कालीगण्डकीको मौलिक अस्तित्व नासिने खतरा छ । उत्तरी क्षेत्रमा भने यसको मौलिक स्वरुप नासिनुका साथै वातावरणीय अस्तित्व समेत खतरामा पर्ने चिन्ताले गाँजेको छ ।

कालीगण्डकीको किनारै किनार हुँदै खनिएको कालीगण्डकी करिडोर,भू–क्षय,बाढी पहिरो,आदिले कालीगण्डकी नदीको जलचक्र प्रणाली नै प्रभावित भएको वातावरणविद सापकोटाले बताए ।
त्यसैगरी कालीगण्डकीबाट अनियन्त्रित रुपमा निकालिने नदीजन्य पदार्थ र शहरी क्षेत्रको फोहोर मैला विर्सजन गरिने चलनले पनि कालीगण्डकीले मौलिक स्वरुप गुमाउँदै गएको छ ।

हालै मात्र भारतको अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा राखिने भगवान श्रीराम र सीताको मूर्ति बनाउनका लागि कालीगण्डकीबाट शिला लगिनुले पनि यो नदी अहिले विश्वमा नै चर्चित बनेको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, प्रतिनिधिसभा सदस्य एवम् पूर्वगृहमन्त्री नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज र जानकी मन्दिरका महन्तलगायतले शिलाको पूजापाठ गर्दै नदीको मौलिक स्वरुप नासिदै जान थालेकोप्रति चिन्ता व्यक्त गरेका थिए ।

कालीगण्डकीको शिला भगवान विष्णुको अवतार भएको र रामको बाल अवतारको स्थापनाका लागि पवित्र कालीगण्डकीको शिला लैजान लागिएको अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताए । ‘हामी अत्यन्तै खुसी हर्षित छौँ, नेपालको कालीगण्डकीबाट भगवान रामको मुर्ति बनाउने शिला उपहार पाएका छौँ, यसले अयोध्या, जानकी र समग्र कालीगण्डकी क्षेत्रको धार्मिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिएका छौँ’ उनले भने ‘यो नदीको मौलिक अस्तित्वलाई बचाइराख्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->