नेपाल लगायत भारतवर्षमा मनाइने विभिन्न चाडपर्वहरुले आ–आफ्नै प्रकारका विशेषता तथा महत्व बोकेर आएका हुन्छन् हामीले जति पनि उत्सवहरु मनाउँछौ तिनीहरुले मानवीय जीवनमा उत्साह र परिवर्तनको मार्ग अपनाउन प्रेरित गरिरहेका हुन्छन् । त्यसैले परापूर्वकालदेखि नै आफ्नो धर्म संस्कृतिको मर्यादालाई पालन गर्दै पर्वहरुको स्वागत गरिन्छ । हामीले पर्व मनाउनुको वास्तविक औचित्य तथा तिनको महत्व र सन्देशको बारेमा अधिक जानकारी लिन अति आवश्यक छ । यदि हामीले हचुवा र आडम्बरको भरमा चाडपर्व मनाउँछौं भने पर्वहरुको सम्मान र जगेर्नाको सट्टा विकृतिलाई आह्वान गरिरहेका त छैनौ ? अब हामी यहाँ शिवरात्री पर्वको महत्वका बारेमा बुझ्नेछौ ।
१) शिवको अर्थ के हो ?
शिव परमपिता परमात्माको नाम हो, यसको अर्थ हुन्छ परमपवित्र, कल्याणकारी, मगंलकारी तथा हितकारी परमात्मा शिव भगवानको नाम हामी जस्तो देहधारीको होइन, उहाँको नाम कर्तव्यवाचक र परिचयवाचक नाम हो शिव । सहस्र नाममा उहाँका हजारौं नाम वर्णित छन् । भक्तहरुले यिनै हजारौं नामले देवादीपति शिवको नाम स्तूति तथा उच्चारण गर्दछन् । जस्तैः १) तारकनाथः– दुःख, अशान्तिदेखि तार्नेवाला, उद्धारगर्नेवाला मालिक २) विमोचनः सांसारिक बन्धनदेखि छुटाउनेवाला ३) अनर्थनाशनः–अनर्थलाई नाश गर्नेवाला ४) शम्भुः– कल्याण गर्नेवाला ५) वरदः वरदान दिनेवाला ६) रुद्रः दुःख अर्थात् रोदनलाई हर्नेवाला ७)त्रिवर्ग स्वर्ग साधनः– धर्म, अर्थ र कामना तथा स्वर्गिक प्राप्ति गराउनेवाला ८) तमोहरः तमोगुणलाई हर्नेवाला ९) पशुपतिनाथः मायावी तथा कर्मश्रपी पाशोमा बाँधिएकाहरुलाई ईश्वरीय ज्ञानद्धारा मूक्त गराउनेवाला, १०) महादानी ११) महौषधिः कामवासना, क्रोध आदि विकारहरुदेखि छुटकारादिने परम औषधिरुपी परमात्मको याद १२) सर्वपापो हरोहरः सर्वपाप हर्नेवाला आदि नामले मनुष्यात्माहरुले शिव परमात्मालाई आफ्नो मनोकामना पूर्ण भए अनुसारको नाम राखिदिएका छन् । जस्तै ः मुक्तिनाथ, पापकटेश्वर, सर्वेश्वर आदि । कतिपय शास्त्रमा परमात्मा शिवको नाम यसरी परिभाषा गरेका छन् ‘शि‘ को अर्थ पापनाशक र ‘व‘को अर्थ मूक्तिदाता ।
२)शिवको रुपः परमपिता शिव परमात्म ज्योतिस्वरुप, निर्विकारी र निराकारी हुनुहुन्छ । आज संसारमा स्त्री, पुरुषको भेद लिङ्गको आधारले गरिन्छ भने परमात्मा शिवलाई पनि ज्योर्तिलिङ्ग भनिन्छ । हुन त, कतिपयले शिव र शंकरलाई पर्यायवाची सम्झन्छन् तर परमात्मा न त पुरुषलिङ्ग हुनुहुन्छ न त स्त्री । उहाँ त प्रकाशस्वरुप ज्योतिको लौ स्वरुपमा हुनुहुन्छ । त्यसैले शिवज्योतिबिन्दु भनिन्छ । बोलिचालीमा पनि शंकररात्री भन्ने गरेको पाइँदैन । नत शिवका मन्दिरलाई शंकरालय नै भनेको सुनिन्छ किनकि, शंकर देवात्मा हुन् भने शिव परमात्मा हुनुहुन्छ । अजन्मा, अभोक्त, अखण्ड तथा अकाया हुनुहुन्छ ।
३) शिवरात्री किन मनाइन्छ ?
शिवको रात जसलाई शिवरात्री भनिन्छ । शिवरात्री परमपिता परमात्माको जन्मदिन हो । मनुष्यहरुको जन्म चाहे रातमा होस्, चाहे दिनमा त्यसलाई बर्थडे भनिन्छ तर भगवान शिवको जन्मलाई शिवरात्री भनिन्छ । हामीले मनाउने चाडपर्व शुक्लपक्ष तिथिमा मनाइन्छ भने श्रीकृष्णजन्माष्टमी, दिपावली र शिवरात्री कृष्णपक्षको तिथिमा मनाइन्छ । शिव धर्तिमा अवतरण गर्नुहुन्छ । उहाँको जन्म हाम्रो जस्तो लौकिक जन्म नभएर अलौकिक दिव्य जन्म हुन्छ । अर्थात् उहाँ परकायामा प्रवेश गरेर संसारको हित गर्नुहुन्छ । अब शिवको यस धर्तिमा अवतरण हुन्छ त्यसबेला मानवीय मूल्य र मान्यताहरु धरासायी भई मानवमा काम, क्रोध, लोभ, मोह र अहंकारको जन्म हुन पुग्छ । काम विकारको परिणामस्वरुप बलात्कार, देह व्यापार, जनसंख्याको वृद्धि, पारिवारिक क्लेष तथा अमेल, अनाथ बालबालिकाको वृद्धि जस्ता समस्या दिनानुदिन बढिरहेका छन् भने अर्कोतर्फ क्रोध विकारको परिणामस्वरुप हत्या हिंसा विभिन्न प्रकारका आणविक अस्त्रहरुको निर्माण तथा मानवीय विनाशका साथै भौतिक सम्पदाहरु ध्वस्त भएका छन् । लोभका कारण भ्रष्टाचार, चोरी, मिसावट व्यापार जस्ता विकारले जरो गाडेको छ । स्वार्थ, तृष्णा, कलह क्लेषले मानवीय विचारमा कलुषित भावनाको विकास भई अधर्मको आडम्बरमा विकृतिको बिगबिगी बढ्दै गइरहेको छ । ईश्वरीय नियम कानुनलाई ‘उहिलेका कुरा खुइले’, ‘पुण्य गर्नेलाई शुन्य’, ‘जसको पाप उसकै फलिफाप’को तर्क सावित गरेका कारण आज घर–घर, समाज–समाज र देश–देश गरी विश्वमा अशान्ति, अत्याचारले वैश्विक एकतालाई कमजोर, दूषित र असुरक्षित भइरहेको छ । भौतिकवाद र पूँजीवादको सोचले आध्यात्मिकता, भौतिकतादेखि आजको मनुष्य विमुख भएका छन् । सत्ज्ञानको अभावले गर्दा अज्ञानता छ । सूर्यको प्रचण्ड प्रकाश छाए पनि मानवमनमा अशान्तिको, दुःखको, निराशाको कालो बादल छाएको छ । यस्तो अवस्थामा परमात्माले एक साधारण मानवीय तनमा परकाया प्रवेश भएको समय नै शिवरात्री हो । यही शिवरात्रीको पुनित अवसरमा शिवबाबाले सतज्ञान र सहजराजयोगको साधनाद्धारा दुःखी, पीडित, अज्ञानी आत्माहरुलाई ज्ञान स्नान गराइपावन बनाउने सेवा गरेर सृष्टिका मानवआत्माहरुलाई सद्गति गरी मुक्ति, जीवनमुक्ति दिएको समय र जन्म जन्मको प्रारब्ध बनाएको दिन नै वर्तमान समय शिवरात्री हो । स्मरण रहोस्, कलियुगको अन्त्य र सत्ययुगको सुरुवात नै महा परिवर्तनको लागि स्वर्गस्थापानार्थ परमात्माको अवतरण भएको समयलाई नै शिवरात्री भनिन्छ ।
४) शिवलाई बेलपत्र किन चढाइन्छ ?
विशेष गरी शिवरात्रीको अवसरमा शिवलिङ्गमा बेलपत्र अर्पण गर्ने गरिन्छ । यो ब्रह्मा, बिष्णु र शंकरको प्रतिकको रुपमा अर्पण गरिएको हो । किनकि, परमात्मा विदेही अथवा अकाया हुनाले परकाया ब्रह्माको तनद्धारा नयाँ सृष्टिको स्थापना विष्णुद्धारा पालना र शंकरद्धारा कलियुगी दुनियाको विनाश र परिवर्तन गराउने हुनाले त्रिमूर्ति शिवको प्रतिकमा तीन पत्ता बेलपत्र चढाइन्छ ।
५) आँक, धतुरो किन चढाइन्छ?
आँकको फूलमा न त आकर्षण न त सुगन्ध हुन्छ तर पनि शिवरात्रीमा सुन्दर फूलहरुका साथ साथै आँकको फूल पनि अर्पण गरिन्छ । किनकि, वर्तमान समयमा कतिपय मानिसमा आन्तरिक सुन्दरता र सुगन्ध छैन भने अर्कोतिर रंगभेद, जातिभेद, संस्कृतिभेद पनि छन् । तर पनि त्यस्ता व्यक्ति पनि शिवअर्पण हुन्छन् भने उहाँले स्वीकार्नुहुन्छ । धतुरो भनेको नशा हो । नशालुपदार्थको सेवन त्याग गरौं, यसले जीवन नारकीय बन्छ, दुर्गन्धित स्वभावलाई त्यसै दिन शिव अर्पण गरी सुगन्धित, आदर्श बन्ने प्रेरणा लिनका लागि प्रतिज्ञा स्वरुप आँक, धतुरो शिवलिङ्गमा चढाइन्छ ।
६) दूध किन चढाइन्छ र धुनी किन जलाइन्छ ?
दूध पवित्रता र अमृतको प्रतिक हो । परमात्माप्रति आस्थिक बनी आशावादी बन्नको लागि मनलाई शुद्ध र सेतो बनाउनुपर्छ । सेतो मन वा आत्मा नै परमात्माले स्वीकार गर्नुहुन्छ भन्ने मान्यताले शिवलिङ्ग माथि दूध अर्पण त गरियो तर सेतो पवित्र मन बनाउन सकेनौं भने दूध चढाएको के अर्थ ? रातभर जागरण बसी धुनी त जगाइन्छ तर आत्मा सशक्तिकरण वैश्विक परिवर्तन गर्ने महान लक्ष्यलाई भुल्दै कामकुरा एकातिर कुम्लो बोकी ठिमितिर गइरहेका छौं । फलतः वर्षेनी शिवरात्री मनाउँदै आयौं तर शिवरात्रीको अलौकिक सन्देह वा भावार्थलाई खोतल्न, अपनाउन थालेनौं । केवल मनाउने परमपरा र मान्यतालाई कायम राख्दै सांसारिक भोगको कामना र क्षणिक प्राप्तिका लागि शिवरात्री मनाउँदै आएका छौं ।
वास्तवमा महाशिवरात्री पर्वले स्वार्थ, इष्र्या, विकृति, धुमपान, मध्यपानजस्ता कुलत शिव ईश्वरमा अर्पण गरौं, जीवनलाई कलहमुक्त, विकारमुक्त, विसंगतिमुक्त गरी दिव्य गुणको विकास गरी सुखमय र शान्तमय समाज र देशको निर्माण गरौं भन्ने सन्देश प्रवाह गरेको छ ।





