१. विषय प्रवेश
वि.सं. २००४ सालमा पुष्पलालले स्थापना गरेको नेकपाले अनेक आरोह अवरोह पार गर्दै हाल अनगिन्ती चिरामा विभक्त भइ बहुरुप प्रदर्शन गरिरहेको अवस्था छ । धेरै पुराना कुरा छाडेर नयाँ कुरा गर्ने हो भने पनि नेकपाको पछिल्लो एकीकरण र फुट पछिकै कुरा जोड्दा उपयुक्त होला ।
कुनैबेला माओवादी केन्द्र र एमाले मिलेर बनेकोऐतिहासिक शक्ति तत्कालीन नेकपालाईसर्वोच्च अदालतको फैसलाले पुरानै अवस्थामा फर्काईदिएपछि नेपालमा कम्युनिष्टहरूको पतनको सुरुवाती लक्षणसँगै नयाँ राजनीतिक तरङ्गसमेत देखापरेको अवस्था छ ।नेकपाबाट माओवादी र एमाले अलग अलग हुनु महत्वपूर्ण देशी विदेशी शक्तिको कारण हो भन्नेमा कुनै शंका छैन । त्यतिबेला परिस्थिति यति परिवर्तन भयो कि पार्टीका दुई व्यक्ति प्रचण्ड र ओलीको जुंगाको लडाईं र एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्ने परिस्थितिले गर्दा नै पार्टी फुटेको हो अरुलाई दोष दिनु ठीक छैन भन्नेहरू पनि छन् ।
त्यतिमात्र नभइ, एमाले पार्टीभित्रका माधव झलनाथको समूह र ओलीको समूहबीचपनि ऐतिहासिक चर्काचर्की भएर एमालेबाट अलग भई एकीकृत समाजवादी (एस) पार्टी अध्यादेशको बलमा भएपनि गठन भएरै छाड्यो । यो अवस्थालाई सूक्ष्म ढंगले नियाल्ने हो भने यी दुई पार्टीबीच कसैसँग पनि वैचारिक र सैद्धान्तिक मतभेद पाइँदैन, केवल व्यक्तिगत बदलाको भाव प्रष्ट झल्किन्छ ।यही अवधिमा स्थानीय,प्रदेश तथा संघीयसभाको चुनाव पनि भयो र सबैको आ–आफ्नो हैसियत पनि प्रदर्शन भइसकेको अवस्था छ ।
परिणामस्वरुप एमाले दोस्रो ठुलो दलका रुपमा खुम्चियो भने एस पार्टीले त राष्ट्रिय दलको पहिचानसमेत पाउन सकेन । अब त यी दुई पार्टी अवश्य मिल्लान् भन्ने धेरैलाई लागेको हुनसक्छ तर यो पार्टी एकीकरण भइहाल्ला भन्ने अवस्था पनि देखिँदैन । एमाले पार्टीका सर्वशक्तिमान नेता ओली अझै पनि टसमस भएका छैनन् र आफूले त्यतिबेला संसद विघटन गर्नु उपयुक्त नै थियो भन्नेमा उनी दृढ छन् । यी कारणले बाहिर चर्चा परिचर्चा जे भएपनि अझैपनि नेपालका कम्युनिष्ट पार्टीमा एकीकरणको सम्भावना न्यून रहेको देखिन्छ । यो समसामयिक विषयवस्तुपछि यस आलेखमा पछिल्लो चरणको नेपालको कम्युनिष्ट आन्दोलन र अहिलेको परिवर्तित अवस्थाबारे परिचर्चा गरिने छ ।
२. विगत : दुई कम्युनिष्ट पार्टीको एकीकरणले बनेको सरकारको इतिहास
जनताले तत्कालीनएमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको पार्टी नेकपाका नेताहरूका विकासप्रेमी नाराका आधारमा भोट दिएर दुई तिहाइ बहुमत पु¥याइ कम्युनिष्ट सरकारलाई एकपटकपरीक्षणका लागि सत्तामा पु¥याएकाथिए । तर, जनचाहना अनुसारका कुनैपनि काम गर्न नसकेको उक्त सरकारलेपार्टीको आन्तरिक विवादमा रुमल्लिएरै तीन वर्ष व्यतित गरेको विगत ज्युँदै छ । यो उदाहरणबाटमात्रै पनि नेपालका कम्युनिष्टहरूको भाषण एकातर्फ र व्यवहार अर्कोतर्फ प्रष्ट रुपमा छरपष्ट ढंगले देखिन काफी छ ।
सर्वहारा वर्गको नेतृत्व गर्ने, राष्ट्रभक्त र जनताका सच्चा सिद्धान्त बोकेको पार्टी कम्युनिष्ट पार्टी हो भनेर वर्षौंदेखि भन्दै आएको, क्रान्तिका नाममा रगतको खोलो बगाएर र भौतिक संरचना ध्वस्त पारेको घटना समेत बिर्सिएर विकास र समृद्धिको आशामा जनताले सत्तामा पनि पु¥याएकै हुन् । तर,नेकपाले दुई तिहाइकै बहुमत ल्याएर पनि आफ्नो इज्जत जोगाउन नसकेको दृष्टान्त छ ।दुई ठुला कम्युनिष्ट पार्टी मिलेर देशलाई जुरुक्कै उचालेर विकास र समृद्धिको पाटोमा लैजालान् भनेको त देशलाई झनै डुबाउने परिस्थिति सृजना भयो जुन घटना सुन्न, सम्झन र लेख्न पर्दा आफैंलाई समेत लाज लागिरहने अवस्था कायम रहेको छ ।
त्यस घटनाले गर्दा जतिसुकै दुई तिहाइ मत ल्याएपनि सरकार बनाउने र चलाउने भनेको जम्मा आधा कार्यकाल नै रहेछ भन्ने कुरा पनि देखिएको छ । किनकि नेपालको संविधानमा कुनैपनि प्रधानमन्त्रीले एकपटक विश्वासको मत लिएपछि कम्तीमा दुई वर्षसम्म उसकाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन भन्ने व्यवस्थाले अब बन्ने सबै प्रधानमन्त्री र सरकारको आयू दुई वर्ष मात्रै हुने हो कि भन्ने आशंका बढेको छ । यस्तो अवस्थामा दुई तिहाइ भएपनि, १० वटा पार्टी मिलेर सरकार बनाएपनि आखिर दुई वर्ष नै आयू हो भने अबदेखि किन एउटै पार्टीलाई बहुमत दिनुप¥यो र ? चाहना भएजति पार्टी सबै सरकारमा गएपनि त आखिर दुई वर्ष मात्रै हो भन्ने छाप जनतामा परिसकेको छ ।
ऐतिहासिक उपलब्धि हासिल गरेको नेकपाको दुई तिहाई बहुमतले पनि आखिर पूरा समयावधि सरकार चलाउन पाएन, सकेन वा चलाउन दिइएन त्यो आफ्नै ठाउँमा छ तर अवस्था त्यस्तै देखाप¥यो । दुई पार्टी एक बनाएका दुई ठूला महत्वाकांक्षी नेता र आफूलाई सर्बेसर्वा ठान्ने, अलिकति पनि गल्न नचाहने, जहिले पनि जुंगाको लडाईं लड्ने बानी भएका नेताहरूको बानी सुधार हुन नसक्दा र एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्दा त्यो अवस्था आएको हो भन्न सकिन्छ । पार्टी पद्धतिबाट र सामूहिक निर्णयबाट बनेको नेकपा भए पो सबै नेता कार्यकर्ता जिम्मेवार हुनेथिए तरत्यो पार्टी त केवल दुईजना व्यक्तिको एक्ला एक्लै निर्णयले बनेको हुनाले नै दुवै नेताको लडाईंका कारण नेकपा जोगिन सकेको थिएनर सँगसँगै संघ तथा प्रदेशका एकल सरकार समेत ढल्न पुगेका थिए ।
नेकपा यसरी सत्तामा पुगेपछि संसारभर वैधानिक तरिकाले कम्युनिष्ट सरकार नेपालमा बनेको उदाहरण हेर्ने लहर जाग्यो । नेपालको कम्युनिष्ट आन्दोलनका उतार चढाव, विभिन्न कालखण्डहरू हुँदै परिमार्जित कम्युनिष्ट विचारको प्रयोग र वैधानिक कम्युनिष्ट सरकार साँच्चै अध्ययन गर्न लायक विषयवस्तुहरू बनेका थिए । पूँजीवादी व्यवस्थाको होड चलिरहेको अहिलेको अवस्थामा नेपालमा कम्युनिष्ट स्थापित भएको विषयवस्तु सबैका लागि पाच्य हुने कुरै भएन ।
फलस्वरुप यो सरकार टिकाउन हुँदैन भन्ने पक्षमा विश्वका प्रायः शक्तिकेन्द्रहरू नै हाम फालेर नेपालको यो स्थितिको अनुसन्धान गर्ने, छिद्रहरू खोज्ने, कुनै कमी कमजोरी पत्ता लगाइ असफल बनाउने, भए नभएका कृत्रिम परिवेशहरू सृजना गरी आतंक फैलाउने, कुनै नेतागणलाई फकाउने, लोभ देखाउने र भए नभएका षड्यन्त्रहरू गर्न कम्मर कसेर लाग्न थाले । यिनै कारणहरूले गर्दा देशभित्र र बाहिरका दृश्य अदृश्य तत्वहरूको चंगुलमा ओली सरकार पर्न गएको हो कि भनी आशंका समेत गर्ने गरिन्छ । सरसर्ती हेर्दा बाहिरी परिवेशको, प्रतिपक्षी लगायत अन्य दलहरूको सरकारलाई अवरोध नदेखिए पनि भित्री पाटो भनेको र हामीले स्वीकार गर्नुपर्ने भनेको आफ्नै दलको आन्तरिक किचलोका कारण यस्तो भएको सहजै बुझ्न सकिन्छ । जहिले पनि विदेशी हस्तक्षेपका कारण देखाउँदै कोही पनि पन्छिनु हुँदैन ।
२०७४ सालको चुनावमा अन्य सबै खालका दलहरूलाई परास्त गरी वैधानिक बाटो वा चुनावबाटै कम्युनिष्टको सत्ता चलाउनुपर्ने कुरामा दुई ठुला कम्युनिष्ट पार्टीहरू एकताबद्ध भई चुनाव लडेर दुई तिहाइ बहुमत ल्याइ कम्युनिष्टको सरकार समेत सञ्चालन गर्न पुगेका हुन् । त्यसपछि ओलीको दम्भ र शासनशैलीका कारण यस्तो अवस्था आयो कि महत्वाकांक्षी र चतुर खेलाडी रहेको नेकपामा भाँडभैलो सुरु हुनथाल्यो । नेकपाका चर्चित भनिएका कम्युनिष्टहरूको अहंकारले गर्दा संविधानमै उल्लेख नभएको अधिकारको प्रयोग गरी ओलीले दुई दुई पटकसम्म संसद नै विघटन गरिदिए र त्यसपछि त औपचारिक रुपमै चरम उत्कर्षको विवाद उत्पन्न भएपछि दोस्रो पटकको सर्वोच्च अदालतको फैसलाले सरकार र पार्टीको एकीकरण समेत बदर गरिदियो र सबै संरचना भताभुंग भयो । यसरी नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा नेकपा एकीकरण भई दुई तिहाइको बहुमतबाट बनेको सरकार गठन हुनु एक नयाँ किसिमको प्रयोग थियो । जनताले यसरी भारी मत दिएर सत्तामा पु¥याउँदा पनि आखिर नेपालका कम्युनिष्टवादी दलहरूलाई घिउ पचेन र उफ्रिएर सफलताको शिखर चुम्न सकेनन् बरु कुवाको कुवामै रहन पुगे । यसरी नेपालको समग्र कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट सरकार र कम्युनिष्ट पार्टीको पतन भएको घटनालाई नेपालको इतिहासमा एक कलङ्कको रुपमा लेखिने नै छ ।
३. विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट
यसैपनि विश्वमा कम्युनिष्ट शासन र पद्धति लोप हुँदै गइरहेको अवस्था देखिएको छ । पुराना माक्र्सवाद, लेनिनवाद, माओवाद जस्ता सिद्धान्त तत्कालीन अवस्थाको लागि राम्रो सिद्धान्त भएतापनि अहिलेसम्म उही पुरानो सिद्धान्त बोकेर हिंड्नाले र ती सिद्धान्त समय सापेक्षरुपमा परिमार्जन गर्नु त कता कता त्यसमा भएका कमा र ह्रस्व दीर्घ समेत परिवर्तन गर्नुहुँदैन भन्ने चिन्तन भएका कम्युनिष्टहरूका कारण विश्वमै कम्युनिष्ट पतन हुँदै गइरहेको यथार्थ हो । यसैबीच नेपालमा मदन भण्डारी जस्ता दूरदर्शी नेताको जन्म भयो जसलेकम्युनिष्ट पार्टीमा नयाँ विचारजनताको बहुदलीय जनवाद प्रकाशमा ल्याए । पुराना विचार र सिद्धान्त मान्ने कम्युनिष्टहरूलाई पनि यो विचार समय सापेक्ष ठीकै लाग्दै गयो र अहिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालका प्रायः कम्युनिष्टहरूले यही विचार अनुसरण गरिरहेको पाइन्छ ।
कम्युनिष्ट पार्टी भन्ने बित्तिकै बन्दुकको शक्तिको आडमा परम्परावादी राज्यसत्ताको हस्तक्षेप गरी जनताको जनवादी सिद्धान्त अनुरुप शासन सत्ता सञ्चालन गर्ने पार्टी हो भन्ने बुझिन्छ । यसैका प्रयोगहरू नेपालमा पटक पटक भइसकेका छन् । झापा बिद्रोह देखि माओवादीको जनयुद्ध र मधेसका भूमिगत सशस्त्र समूहसम्म आइपुग्दा नेपालमा हरेक खालका प्रयोगहरू भए । ती सबै प्रयोगहरूले कुनै समयमा काम लाग्ने खालका परिणाम देखाए भने कुनै समयमा असाध्यै अफाप पनि भए । जे होस् जनताको बहुदलीय जनवादको विचारमा टेकेर हिंडिरहेको तत्कालिन एमालेले पुराना कम्युनिष्ट सिद्धान्तलाई समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्ने मान्यतालाई अघि सार्नु र पुँजीवादी कम्युनिष्टतर्फ अघि बढ्नु नै नेपाली माटोमा कम्युनिष्टप्रति जनताको आकर्षण हो । यही कारणले नै कम्युनिष्टहरू संसारबाट लोप भइरहँदा नेपालमा भने झन् उर्बर बन्दै गए । परिणाम तत्कालिन माओवादीको सशस्त्र संघर्षबाट सत्ता कब्जा गर्ने रणनीति पनि फेल भयो र बाध्य भएर माओवादीहरू पनि नेपालको शान्ति प्रक्रियाको मूलधारमा समाहित भएका थिए ।
४. ओली अस्त्रले लथालिंग भएको कम्युनिष्ट आन्दोलन र हालको अवस्था
नेकपा भित्र जलिरहेको भुसको आगो, नेकपा भित्रका महत्वाकांक्षी कम्युनिष्ट नेता,ओलीको राजसी शैली र पेलाहा प्रवृत्ति जस्ता अवस्थाले गर्दा तत्कालीन ओली सरकार धरापमा परेको थियो र आफू धरापमा परेको महसुस् गरी कदापि चाल्नै नहुने कदमको रुपमा ओली अस्त्र संसद विघटनका पक्षमा जान पुग्यो । जुन कदम निकै अलोकप्रिय थियो र त्यसले समग्र संविधान माथि नै धावा बोल्ने काम गरेको थियो जसलाई सर्वोच्च अदालतले अवैधानिक घोषणा गरी बदर गर्दा हाल देश नै अर्को अन्यौलपूर्ण राजनीतिक माहोलमा गएको अवस्था कायम छ ।कम्युनिष्ट नेताहरूको दादागिरी र स्वेच्छाचारिताले गर्दा कम्युनिष्ट पार्टीलाई त डुबायो नै, यसका कारण अप्रत्यक्ष रुपमा देशलाई नै अघि बढ्नबाट अवरोध खडा भइरहेको कुरा नेपालका कम्युनिष्टले किन बुझ्न सकेनन्? सदियौंदेखिको नेपालको संसदीय अभ्यासमा हालसम्म सबैको ध्यान प्रधानमन्त्री को बन्ने र सरकार कसले चलाउने भन्नेमा मात्रै केन्द्रित रहेको पाइन्छ जुन अवस्था अबका केही वर्षसम्म पुनरावृत्ति हुनेगरी छर्लङ्ग देखिंदैछ ।
अहिले सम्पन्न चुनावमा कुनैपनि दलको र कुनैपनि गठबन्धनको प्रष्ट बहुमत पुग्न सकेको छैन र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कसले तान्ने भन्ने लडाईं चलिरहेको अवस्थामा पुनः ओलीले विजय प्राप्त गरी प्रचण्डलाई आफूतिर तान्न सफल भएका र प्रमुख दल एमालेको समर्थनमा पुनः प्रचण्ड प्रधानमन्त्री बनेका छन् । विश्वासको मत लिने बेलामा प्रतिपक्षी कांग्रेसले पनि मत दिएपछि अब प्रचण्ड बढी नै शक्तिशाली बनेका र उस्तै परे ओलीसँगको गठबन्धन टुट्ने बरु प्रचण्ड नै ५ वर्ष प्रधानमन्त्री बन्ने हुन् कि भन्ने आशंका देखिन्छ र धरापमा बनेको सरकारको पुरा आयू हुनेमा पनि शंका छ ।
त्यस्तै, पुराना दलहरूलाई चक्मा दिंदै केही नयाँ दलहरू पनि आफूलाई पहिचान गराउने गरी राष्ट्रिय पार्टीको अस्तित्वमा देखापरेका र सरकारमा समेत सामेल छन् । यी दलहरू पुराना दलका लागि टाउको दुखाइका विषय बन्न सक्छन् । तर यी पार्टीको समर्थन नभइ कुनैपनि गठबन्धनको सरकार नबन्ने र सरकार बनिहाले पनि बल्लबल्ल संख्या पुग्ने र त्यहाँ कुनै एक दुईजना सांसद खरीदबिक्री भैहालेमा सरकार ढल्ने परिस्थिति छ । यस्तो परिस्थितिमा बनेका सरकारले विकास र समृद्धि देलान् भन्ने आशा पनि नेपाली जनतालाई छैन ।
अन्तमा,
जिम्मेवार पार्टी र देश हाँकिसकेका शीर्ष नेताहरूको हविगतका कारण जनतामा नैराश्यता बढेको र बढ्दो भ्रष्टाचारबाट सबै वाक्कदिक्क भइसकेका छन् । जुन गणतन्त्रवादी भन्नेहरूका लागि, जनताको संविधान बनाएको दाबी गर्नेहरूका लागि, नेपालमा समाजवाद आउनै लागेको दाबी गर्नेहरूका लागि, सुखी र समृद्ध नेपाल बनाउने नारा ल्याउनेहरूका लागि, विकासले फड्को मारी नेपाललाई स्वीट्जरल्याण्ड् बनाउने चुनावी मसला बाँड्नेहरूका लागि लाजको मर्नु हुनुपर्ने हो । यसले जनताको चाहनामा कुठाराघात मात्रै गर्दैन कि भाइभाइको लडाईंले जग हँसाइ समेत गराएको छ ।
यसका साथै साँच्चै कम्युनिष्ट पार्टीप्रति आस्था राख्ने तमाम कार्यकर्ता र शुभेच्छुकप्रति त यो लाजको विषय समेत भएको छ । जे होस्, यो अब इतिहास भइसकेको छ । अनेक अड्कल र विवादकाबिच अन्तमा देशले पुनः कम्युनिष्टकै नयाँ नेतृत्व पनि पाएको छ । अबका पाँच वर्ष देशलाई अन्यौलपूर्ण परिस्थितिबाट हटाई विकास निर्माण र संमृद्धि दिलाउने कुरामामात्रै सबैको प्रयास केन्द्रित होस्, सद्बुद्धि पलाओस् र देशका सबै पार्टीहरू नयाँ उमंगका साथ आउन्सबैलाई शुभकामना छ ।
(लेखक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, नवलपुरका प्राध्यापक हुन्)





