काठमाडौं/ नेपाली महिला राष्ट्रिय भलिबल टोली सदस्य सलिना श्रेष्ठ छैटौं संस्करणको केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा शेरबहादुर स्मृति स्पेशल अवार्डबाट सम्मानित भएकी छिन् ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले सलिनालाई स्पेशल अवार्डबाट शनिबार सम्मानित गरेको हो । सम्मानित भएसँगै सलिनाले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
उनलाई राष्ट्रिय खेलकुद परिषद ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङ, केएनपी नेरोलेक पेन्ट्सका कन्ट्री डाइरेक्टर मनोज कुमार मिश्र, शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलगायतले सम्मानित गरे ।
होची कदकी २४ वर्षीय सलिना नेपाली राष्ट्रिय महिला भलिबल टोलीसँगै न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबको पहिलो रोजाईका लिवेरो हुन् । झन्डै १४ वर्षअघि देखि न्यू डायमण्ड एकेडेमीबाट अध्ययनसँगै भलिबल खेल्न थालेकी उनले २०१९ मा बंगलादेशमा भएको पहिलो एभीसी एसियन सिनियर महिला भलिबल प्रतियोगिताबाट महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।
सोही प्रतियोगिताबाट सलिनासहित निरुता ठगुन्ना, सुनिता खड्का, साफिया पुन, पुनम चन्द र जानकी भण्डारीले डेब्यु गरेकी थिइन् । त्यसयता सलिना नियमित रुपमा राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य रहँदै आएकी छिन् ।
सलिना नेपालले दुई पटक सेन्ट्रल जोनको उपाधि जित्दा र सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजतपदक जित्दा टोलीका महत्वपूर्ण सदस्य हुन् ।
२ कक्षादेखि न्यू डायमण्ड एकेडेमीमा अध्ययन गर्न थालेकी सलिनाको ६ कक्षामा अध्ययनरत रहँदादेखि भलिबल सिक्न थालेकी थिइन् । निरन्तरको मिहेनत र लगावको कारण उनी पछिल्लो ५ वर्षदेखि राष्ट्रिय टोलीको भरपर्दा सदस्य छिन् ।
‘म पनि पहिला ब्राइट फ्युचरमा पढ्थे । हाम्रो प्रशिक्षक तथा गुरु कुमार राई पनि ब्राइट फ्युचरमा नै हुनुहुन्थ्यो । मलाई मन पर्ने कुमार सर ब्राइट फ्युचरबाट निस्केपछि म पनि सरहरुले नै सुरु गर्न लागेको डायमण्डमा पढ्न गए ।’ सलिनाले भनिन्, ‘त्यसपछि नै मैले भलिबल सिक्ने मौका पाए । आज यो स्थितिमा आउनुमा कुमार सरको देन छ । मेरो आफ्नो मिहेनत पनि छ ।’





