सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्थापना दिवसमा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप हुँदै

स्थापना दिवसमा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप हुँदै


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०७९, शनिबार

पोखरा / गण्डकी प्रदेश सरकार स्थापना दिवस २०७९ को अवसरमा पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद् परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । उक्त प्रतियोगिता यही फागुन १ देखि ३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ ।

प्रदेश खेलकुद परिषद्को शुक्रबार सम्पन्न कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको परिषद्का सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबल भएका कारण प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको पौडेलले बताए । ‘यो प्रतियोगिताले खेलाडी उत्पादनसँगै प्रदेशका उत्कृष्ट खेलाडीहरुको छनौट गर्न सहयोग पुग्नेछ‚’ उनले भने ।

प्रतियोगिताको तयारीका लागि बैठकले परिषद्का सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिमा प्रदेश खेलकुदका सदस्य विष्णुमाया गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङ र महासचिव तहल सिंह थापा मगर रहेका छन् ।

प्रतियोगिताबारे जानकारी दिँदै संयोजक क्षेत्रीले गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता रहने बताए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने महिला तथा पुरुष टिमलाई क्रमशः नगद एक लाख ५० हजार, १ लाख र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही नगद २०-२० हजार तथा विद्यागत रुपमा महिला तथा पुरुष खेलाडी ५–५ जनाले जनही नगद १०–१० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->