बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कावासोतीमा संघीयताबारे अन्तक्र्रिया: दलका प्रतिनिधिको दोधारे प्रतिक्रिया

कावासोतीमा संघीयताबारे अन्तक्र्रिया: दलका प्रतिनिधिको दोधारे प्रतिक्रिया


  • विजय नेपाली
  • माघ २८ २०७९, शनिबार

नवलपुर /राष्ट्रिय जनमोर्चा नेपाल नवलपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले संघीयताको सन्दर्भमा फरक तथा दोधारे टिप्पणी गरेका छन् ।

‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरा’ैं भन्ने विषयमा कावासोतीमा आयोजित अन्तरक्र्रियामा विभिन्न राजनीतिक दलका जिल्ला तहका नेताहरुले पार्टी र आफ्ना धारणा राख्ने क्रममा भिन्न–भिन्न धारणा राखे ।

कार्यक्रममा विकल्प पत्रिकाका सम्पादक जनकलाल तिवारीले आधार पत्र प्रस्तुत गर्दै गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गर्दै संघीयता खारेज गर्नुपर्ने कारण र औचित्यको विषय उप्काए ।

उनको अवधारणा पत्रमाथि एमालेका भोजराज दाहाल, नेपाली कांग्रेसका झपेन्द्रश्वर भुसाल, जनता समाजवादी पार्टीका कृष्णप्रसाद गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका गुणाखर काफ्ले, एकीकृत समाजवादीका शालिकराम भट्टराईलगायतले टिप्पणी गरे ।

एमाले जिल्ला कमिटीका सदस्य भोजराज दाहालले अन्तक्र्रियाको शीर्षकमा रहेको गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको संरक्षण गर्ने कुरामा एकाध दलबाहेक अरुमा खासै मतभेद नभएपनि संघीयताका विषयमा भने वहस जरुरी रहेको बताए ।

दाहालले आफ्नो पार्टीले अहिलेको अवस्थामा संघीयतालाई संस्थागत गर्दै बलियो बनाउने नीति लिएकाले संस्थागत रुपमा आफू खारेज गर्ने लाइनमा नरहेको टिप्पणी गरे ।

तर, उनले संघीयताको सवालमा बहस, छलफल वा जनमतको सर्वेक्षण गर्ने हो भने आम जनता संघीयताको विपक्षमा रहेको स्वीकार गरे ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि झपेन्द्रश्वर भुसालले गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियता र संघीयता भन्ने चार शब्द २०७२ को संविधानको सार र मूलभूत शब्द भएको तर तीमध्येको संघीयता भन्ने सन्दर्भलाई दही मथेर निस्किएको नौनीका चार डल्लामध्ये झिँगा परेको एक डल्लाको रुपमा चित्रित गरे ।

जनता समाजवादी पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले चाहिँ फरक विचार राखे ।

गौतमले सानो पार्टी र दलका विचार राष्ट्रियताका सवालमा महत्वपूर्ण हुने भएकाले ठूला दलले समेत राष्ट्र र जनताका सवालमा ध्यान दिनुपर्ने प्रतिक्रिया राखे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव गुणाखर काफ्लेले राष्ट्रियताको रक्षाबाहेक शीर्षकमा राखिएका सबै विषयमा फरक मत राखे ।

उनले आफ्नो पार्टी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नै खारेज गर्नुपर्नेमा दृढ रहेकोले संरचना परिवर्तनका लागि बहस जरुरी रहेको भनाइ राखे ।

नेकपा एकिकृत समाजवादीका अध्यक्ष शालिकराम भटराईले जसरी पञ्चायतकालीन समयकै क्रममा बहुदल ल्याउने तयारीको परिवर्तनको भ्रुण तयार भयो, त्यसरी नै राजनीतिक घटनाक्रमको भ्रुण विकास भइरहने प्राकृतिक नियम भएकाले यो विषयलाई चौतर्फी बहसका रुपमा चलाउनुपर्ने बताए ।

प्रमुख अतिथिका रुपमा उपस्थित राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले व्यवहारिक र कार्यान्वयनका हिसावले प्रदेश सरकार निकम्मा रहेको टिप्पणी गरे ।

उनले संघ र स्थानीय सरकारबाहेक थप अन्य सरकार नेपालमा नचाहिएको जिकिर गरे । आयोजक राष्ट्रिय जनमोर्चाका नवलपुर जिल्ला अध्यक्ष दीपक पाण्डेले केही राजनीतिक दलले पुनः राजतन्त्र फर्काउने भन्ने आशयका टिप्पणी गरे पनि गणतन्त्र संस्थागत भइसकेको र र बलियो बन्दै गएकोले व्यक्तिप्रधान व्यवस्थाको पक्षमा जनमत नरहेको दाबी गरे ।

कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुर शाखाका अध्यक्ष धर्म केसी, अन्टुकका महासचिव शालिकराम सापकोटा तथा सहभागीहरुले समेत आफ्ना प्रतिक्रिया राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->