पोखरा / पोखराको लेकसाइडस्थित लेकसाइड सेन्टरमा शनिबार अपराह्न ३:४५ देखि लागेको आगो नियन्त्रणमा लिइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा लिएको हो ।
लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज डिपार्टमेन्टबाट सुरु भएको आगोले सेलवेज डिपार्टमेन्ट स्टोरसहित नासा ट्रेकिङ इकुप्मेन्ट सप, दोर्जेज बार एन्ड ग्रिल लगायत पसल र केही बैंकका एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ ।
पोखरा महानगरपालिका र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका दमकल र ट्याङकरको सहायताबाट आगो नियन्त्रणमा लिइएको हो । क्षतिको यकिन विवरण भने आइसकेको छैन । यद्यपि करोडौं रकम बराबरको क्षति भएको आकलन गरिएको छ ।





