नवलपुर/ कावासोती नगरपालिका वडा नं १ को बालुवाडाँडामा निर्मित भ्यु टावर दृश्याकलोकनका लागि प्रमुख गन्तब्यका रुपमा विकसित हुने देखिएको छ ।
महेन्द्र राजमार्गस्थित कावासोती नगरपालिकाको फलफूलचोकदेखि ११ किलोमिटर उत्तरमा रहेको भ्यू टावर निर्माण सम्पन्न भएर उद्घाटन नभएपनि बजार क्षेत्रका स्थानीय तथा चितवन–बुटवलदेखि आन्तरिक पाहुनाहरु पुग्ने गरेका स्थानीय रिमबहादुर मगर बताउँछन् ।
भ्यू टावरमा चढेरै अवलोकन गर्ने अनुमति नभएपनि मौषम सफा भएका बेला बालुवाडाँडाबाटै भारतनजिकै रहेको बाल्मिकी आश्रम र चितवनको मेघौली पारी रापतीसम्मको अवलोकन गर्न सकिने हुँदा चितवन र वुटवलसम्मका मानिसहरु आउने गरेका मगरको भनाई छ ।
पटक पटक गरेर तीन वटा निर्माण कम्पनीले काम गरेर करिब एक वर्ष अगाडीनै भ्यु टावरको निमार्ण सकिएको हो । करीब ६८ लाखको खर्चमा टावर निर्माण भएको नगरपालिकाले जनाएको छ ।

टावरमै चढेर अवलोकन गर्दा उत्तरतर्फका धौलागिरीदेख गोर्खासम्मका साना ठूला हिमचुचुरा र दक्षिणतर्फ भारतको उत्तरप्रदेश बिहारसम्म देख्न सकिने भएकाले नेपालमात्रै नभएर भारतीय पर्यटकको गन्तब्य थलोका रुपमा विकसित हुनेमा आफू बिश्वस्त रहेको वडा नम्वर १ का अध्यक्ष तवारक अहमद मियाँ बताउँछन् ।
अहिले भ्यू टावर पुग्ने सडक समेत स्तरोन्नतिका क्रममा रहेकोले अव छिट्टै भ्यू टावर उद्घाटनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।





