स्याङ्जा/ देशकै पहिलो होमस्टे आँधीखोला गाउँपालिका १ सिरुवारीमा एकैरात १३ ठाउँमा चोरी भएको छ । एक बौद्ध गुम्बा, वार्ड कार्यालय, एक सहकारी र आठवटा घर फोरिएको हो ।
राजास्वाँरादेखि सिरुवाबारीसम्मको दुई किलोमिटर क्षेत्रफलभित्र चोरी भएको प्रहरी निरीक्षक पदम राज थापाले बताए । चोरी गर्नेले मुख्य गरेर सुन र नगदमा ध्यान दिएको देखिएको छ ।बौद्ध गुम्बाको दानपेटिका चोरी हुँदा भित्र रहेका वर्षौं पुराना पुराना बुद्धका मूर्ति केही नगरेको थापाले जनाए ।
तीन लाख ३६ हजार रुपैयाँ र १० तोल सुन चोरी भएको उनले बताए । बमहादुर गुरुङको घरबाटमात्रै मंगलसूत्र, चन्द्रमा, नौगेडी, सुनको चुरा, बेरुवा औंठी गरी साढे दश तोला र नगद दुई लाख पाँच हजार चोरी भएको थापाले बताए । यस्तै वडा कार्यालयबाट ३० हजार, पूर्णबहादुर बगालेकोबाट सीसीटीभी, मोनिटर र सिपीयू पनि चोरी भएको छ । सीसी क्यामेराबाट पक्राउ हुनसक्ने डरले ती सामान पनि उठाइएको उनले आशंका गरे ।
चोरले गंगाधर ढकालको किरानाबाट सात हजार, मेखबहादुर दर्जीको पसलबाट २० हजार नगद, लक्ष्मी शर्माको फेन्सीबाट सात हजार नगद, कष्णप्रसाद पौडेलको पसलबाट सात हजार, मित्रलाल अधिकारी र दिगो बहुउद्धेश्यीय सहकारीबाट एक–एक हजार नगद, ख्यामबहादुर दर्जीको घरबाट दुई केजी सुकुटी चोरी गरेका छन् ।
मान्छे नभएका घर र पसलबाट चोरी भएकाले स्थानीय जानेकाले गरेको हुनसक्ने वडाध्यक्ष पवनकाजी अधिकारीले अनुमान लगाए । उनले वार्ड कार्यालयबाट देखिएको राजस्वको खाममा रहेको ८८ हजार नलगेको र अफिसका ल्यापटप, कम्युटर केही नगरेको पनि जानकारी दिए ।





