पोखरा/ तेस्रो संस्करणको चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव मंगलबारदेखि सुरु हुने भएको छ । फेवातालको सिरानमा रहेको वडा २३ को स्थानीय उत्पादनसँगै पर्यटन र होमस्टेलाई प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।
महोत्सव बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भीम पराजुलीले विगत तिन वर्षदेखि पर्यटन प्रवद्र्धनमा जोड दिन महोत्सवको आयोजना गरिएको बताए । उनले महानगरपालिकाको पनि कर्णाली क्षेत्र रहेको उक्त वडामा महोत्सवकै कारण पछिल्लो समय कालोपत्रे सडक निमार्ण कार्य थालिएको जिकिर गरे । उनले भने,‘हामीले यहाँको विकासका लागि नै यो महोत्सव आयोजना गरेर नेतृत्व तहमा पुगेका नेताहरुलाई ल्याउने जमर्को गरेका छौँ ।’
उनका अनुसार महोत्सवमा यो वर्ष लप्सी, मह र दमौराको प्रदर्शनीसँगै बिक्री गर्ने गरिनेछ । महोत्सव मंगलबारदेखि पाँच दिनसम्म संचालन हुने छ । मेलामा विभिन्न प्रतियोगिताकोसमेत आयोजना गरिँदैछ । मेलामा बाजा प्रतियोगिता, भजन प्रतियोगिता र रत्यौली प्रतियोगिता मुख्य आकर्षण रहेको चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष पराजुलीले जानकारी दिए । उनका अनुसार तिनै प्रतियोगिताको पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ३३ हजार ३३३, २२ हजार २२२, ११ हजार १११ र ५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
उनका अनुसार महोत्सवको क्रममा महिला तथा पुरुष दौड प्रतियोगिता पनि आयोजना हुनेछ । प्रतियोगिताको विजेताले पाँच हजार रुपैयाँ दोस्रोले तीन हजार, तेस्रोले दुई र सान्त्वनाले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै बाल नृत्यतर्फको विजेताले दुई हजार पाँच सय, दोस्रोले दुई हजार, तेस्रोले एक हजार पाँच सय र सान्त्वनाले पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । सचिव घनश्याम पराजुलीले महोत्सव स्थलसम्म जानका लागि पोखराको हल्लनचोकदेखि गाडीको व्यवस्था गरिएको जानकारी दिए ।





