नवलपुर / कावासोतीमा सातौ नवलपुर महोत्सव आजदेखि शुरु भएको छ । नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नं. ८ टुवोर्ग खेल मैदानमा महोत्सवको उद्घाटन भएसँगै ११ दिने नवलपुर महोत्सव सुरु भएको हो ।
महोत्सवको उदघाटन उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरे । नवलपुरको धौवादी फलाम कारखाना बर्षौदेखि प्रक्रियामा मात्रै रहेको तर यसले मूर्त रुप ग्रहण गर्न नसकेकाले निजी क्षेत्रलाई दिएर उद्योग विकासको बातावरण सिर्जना गर्न उनले आग्रह गरे । उपलब्धि हासिल गर्नेगरी निजी क्षेत्र सहकार्यका लागि तयार रहेको उनको भनाई थियो ।
महोत्सव सफलताको कामना गर्ने क्रममा ढकालले कोरोनापछि आर्थिक स्थितिमा देखिएको नकारात्मक प्रभाव विस्तारै सकारात्मकतर्फ अगाडी बढेको जिकिर गरे । उनले अहिलेसम्म परेको असरभन्दा जटिल स्थिति नआउने दावी गरे । उद्योग ब्यवसायमा अहिले शुभ संकेतहरु देखिन थालेको उनको भनाई थियो ।
कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले देशको अर्थतन्त्र खस्किदै गएको अवस्थाका बारेमा चिन्ता ब्यक्त गरे । उनले उद्योग ब्यवसाय सञ्चालनका लागि बैकबाट लिने कर्जा १८–२० प्रतिशत हुँदा त्यस्तो अवस्थामा उत्पादित बस्तु किन्न नसक्ने अवस्था आएको धारणा ब्यक्त गरे । उनले भने, ‘यो समस्याको रुपमा छ नेपालको अर्थतन्त्रले यसलाई कतातिर डौदाउँदै छ, कता श्रीलंका त हुदैन, कता अफगानिस्तान त हुँदैन त्यसमा ब्यवसायीलाई सचेत रहन आग्रह गर्दछु ।’
उद्घाटन समारोहमै विभिन्न बक्ताहरुले धारणा राखेका थिए । महोत्सव उद्घाटनमा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । महोत्सवस्थल टुवोर्ग खेलमैदानमा औपचारिक उद्घाटन हुनुपुर्व कावासोती फलफूलचोकस्थित खुल्ला मैदानमा भेला भई निस्किएको शोभायात्राले वजार परिक्रमा गरी महोत्सव परिसरमा प्रवेश गरेको थियो ।
शोभायात्रामा विभिन्न बाजागाजा सहित यहाँ बसोवास गर्ने जातजाति–समुदायको मौलिक–साँस्कृतिक पहिरन, झाँकी, कला–संस्कृति प्रदर्शनी सहित फरक–फरक पहिरन र पोशाकमा सहभागी आमा समूह, विभिन्न विद्यालयका विद्यार्थी, सामाजिक सामुदायिक संघसंस्था, उद्योग वाणिज्य संघ, वस्तुगत संघ, टोल विकास संस्था, क्लव, स्थानीय पालिका तथा वडाका जनप्रतिनिधि लगायतको सहभागितामा ब्यानर सहितको शोभायात्राले वजार परिक्रमा गरेको थियो ।
खुल्ला चौरवाट निस्किएको शोभायात्राले फलफूलचोक, विपीचोक, नगरपालिका–कुमारवर्ती रोड, सभापतिचोक हुदै पुनः फलफूलचोक पुगेर महोत्सवस्थल टुवोर्ग खेलमैदान प्रवेश गरी औपचारिक उद्घाटन समारोहमा परिणत भएको थियो ।
नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठप्रसाद अर्यालको अध्यक्षता तथा महासचिव सागर पोख्रेलको सञ्चालनमा कार्यक्रम भएको थियो । औपचारिक उद्घाटन समारोह सकिएपछि साँस्कृतिक गतिविधि भयो । महोत्सव ११ दिनसम्म सञ्चालन हुनेछ ।





