बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

आफ्नै ज्यानको माया नगर्नेहरु…

आफ्नै ज्यानको माया नगर्नेहरु…


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०७९, सोमबार

पोखरा/ मादी गाउँपालिका ६ तप्राङका कृष्ण क्षेत्री पोखरा १३ काहुँखोला नजिकै स्टेशनरी पसल चलाउँथे । ‘तप्राङ स्टेशनरी’ चलाउन थालेको एक दशकभन्दा बढि भइसकेको छ । श्रीमती शिक्षक थिइन । दुई छोरी र एक छोराका बाबु उनले आइतबार एकाबिहानै शरीरमा पेट्रोल छर्केर आगो लगाए । आगो लागेतापनि उनको शरीरमा त्यति क्षति छैन । उनी राम्रैसँग बोल्न सक्छन । तर, उनको शरीरमा लागेको आगो निभाउन गएकी संगीता सापकोटाको भने स्थिती गम्भीर छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार सापकोटाको शरीर ९० प्रतिशतभन्दा बढि जलेको छ ।

क्षेत्रीको जन्मघर तप्राङ भएतापनि उनी आफ्नो परिवारको साथमा सापकोटाको घरमा बहालमा बस्दै आएका थिए । लामो समयदेखि सोही घरमा बस्दै आएका क्षेत्री र सापकोटा परिवार, परिवारजस्तै भएर बस्दै आएका थिए, उनीहरुमा आत्मीयता थियो । तर, बिहान आफ्नै शरीरमा आगो लगाएपछि घरबेटी सापकोटा उनलाई जोगाउन भन्दै गएकी थिइन ।

उनको पनि शरीरमा पेट्रोलका छिर्काहरु परे, शिरदेखि पाउसम्म लगाएका उनका वस्त्रलाई पेट्रोलको गन्ध पाउनासाथ आगोको लप्काले भेटिहाल्यो । गुहार माग्दै गरेकी सापकोटाको शरीरको आगो नियन्त्रणमा लिएर स्थानीयले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेका छन, जहाँ उनको स्थिती गम्भीर छ, उपचार चलिरहेको छ ।

जागिरे श्रीमती, आफू पनि व्यवसाय सञ्चालन गर्दांगर्दै कृष्ण किन आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउन पुगे त ?
अस्पतालमा उपचाररत कृष्णलाई उद्दृत गर्दै एक प्रहरीले भने, “साथीकोबाट शनिबार एक लिटर पेट्रोल लिएर आउनुभएको रहेछ, पुस्तक पसल चलाउनुभएको, तर पछिल्लो समय व्यापार नहुँदा तनाव र व्यवहार डुब्दै गएपछि आत्मदाहको निर्णयमा पुग्नुभएको रहेछ ।”

प्रहरीले विभिन्न कोणबाट बाँकी अनुसन्धान भने गरिरहेको छ ।
अस्पताल प्रांगणमा भेटिएका उनका दाइले भने, भाइको कुनै व्यवहारबारे जानकारी नभएको बताएका छन । शरीरमा आगो लगाएपछि उनलाई जोगाउन गएका सोही ठाउँका अन्य व्यक्तिले पनि व्यवहारिक समस्याबारे आफू जानकार नरहेको बताएका छन ।

पोखरा १३ मा नै रामचन्द्र सापकोटाको पनि व्यवसाय छ । कृष्णसँग उनको पहिल्यैदेखिको चिनजान पनि छ । आइतबार बिहान पनि उनी सदाझैँ बिहान पौने ६ बजे नै पसल खोल्न गएका थिए ।
उक्त घटनाबारे उनको संक्षिप्त भनाई :

मैले यो पसल पौने ६ बजे खोलेको थिएँ, सामान मिलाउँदा र सफाई गर्दा सवा ६ बजेको थियो । ठुलो स्वरमा महिला चिच्याएको आवाज आयो । त्यो आवाज म भन्दा पारीको घरमा थियो । आगो रन्किएको र ज्वाला देखेँ । चेनल गेट लगाइएको थियो । जाली बन्द रहेछ । महिलाले गुहार भनेपछि म गएँ । उभिएको शरीरमा आगो लागिरहेको थियो । लात्ताले हानेर ढोका खोली भित्र गयौँ । त्यहाँ आगो निभाउने केही पाएनौँ । म भान्सामा छिरेँ, त्यहाँ भएका चारपाँच बोतलमा पानी रहेछ, लगेर छम्कियौँ । शरीर भुइँमा ढलिसकेको थियो । आगो निभाइसकेपछि म ट्याक्सी खोज्न निस्केँ । नजिकै थिएनन, माथि चोकमा गएर ट्याक्सी लिएर आएँ । भित्र दुइजना हुनुहुँदो रहेछ । दुवैजना बाहिर हिँडेर आउनुभयो । हामीले अस्पताल लग्यौँ । झ्याल ढोकाको खाप जलेका छन ।

पारिवारिक कुरा केही होला, बाहिर अन्य व्यवहार भएको हामीलाई थाहा छैन । तप्राङ स्टेशनरी चलाउनुहुन्थ्यो । लामो समयदेखि । उहाँको परिवार राम्रो छ । श्रीमतीको पनि जागिर छ ।
बुद्धिबहादुर सापकोटा पनि रामचन्द्रसँगै उनीहरुको उद्धार गर्न गएका थिए । उनी भन्छन ः
भर्खर सटर खोलेर बढार्छु भनेर लागेको थिएँ । आवाज आयो । म त्यतै लागेँ । शरीरमा आगो दन्किरहेको थियो । हामी (रामचन्द्र सहित) भित्र पुग्दानपुग्दै संगीताको शरीर ढल्यो । मैले कपडा ल्याएर छोपेँ । हामीले पानी हाल्यौँ र आगो नियन्त्रणमा लियौँ । दाई ट्याक्सी खोज्न जानुभयो । भित्र बाथरुममा अर्को दाई (कृष्ण) पनि हुनुहुँदो रहेछ । उहाँको हात खुट्टा र अनुहार जलेको देखेका थियौँ । पानी, पानी भन्दै हुनुहुन्थ्यो । शरीरमा वस्त्र थिएन । मैले पछ्यौरा बेर्न लगाएर अस्पताल पठाएको हुँ ।
आगो कसरी लाग्यो हामीलाई थाहा भएन ।
बिहान ६ बजेको उक्त घटनापछि अहिले उनीहरुका आफन्तहरु सबै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसर बाहिर छन । प्रहरीले पनि घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सुवास तिमिल्सिनाले महिलाको अवस्था गम्भीर भएको बताए । उनका अनुसार पुरुषले आफूले आत्महत्या गर्दा संगीता बचाउन आएको बयान दिएका थिए । “पुरुषले म डिपे्रसनमा थिए । उहाँ (संगीता)ले मलाई बचाउन आउँदा उल्टै जल्नुभएको हो भनेका छन”, कृष्णको भनाइ उधृत गर्दै उनले भने, “हामीले अहिलेसम्म आत्मदाह प्रयास नै बुझेका छौं तर अनुसन्धान भने हुनेछ ।”

उनले घटनाको बारेमा विभिन्न दृष्टिकोणबाट अनुसन्धान हुने बताए । “विभिन्न कोणबाट अनुसन्धान गर्छाँै । उनीहरुको पारिवारिक सम्बन्ध, घटनास्थललगायत विविध कुराहरु छन, अनुसन्धान भन्दा पहिलो प्राथमिकता भनेको दुवैको ज्यान जोगाउनु हो । घाइतेहरुको उपचारलाई प्राथमिकता दिनुपर्छ बाँकी अनुसन्धानका पाटाहरु हुन्छन ।” उनले भने ।
संगीताका श्रीमानले भने घटना हुँदा आफू मर्निङवाक गएको बताएका छन । आफू बाहिर निस्केको १० मिनेटमा नै घटना घटेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->