भैरवस्थान बागलुङ जिल्लाको सदरमुकाम बागलुङदेखि १५ किलोमिटरको दुरीमा पर्दछ । यस मन्दिरमा हिजोआज दैनिक जसो दर्शनार्थी र पर्यटकहरुको भिड हुने गरेको छ । धार्मिक, ऐतिहासिक र साँस्कृतिक दृष्टिले महत्व बोकेको यस मन्दिरमा देशका विभिन्न स्थानबाट भक्तजनहरु आउने गरेका छन् । पैदल दुई घण्टाको यात्रामा पुगिने उक्त स्थानमा गाडीमा जम्मा ४५÷५० मिनेटमा पुगिन्छ । भैरवको दर्शन पश्चात् यहाँका विभिन्न महत्वका स्थानहरु घुम्न र प्राकृतिक सुन्दरतामा रमाउन उल्लेख्य रुपमा आगन्तुकहरु आउने गरेको पाइन्छ ।
कोटभैरवको मन्दिरसंगै वराह ताल भनेर चिनिने भकुण्डे दह, र मुलाबारीको खर्क नजिकै निर्माण भएको भ्युटावर समेतको अवलोकन भ्रमणको लागि पर्यटकहरु पुग्ने गरेका हुन् । यहाँबाट बलेवा विमानस्थल, कुस्मा बलेवा जोड्ने यान्त्रिक पुल र बन्जी पुलको अवलोकन गर्न सकिन्छ । कुस्मा, कटुवाचौपारी (ज्ञादी) जोड्ने पुल, त्रिकोणात्मक शैलीमा निर्माण भएका विश्वकै अग्ला र लामा पुलहरु कुस्मा मुडिकुवा, मुडिकुवा कैया, कैया बडागाँउ झोलुङ्गे पुलहरुको चामत्कारिकता पनि यहाँबाट हेर्न पाइन्छ ।
भौगोलिक रुपमा जिल्लाको सुरुवाती छेउमा अवस्थित बागलुङ बजार, बाङ्गेचौर अदुवाबारी (पर्वत) जोड्ने गण्डकी गोल्डेन बृज, कुँडुलेको शालिग्राम संग्राहलयस्थित मन्दिर, पन्चकोट, कुँडुलेको फाँट, रत्नेचौर (म्याग्दी)को पहेलपुर तोरीबारी, बलेवाका कैया, नेपाने, नारायणस्थान, दम्कका फाँटहरुसहित अमलाचौर र पैयुपाटका विभिन्न सम्मा फाँट र बस्तीहरु आकाश खुलेसम्म अवलोकन गर्न पाइन्छ । पश्चिममा रामतला, रायडाँडा, दक्षिणमा दमेकको शिरमा रहेको माइकाथानको छेड र हाडिकोट लगायतका स्थानहरु देखिने यस ठाउँबाट पुर्वमा पर्वतका कार्किनेटा, दुर्लुङ र बनौका पर्वतीय श्रृंखला र तरेली परेका हरिया पहाडहरुले थप सौन्दर्यता दिलाउने गर्दछन् । स्वयंमा स्वर्गीय भुमिको अनुभुति गर्न सकिने र भकुण्डेको छेड नजिकैबाट देखिने ठुला ठुला पत्थरैपत्थर चिनेर कुशल शिल्पीकारले निर्माण गरे जस्ता पहाडका टाकुराहरु र आफ्नै आँखा अगाडि उभिए जस्ता हिमशैलहरुले मनलाई रोमाञ्चक बनाउन अवस्य भुल्ने छैनन् । यहाँको पर्यावरणीय सुन्दरतामाथी थप शोभा बढाउन चारैतर्फ उभिएका हरिया पाखापखेरा र खर्कहरुले महत्वपूर्ण काम गरेका छन् भने कालीगण्डकीको सुसावटमा थप ध्वनी गुन्जायमान बनाउने चराचुरुङ्गीहरुको सुमधुर आवाजले प्रकृति र प्राणीको सङ्गमस्थल कै छटा यहाँ पाउन सकिन्छ ।
यहाँ बसोबास गर्ने मानिसहरु सामाजिक एकता र सद्भावसहित अतिथिलाई देवताको रुप मान्ने सनातन धर्ममा आस्थावान छन् । बागलुङबाट मालढुंगगा कटेपछि घुमाउरा घुम्टिहरु पार गर्दै भकुण्डे, पैयुपाटा र अमलाचौरका विभिन्न गाँउ परिक्रमा गर्दै भैरव देवताको सान्निध्यमा पुगिन्छ । आफू सुन्दर पर्वत श्रेणीमा उभिएर अन्य पर्वतमालाहरुको अवलोकन गर्न पाउँदा प्रसन्न हुनेमा सबै ढुक्क हुन्छन् ।
प्रकृतिको अनुपम भण्डार नेपाल स्वयंमा पर्वतिय र हिमश्रृंखलाहरुको देश हो । यहाँका हिमश्रृंखला, तरेली परेका पर्वतमाला, तिनै पर्वतको गहिराइमा बनेका उपत्यका र तराईका सम्मा फाँटहरुले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मोहित पारेको महशुस गर्न सकिन्छ । वसन्त ऋतुको समयमा पृथ्वी माताले प्राणी जगतलाई प्रशन्नताको समुन्द्रमा डुबाउन र खुशीका लहरहरु यस धर्तीमा बिजारोपण गर्न प्रकृतिलाई अतुलनीय रुपमा श्रृंगारेर प्रकट गराएको अनुभव गर्न सकिन्छ । भने, यसै समयमा नयाँ पालुवाहरुले सुशज्जित हुने बा.न.पा १०, १२ र १३ नम्बर वडाका यी स्थानहरु शरद ऋतुको समयमा लालिगुराँसले राताम्मे हुन्छन् ।
हिउँदको समयमा वनभोज कार्यक्रमका लागि पनि उत्तम ठानिने यी स्थलहरु नेपालीहरुको महान चाड विजया दशमी लगायत विभिन्न चाडपर्व र मेला महोत्सवमा उचित गन्तव्यका रुपमा परिचित छन् । भैरव देवताको कोखमा निर्माण गरिएका स–साना घरहरुमा आश्रयस्थल बनाएर बसेका मानिसहरूको मन पनि पवित्र र निश्चल छ । यहाँ कोहि कसैले कसैप्रति भेदभाव र असमझदारीता देखाउदैनन् । आफ्ना इष्ट देवले जसरी सबै भक्तजनलाई समान दृष्टि र भाव प्रदान गर्नुहुन्छ त्यसरी नै मानिसहरूले पनि समभाव देखाउने गरेको पाइन्छ । यिनै विशेषताले युक्त मानव समाज र सुन्दर पर्वतमालाहरुको बिचमा रहेका भैरव देवताको मन्दिर अर्थात् बलेवा कोट भैरवले बलेवा र आसपासका क्षेत्रहरुमा बसोबास गर्ने मानिसहरुमा धार्मिक आस्थाको भाव जगाउने गरेका छन् । यस क्षेत्रका मानिसहरुले आफ्ना प्रमुख इष्टदेवका रुपमा पुज्ने भैरव देवताको छत्रछायाँमा आफुहरु बाँचेको विश्वास गर्दछन् ।
विगतको समयमा कालभैरवको पूजाका लागि मात्र नवरात्रमा मानिसहरु त्यहाँ पुग्ने गर्दथे। तर अहिले वर्तमानमा आइपुग्दा सबै महिनामा दर्शनार्थीहरुको घुइँचो लाग्ने यस मन्दिरमा शनिबार र मंगलबार विशेष पुजा र भाकल पुर्ण गर्न मानिसहरु पुग्ने गरेका छन् । भैरव मन्दिरको आसपासमा भएका विभिन्न रमणीय ठाउँको भ्रमणका लागि पनि हिजोआज दर्शनार्थी एवं पर्यटकहरू पुग्ने गरेका छन् । पुण्य प्राप्ति र अवलोकन हेतुका लागि बागलुङ बजार, पर्वत, कास्की, म्याग्दी, पाल्पा, गुल्मी र बुटवल लगायतका विभिन्न ठाउँबाट आउने भक्तजनहरू सिधै गाडी लिएर मन्दिर परिसरमा पुग्न पाउने भएकाले यो ठाउँ उत्कृष्ट आकर्षकका रुपमा चिनिन थालेको छ । बलेवा (कोट) भैरव अर्थात् कालभैरवको मन्दिर भनेर प्रसिद्ध यस मन्दिरमा श्रद्धालु भक्तजनहरुले मागेको वर पाइने र चिताएको पुग्ने जनविश्वास छ ।
अत्यन्त डरलाग्दा तीन आँखाको दृष्टि गर्ने घाँटीमा मुण्डमाला लगाएका डमरु, त्रिशूल र फलामको दण्ड हातमा लिएका कालो भयानक शरीरमा कालै वस्त्र धारण गरेका उग्रस्वरुपका देवता जुन कुकुरमाथिको सवार छन् त्यस्ता देवतालाई कालभैरव भनिन्छ । कालभैरवलाई भय र तामस उपासनाका उग्र देवता पनि भनिन्छ । भने, शिवका प्रलयकारी गण एवं मृत्युका देवताको रूपमा पनि पुजिन्छ । यस मन्दिरमा भक्तजनहरु घरायसी समस्या, रोगव्याधी, आयुआरोग्यता, बाढी पहिरोको संकट, अतिवृष्टी, अनावृष्टी, पारिवारिक विछोड, दाम्पत्य जीवनका कठिनाइ, जस्ता समस्याको निवारणको मनोकामना लिएर पुग्छन् भने ऋण मोचन, सन्तान सुख, यज्ञ यज्ञा र विवाहादी धार्मिक अनुष्ठानको अविघ्नता, वैदेशिक यात्रा, विद्या प्राप्ती, प्रेम र मिलन, अन्नबाली र भु–संरक्षण, पशुचौपायको परिपालन एवं गोष्ठ शुद्धी लगायतका समस्या निवारणार्थ भाकल गरि आफुले इच्छ्याएको वरदान मिलोस् भनी रोट, नरिबल र अन्य भैरवप्रिय वस्तुहरु अर्पण गर्न पुग्ने गर्दछन् ।
बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका केही वडाका मानिसहरूले कालभैरवलाई इष्टदेवका रुपमा पुज्ने भएकाले न्वागी, ऋषितर्पणी, हलसारो गर्ने शुभ दिन र समय कालभैरवलाई साक्षी राखेर तोक्ने चलन अहिले पनि छ । विजयादशमी र दिपावलीको टीका उठाउने र टीका प्रसाद ग्रहण गर्ने समय पनि उनै इष्टदेव कालभैरवको सान्निद्यमा गर्ने प्रचलन रहेको छ ।
सुख, समृद्धि, श्रीवृद्धि गराउने र अभयदाताका रुपमा पुजिने भैरवलाई रुद्र, क्रोध, महासंहार, असिताङ्ग, काल, ताम्रचूड र चन्द्रचूड लगायतका नामले पुकारिन्छ । भैरव रिसाएमा अनिष्ट हुन्छ भन्ने मान्यता अनुरुप भैरवलाई खुशी बनाउन र सन्तुष्ट पार्न दूध, दही, मेवा, तोरीको तेल, पक्वान्न, हलुवा, खिर, रोट, नरिवल र पशुबलि आदिको भोग लगाउने र भैरवको वाहनलाई प्रसाद खान दिएमा मानवीय जीवनका दुख, कष्ट नाश हुने, जसापवादबाट पीडित बनेकाहरुलाई शान्ति मिल्ने, शत्रु भय नहुने, दुष्ट ग्रहको पीडा दुर हुने र समाजमा प्रतिष्ठा मिल्ने जस्ता मनोकामना पुर्ण हुने लोकोक्ती चल्दै आएको छ । यहि विश्वासका कारण विभिन्न क्षेत्रका मानिसहरुले कालभैरवलाई इष्टदेव मानी वर्षको एकपटक धूप, ध्वजा र रोटको भोग लगाउने प्रचलन छ । यस मन्दिर परिसरमा बागलुङ नगरपालिकाको मुख्य आयोजनामा हरेलो महोत्सव हुने संकल्प लिइएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन हरेक वर्ष हरेलो पर्वको अवसर पारी हरेलो मेला सञ्चालन गर्ने भनिएको छ र प्रथम पटक उत्साहपुर्ण तवरले महोत्सव सम्पन्न समेत गरिएको छ ।
त्यस्तै बागलुङको पर्यटनका क्षेत्रमा प्रमुख गन्तव्यमा सूचीकृत गाउँ भकुण्डेको भकुण्डे दह अर्थात् वराह ताल परिसरलाई पनि कालभैरव निकटको उत्कृष्ट गन्तव्य मानिन्छ । यस ठाउँबाट खुलेको मौसममा दर्जनौको संख्यामा हिमालहरु देख्न सकिन्छ । हरेक वर्ष बराह मेला लाग्ने यस स्थानमा मेलाको समयमा हजारौंको संख्यामा भक्तजन र दर्शकहरु पुग्ने गर्दछन् । स्वच्छ पानीले भरिएको ताल, तालभित्रै अनौठो स्वरुपमा उभिएका रुखहरु छेउमा मन्दिर रहेको रमणीय स्थल यहाँ वरपरको गाउँ निक्कै सुन्दर छ । आन्तरिक र बाह्य पर्यटकहरुको समेत रोजाइमा पर्ने भकुण्डेका धार्मिक र साँस्कृतिक रहनसहनले सबैलाई लोभ्याउछन् नै त्यसै माथी ग्रामीण सौन्दर्य, शान्त वातावरणका साथ प्रकृतिको काखमा पैदा भएको त्यो सुन्दरताले आनन्दानुभुती प्रदान नगर्ने कुरै भएन । यहाँबाट बिहानको सूर्योदय कालिन समय र सूर्यास्तको समयमा हिमाली सौन्दर्य थप मनमोहक देखिन्छन् । गाउँको शिरमा अवस्थित मुलाबारीमा बनेको ‘भ्यूटावर’बाट हिमाल हेर्दा झन हिमालको नजिकै पुगेको आभास मिल्दछ । माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण, मनास्लु, नीलगिरि लगायतका दर्जनौं हिमाल हेर्दा हिमाली सौन्दर्य आँखैअघि ठोकिएको र हृदयमा स्पर्श गरेको अनुभव गर्न सकिन्छ ।
यसरी बागलुङ बजारदेखि १ घण्टाको सवारी दुरीमा रहेका भैरवस्थान, बराह ताल र भ्युटावरको उचित संरक्षण र सामाजिक, साँस्कृतिक, धार्मिक र एतिहासिक महत्व प्रष्ट पार्न सकेमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ । बाहिरबाट आउने पर्यटकलाई भकुण्डेको होमस्टे (घरवास)मा स्थानीय खानाका परिकारहरु चखाउन सकेमा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य अवस्य बन्नेछ । आगन्तुक दर्शनार्थीलाई खानेपानी, शौचालय र विश्राम गृहको व्यवस्थापन गर्न मन्दिर व्यवस्थापन समिती लाग्नै पर्ने देखिन्छ । भने, कोटको संरक्षण एवं जिर्णोद्दार, मन्दिरदेखी कोटसम्मको पदमार्ग निर्माण, भक्तजनको सुरक्षणार्थ मन्दिरको चौतर्फी परिसरमा तारबार र पर्खाल निर्माण साथै मन्दिर नजिकै रहेको पोखरीलाई जल कुण्डमा परिणत गराउन स्थानीय सरकार लाग्नुपर्ने देखिन्छ । मन्दिर व्यवस्थापन समिती, भकुण्डेको घरवास सञ्चालक समिति र स्थानीय सरकारबीच उचित तादात्म्यता मिल्न सकेमा र तिनै तह प्रचारप्रसारमा जुटेमा यी स्थानहरु बाह्रै मास दर्शनार्थी र पर्यटकले भरिभराउ हुने थिए । जसका कारण भकुण्डे, अमलाचौर र पैयुपाटका विभिन्न स्थानहरू पर्यटकीय आकर्षणका केन्द्र बन्ने पक्का थियो ।





