म्याग्दी/ बेनी नगरपालिका–७,मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुर फार्म भित्र चारैतिर चर्किएको साँधुरो कोठा । केही थान जस्तापाताले भत्किएको भाग छोपिएको छ । रित्तो ग्याँसको सिलिण्डर, सानो चुल्हो छ । भाँच्चिन लागेको एउटा सुत्ने खाट छ । नजिकै रहेको म्याग्दी खोलाबाट चलेको सिरेटोले मुटु नै कमाउने गरी हावा कोठाभित्र छिर्छ । कोठासँगै जोडिएको बंगुरको खोर छ । बर्खाको समयमा टिनको छानोले पानी ओत्दैन । चर्को घाममा टिन तातेर र हावाहुरी चल्दा भत्किएर अप्रिय दुर्घटना हुन सक्ने खतरा उत्तिकै छ । झट्ट सुन्दा र प्रत्यक्ष गएर हेर्दा यो सुत्ने कोठा जस्तो नै लाग्दैन । तर ४५ वर्षीया राजकुमारी राई छोरीसँग यही कोठामा दैनिकी बिताउने गरेकी छन् ।
विगत चार वर्ष भन्दा लामो समयदेखि यही छाप्रोमा राजकुमारीले छोरी पुष्पा राईसँग बस्छिन् । श्रीमानले अर्को विवाह गरी चरम यातना दिएपछि छोडेर खोटाङ जिल्लाबाट ६ वर्ष पहिला म्याग्दीमा आएकी राजुकमारीको दुःखद कथा लामो छ । बंगुरको खोरमा काम गर्ने राजकुमारीले महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को संक्रमणले बंगुर रित्तिएपछि बंगुरका मालिक समेत सम्पर्कमा छैनन् । खानेबस्ने र छोरीको शिक्षादीक्षाका लागि मासिक ५ हजार तलब दिने सहमति भएपनि साहुले उनलाई भने अनुसार तलव दिएका छैनन् । अहिले सबै बंगुर मरेपछि साहु फोन समेत नलाग्ने गरी सम्पर्कविहीन भएको राजकुमारीले बताइन् । ‘पेटभरी खाने अन्न छैन्,मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको छ’, राजकुमारीले भनिन् । छोरीलाई मागेजती खान दिन नसकेपछि रातभरी निन्द्रा समेत नलाग्ने उनले बताइन् ।
‘चिसो भुइँमै रात काट्ने गरेको छु,बिहान–बेलुकी हातमुख जोड्न समेत ठुलै युद्ध जिते जस्तै भएको छ’,राजकुमारीले भनिन् । उनीसँग कयौं एक छाक खाएर सुतेको अनुभव छ । सुत्ने र खाना पकाउने कोठामा पुगेपछि राजुकमारीले आँखाभरी आँसु निकाल्दै भनिन्,‘जीवितै भएपनि नर्कमा छु जस्तै लाग्छ,तपाईले यहाँ क्यामेराले के खिच्नुहुन्छ ?’ । उनले दैनिक ज्यालामजदुरी गरी कमाएको २ हजार समेत केहीदिन अगाडी दिउँसो आएका चोरले लगेपछि खाना पकाउने चामल समेत सकिएपछि भोकै रात काट्नुपर्ने बाध्यता रहेको बताइन् । उनले छोरीलाई राम्रो शिक्षादीक्षा दिएर श्रीमानलाई देखाउने सपना बुनेको बताइन् । उनले अहिले बेनीबजारमा होटलमा काम खोज्दैछ्न् । राजकुमारीले छोरीलाई उच्च शिक्षासम्मको पढाइका लागि सहयोगको याचना समेत गरिन् ।
पुष्पाको डाक्टर बन्ने चाहना
चरम गरिबीसँग जुधेर भएपनि पढाइमा अब्बल छिन् १५ वर्षीया पुष्पा राई । बेनी नगरपालिका–२,बगरफाँटििस्थत सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत राई गएको आन्तरिक परीक्षामा कक्षा प्रथम भईन् । उनी विद्यालयका उत्कृष्ट विद्यार्थीमध्ये एक हुन् । आमाले काम गर्ने बंगुर फार्मभित्र बसेर आमाको काममा समेत सहयोग गदैं पढाइमा मेहनत गरी पुष्पाले आफूलाई पढाइमा अब्बल दर्जामा उभ्याएकी छन् ।
जेहन्दार,अध्ययनशील र अनुशासित पुष्पा बस्ने ठाउँमा पढ्ने उचित वातावरण नै छैन् । चरम गरिबीसँग जुधेर भएपनि डाक्टर बन्ने सपनालाई पूरा गर्ने मेहनत गरेको सुनाइन् । ‘बुबालाई देखेको पनि छैन्,मलाई छोरी भनेर कहिल्यै फोन आउँदैनन्, पढाईा मेहनत गरेको छु्’,उनले भनिन् । ठूलो भएपछि डाक्टर बन्ने हो’ पुष्पाले मुस्कुराउँदै भनिन् ।
किताब लिएर केही पढ्दै गरेकी पुष्पाले डाक्टरले बिरामीको उपचार गरेको देखेको बताईन् । उनले आमासँग पैसा नभएपछि विद्यालयबाट स्टेशनरी, पोशाक सहयोग मिलेको सुनाइन् । खोलाको छेउमा भएकाले कठ्याङ्ग्रिने जाडोमा सुत्न समेत नसकोको तीतो अनुभव उनीसँग पनि छ । विद्यालयकी शिक्षिका घनदेवी घर्ती मगरका अनुसार प्रथम त्रैमासिक परीक्षमा पुष्पाको नतिजा राम्रो रहेको छ । ‘पढ्ने वातावरण पाएपछि पढाइ अझै राम्रो हुन्छ,पढाईमा मात्रै ध्यान छ,’शिक्षिका घनदेवीले भनिन्,‘ अतिरिक्त कक्षा सहित उपयुक्त रेखदेख भएमा उनको सपना पूरा हुन्छ ।’ पढाइ खर्च र केही आर्थिक सहयोग भएमा विद्यालय नजिकै कोठा खोजेर पठनपाठनमा सहज बनाउने योजना शिक्षिका घर्ती मगरको रहेको छ ।
बेनी नगरपालिका–७,मंगलाघाट नजिकै रहेको बंगुर फार्मभित्र साँधुरो कोठामा बस्ने राजकुमारी र उनकी छोरी पुष्पा । तस्वीर हरिकृष्ण गौतम





