पोखरा/ पोखराको ड्यामसाइडमा आलिसान होटल ‘यल्लो प्यागोडा’ छ । फेवाकिनारको यो भव्य होटल पोखराकै सुविधायुक्त होटेलमध्येको एक हो । यही होटेलको सातौँ तलामाथि हल छ । त्यही हलमा मंगबार राति ‘नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भयो ।
नेपाली क्रिकेटमाथि उठेका कैंयन प्रश्नको छलफल त्यहाँ हुनुपर्ने हो, त्यसका लागि बैठकमा सबै सदस्यहरु पनि उपस्थित हुनुपथ्र्यो । यो बैठकले क्यानको समस्याको ‘हल’ त खोजेनतर विवाद भने झनै बढाएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उठेका यी समस्याको लागि अगाडि उभिएर प्रष्टीकरण नदिइ बैठकको निर्णय एक विज्ञप्ति जारी गरेर सार्वजनिक गर्ने बताएका छन । उनी नेतृत्वको क्यानको बैठकमा पोखरामा १६ जना सदस्य उपस्थित भए । तर,१० जनामात्रै बैठकमा उपस्थित भए । यी सबको कारण नेपाली क्रिकेटभित्र देखिएका र उठेका प्रश्नहरु नै हुन । क्यानका पदाधिकारीहरुले बारम्बार नोट अफ डिसेन्ट लेख्नेदेखि राजीनामा माग्ने गरेका छन् ।
त्यसकै फलस्वरुप मंगलबार पोखरामै भएका ६ जना सदस्यहरुले पुनः पदाधिकारीको राजीनामा माग्दै बैठक बहिष्कार गरेका छन । बैठक विहान १० बजे सुरु हुनुपर्ने थियो । तर, असन्तुष्ट ६ सदस्य ढिलो आएपछि एक बजे सुरु भएको थियो । नेपाल टि २० लिगमा भएका विविध गल्तीको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउँदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएर बैठक छाडेका थिए । त्यसपछि भोजनको लागि बैठक स्थगित भएको थियो ।
पत्रकार सम्मेलन गरेर असन्तुष्ट सात केन्द्रीय सदस्यहरुले एकमात्र माग भनेकै ‘कार्यसम्पादन समिति’ र ‘गभर्निङ सदस्य’ को राजीनामा रहेको बताएका थिए ।ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पत्रकार सम्मेलन गर्दै नेतृत्वको राजीनामा माग पनि गरे । उनीहरुले नै क्यानको बैठक बहिस्कार नै गरे ।
केन्द्रीय सदस्य ऋषिराम गौतमले क्यानको केन्द्रीय बैठक डाकेको पाँच दिनअघि जानकारी दिएपनि बैठकमा प्रस्तुत हुने प्रस्ताव भने सोमबार राती मात्रै मेलमा आएको बताए । उनका अनुसार बोर्ड बैठकमा पहिला नै प्रस्ताव पाउँदा आफूहरुले त्यसको राम्रो अध्ययन गर्ने र धेरै कुरा बाहिर आउने सम्भावना रहेकाले अन्तिम समयमा मात्रै उपलब्ध गराएको बताए । ‘हामीलाइ पाँच दिनअघि बैठकको बारेमा फोन आयो । एजेन्डा माग्दा हामी दिइहाल्छाँै भने तर सोमबारसम्म आएन । राति १० बजेपछि मेलमा आएको रहेछ । मंगलबार विहान त बैठकै थियो । आखिर किन हामीलाई एजेन्डा समेत समयमा दिइएन?’, उनले क्यान अध्यक्षले यसअघिसमेत बेइमानी गरेको आरोप लगाए ।
राजीनामाको मागसहित पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘हामीले पहिला मागेको राजीनामालाई नै निरन्तरता दियौं । त्यही आसयसहितको एउटा पत्र पनि बुझायौं । हामीले अध्यक्षको राजीनामा मागेका छौँ,’ उनले भने,‘राजीनामा मागिसकेपछि बैठकमा बस्न कुन नैतिकताले मिल्छ र ? अब हेरौं उनीहरुको निर्णय के हुन्छ । हामीलाई छलफल गर्छाैँ भन्नु भएको छ ।’
बैठक बहिस्कार गरेर पत्रकार सम्मेलन गरेका उनीहरुसँग दोहोरी नखेल्ने भन्दै अध्यक्ष चतुरबहादुर चन्दले बहुमत सदस्यको आडमा बैठक चलाइदिए ।
‘दोहोरी खेल्ने समय छैन’, उनले भने । चार महिनापछि बसेको बोर्ड बैठकमा सन्दीपको प्रतिबन्ध फुकुवादेखि नेपाल टि २० लिग विवाद, मुख्य प्रशिक्षक नियुक्ति, आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज आयोजना, एसिसी प्रिमियर कप नेपालमा आयोजना, कार्य सम्पादन समितिको निर्णय अनुमोदन, प्रदेश तथा केन्द्रीय निर्वाचन, यू–१९ विश्वकप एसिया छनोट, यू–१९ को कप्तान र उपकप्तान छनोट २०२३ को खेलाडी बर्गीकरणलगायत एजेन्डा रहेका थिए । ती सवै एजेण्डामा छलफल चल्यो ।
र, निर्णय पनि गराइयो ।क्यानको बोर्ड समिति १९ सदस्यीय रहेका छ । जसमा उपाध्यक्ष राजु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजिनामा दिएका छन् । हाल १७ सदस्य रहेका छन । सात जनाले बहिस्कार गरेपछि १० जनाको उपस्थितिमा बैठक भएको हो । बहुतको आडमा बैठक भएकाले यो विवादित बनेको हो ।
यता मंगलबार नै सेभेन थ्री स्पोर्टसले एकतर्फी रुपमा क्यानसँग भएको सम्झौता रद्ध गरेको छ । उक्त सम्झौता गर्ने बेलामा पनि केन्द्रीय सदस्यहरुलाई थाहा नै नदिएको उनीहरुको आरोप छ । यहाँसम्म कि सम्झौतापत्र पनि डेढ वर्षपछि मात्रै पाएको उनीहरुले बताएका छन । क्यानले २०७७ माघ ८ गते भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससंग लिग संचालनका लागि सम्झौता गरेको थियो ।
क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सबीच भएको सम्झौता पश्चात नेपाल टी–२० लिगमा भएका विभिन्न अवान्छित गतिविधिबाट नेपाल क्रिकेटको बदनामसँगै संघको दुर्गति भएको उनीहरुको आरोप छ । तर, उक्त सम्झौता नै गैरकानूनी तरिकाले भएको उनीहरुको आरोप छ । क्यान अध्यक्षले बोर्ड बैठकबिनै बैठकबाटै पारित भएको भनी झुठा विवरण पेश गर्दै सम्झौता गरेको उनीहरुको भनाइ रहेको छ ।





