पोखरा/ गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिलाउन सकेमात्र प्रहरीलाई अनुसन्धानको श्रेय मिल्ने बताएका छन् । उनले घरेलु हिंसाको मेलमिलाप गर्ने प्रक्रियामा पीडितका सबै पीडाहरु सुन्नुपर्ने, पीडितको संरक्षण हुनुपर्ने र उनीहरुले न्याय पाउनुपर्नेमा पनि जोड दिए ।
महानिरीक्षक गुरुङ मंगलबार पोखरामा आयोजित घरेलु हिंसाको उजुरी,सुनुवाइ तथा मेलमिलाप सीपसम्बन्धी गोष्ठीमा बोल्दै थिए । गोष्ठी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा मातहतका जिल्ला तथा इलाका प्रहरी कार्यालयहरुका महिला बालबालिका र जेष्ठ नागरीक सेवा केन्द्रमा कार्यरत ४० जना प्रहरी कर्मचारीहरुको लागि आयोजना गरिएको थियो ।
समाजमा विद्यमान घरेलु हिंसा न्युनिकरणका लागि घरेलु हिंसा (कसूर र सजाय)ऐन २०६६ र नियमावली २०६७ को कार्यान्वयनमा एकरुपता र थप प्रभावकारीता ल्याउनु पनि गोष्ठीको उदेश्य थियो । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक खडकबहादुर खत्रीका अनुसार सो अवसरमा सहभागीहरुलाई घरेलु हिंसा, उजुरी लिँदा प्रहरीले ध्यान दिनुपर्ने कुराहरु,अनुसन्धान, पीडितको संरक्षण, मेलमिलाप र संचार सीप तथा अभियोजनका विषयमा जानकारी गराइएको थियो ।





