आज फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । प्रजा र तन्त्र दुई शब्दको योगबाट प्रजातन्त्र शब्दको व्युत्पति हुन्छ । सामान्य अर्थमा ‘प्रजा’ भन्नाले जनता र ‘तन्त्र’ भन्नाले शासन बुझिन्छ । यसरी प्रजातन्त्र भन्नाले जनताको शासन भन्ने अर्थ लाग्दछ । अझै फरक अर्थमा प्रजातन्त्र कै पर्यायका रुपमा लोकतन्त्र र गणतन्त्रलाई लिन सकिन्छ । नेपालको हकमा प्रजातन्त्रको ठूलो महत्व छ । नेपालमा १०४ वर्षिय जहाँनिया राणा शासनको अन्त्य भइ, देशमा जनताको शासन स्थापना भएको दिनका रुपमा पनि यो दिनलाई लिइन्छ । नेपालमा प्रजातन्त्र स्थापनाको यहि सम्झनामा विगत ७ दशक अगाडिबाट यो दिवस मनाउदै आइएको छ । हुनतः २००७ सालपछि पनि विभिन्न आन्दोलन र राजनैतिक परिवर्तनहरु उल्लेख्य रुपमा भएका छन् । तर, पहिलो पटक जनताको हातमा शासन व्यवस्था आएको यस दिनलाई निक्कै महत्वका दृष्टिले हेरिन्छ ।
प्रजातन्त्रलाई राजनैतिक रुपमा आजसम्मका उपलब्धीहरुको प्रमुख जग मानिन्छ । २०४६ साल र २०६२÷६३ को जनआन्दोलनको बलमा प्रजातन्त्र पुर्नस्थापना, गणतन्त्र र लोकतन्त्रको स्थापना, राजतन्त्रको ससम्मान बिदाई, संविधान सभाबाट संविधान निर्माण, त्यसको कार्यान्वयन, धर्म निरपेक्षता, समानुपातिक समावेशी शासन पद्धतिको सुरुवात र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन २००७ फागुन ७ को महत्वपूर्ण भूमिका रहेको छ । यी र यस्तै उपलब्धीपूर्ण परिवेशहरुको सम्झना गर्दै नेपाल सरकारले प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ । र, नेपाल सरकारको आयोजनामा देशव्यापी रुपमा विविध कार्यक्रम गरी हर्षोल्लासपूर्ण वातावरणमा यो दिवस मनाइन्छ ।
२००७ सालमा प्रजातन्त्र स्थापना भएको नेपालमा लोकतन्त्रहुँदै संघीय गणतन्त्र स्थापना भइसकेको छ । यो बिचमा राजनैतिक र भौगोलिक रुपमा धेरै परिवर्तन आए । संविधान सभाबाट संविधान निर्माणहुँदै संघिय संरचनासम्मका गतिविधिले देश नयाँ दिशामा अगाडि बढेको पाइन्छ । १०४ वर्षको राणा शासनलाई परास्त गरि प्रजातन्त्रले नेपालको इतिहासमा पहिलो पटक संवैधानिक राजतन्त्रको सुरुवात गरेको थियो । देशभित्र विभिन्न काल खण्डमा हुने राजनैतिक परिवर्तनबाट प्राप्त उपलब्धीहरुको रक्षार्थ सरकारले नीति नियम तर्जुमा गर्नुपर्दछ । जनताको बाहुबलबाट प्राप्त उपलब्धिको संरक्षण गर्नु सरकारको कर्तव्य हो । शासकहरुले आफ्नो शासनकालमा आफ्ना आफन्त, इष्टमित्र र पार्टी कार्यकर्ताहरूका आवश्यकता देख्यो भने जनता क्रान्ति गर्न बाध्य हुन्छ ।
नेपालको हकमा २००७ साल पुर्व र पछिका शासकहरुको दुर्वलताका कारण जनताले राणा शासनको अन्त्य गरि प्रजातन्त्र ल्याए । त्यसैगरि पञ्चायती व्यवस्थालाई निस्तेज पारेर बहुदलीय व्यवस्था ल्याए । जुन व्यवस्था ल्याउनका लागि तत्कालीन काँग्रेस र कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिएर संयुक्त आन्दोलन गरेका थिए । राजनैतिक नेताहरु साध्य बनेर गरिने आन्दोलनमा जनतालाई साधन बनाइएको हुन्छ । त्यसपछि आन्दोलन र संघर्षहरुमा पनि निरन्तर जनतालाई विभिन्न आशा र भरोसाको आडमा अगाडि सारिएको हुन्छ । २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनाको लडाईँ होस् या शाह वंशीय शासन व्यवस्था फाल्न २०६२÷२०६३ को जनआन्दोलनमा होस् जनतालाई अगाडि सारिएको थियो । तिनै जनताको निर्दोष आन्दोलनको बलमा प्राप्त भएका परिवर्तनमा जनतालाई नाम मात्रै दिइएको छ । स्पष्ट भन्नुपर्दा सहिदलाई फुलमाला र ज्युँदा जनतालाई शासन दियौं भनेर भाषणमा मात्र सीमित गराइएको छ ।
मुलुकलाई अहिलेको अवस्थामा ल्याइपु¥याउने जनता नै हुन थाहा छ । तर प्राप्त उपलब्धीलाई जोगाउन सत्ता सम्पन्न नेतृत्व चुकिरहेको देखिन्छ । किनकी प्राप्त उपलब्धीको रक्षा गर्नु सरकार स्वयंको कर्तव्य हो । निहित स्वार्थ पूरा गर्नको लागि सत्ता साझेदारी गर्नु, आफ्नो अनुकुलतामा संविधान माथी धावा बोल्नु, सत्ता समीकरणलाई दीर्घजीवन दिन नसक्नु, आपराधिक गतिविधिलाई सत्ताको भरमा संरक्षण गर्नु, सरकारी निकायमा आफन्त र इष्टमित्रहरुलाई चुल्हे निम्ता गर्नु, भ्रष्टाचार निवारणको मुद्दालाई सत्तामा पुग्ने खुड्किला बनाउनु, शिक्षा, स्वास्थ र न्यायालयलाई कार्यकर्ता भर्ती केन्द्रको शिकार गराउनु, समाजमा अन्याय, अत्याचार, शोषण र दमनका भावहरुलाई प्रजातन्त्र पुर्वकै रुपमा बढावा दिनु, बाहिर हुँदाको इमान्दारितालाई सत्तामा पुग्दा अवसरमा परिणत गराउनु, प्रतिपक्षमा रहेका दलले सक्रिय भूमिका नखेल्नु, पार्टीका दुरदर्शि सिद्धान्तमाथी कुल्चिएर आफू हलुङ्गो बन्नु, बाहिर राष्ट्रप्रेमलाई झल्काउन विभिन्न बहाना गर्नु, भित्र शकुनी अवतारको भक्त बन्नु, धर्मलाई निरपेक्ष घोषणा गर्नु र त्यही निरपेक्ष धर्मको कसम खाएर जनतालाई ढाँट्नु, आफ्नो स्वार्थका लागि देशको स्वाभिमानमा ठेस लाग्ने सन्धिसम्झौता गर्नु, नेताहरूले अन्र्तमुखी कार्य गर्नु, चुनाव खर्चिलो हुनु, छद्म भेषमा देशभित्रका महत्वपूर्ण संरचनालाई गिद्दे नजर लगाउनु जस्ता प्रवृत्तिले प्रजातन्त्रको मर्म र अस्तित्व माथि प्रहार भएको बुझ्न सकिन्छ ।
आफ्नो देशको गौरव बढाउनु हामी सबैको दायित्व
विश्वका अनगिन्ती देशहरुमा प्रजातान्त्रिक शासन व्यवस्थाको अभ्यास सफल भएको देख्दा नेपाली जनतालाई आशा लाग्नु जायज नै थियो । तर, बिडम्बना हाम्रो देशमा प्रजातन्त्रले ७ दशक लामो यात्रा गर्दा समेत पुर्णता पाएको छैन । हुनतः प्राप्त उपलब्धिलाई प्रजातन्त्रकै जग मानिन्छ । तैपनि राणा र राजाको विकल्पमा ६०१ छोटे राजाको पुजा गर्नुलाई जनताले कसरी आफ्नो शासन ठानून् । अहिले नेपाली जनताले संघ, प्रदेश र पालिका गरि ७६१ सरकारलाई पालेका छन् । विभिन्न सरकार र जनप्रतिनिधि मात्रै पाल्नका लागि प्रजातन्त्रसहित गणतन्त्र र लोकतन्त्र ल्याइएको हो ? या कर्मचारीतन्त्रले देश चलाएर जनतालाई सहजताको प्रत्याभूत गराउनुलाई प्रजातन्त्र भन्ने दुविधा छ । हजारौंको संख्यामा जनप्रतिनिधि, सयौंको संख्यामा सांसद र मन्त्रीहरु पाल्न सक्ने निरीह जनता उत्पादन गर्नु नै प्रजातन्त्र प्राप्तिको मुख्य धेय हो ? या दैनिक १५०० बढी दक्षजनशक्ती विदेश पठाउने नीति बनाउन प्रजातन्त्र आएको हो ?
सरकारले रेमिट्यान्सलाई मुख्यस्रोत बनाएर देश चलाओस् भन्ने कामना सबै नेपालीमा नहुन सक्छ । देशमा तमाम ब्यथितीहरु हुँदाहँुदै जनताकै शासन आएको छ भनेर लोकतान्त्रिक गणतन्त्रको बाजा बजाउनु वीर गोर्खालीलाई सम्मान गर्नु अवश्य होइन । हाम्रो जस्तो विकासोन्मुख देशका गरीब जनताले आफ्नै अभिमतको सिकार बन्नु निन्दनीय छ । जनताको सहारामा आन्दोलन र जनयुद्ध सफल पारेका नेताले आफूमुखी नियम र कानुन निर्माण गरेर तिनै योद्धालाई निरीह बनाउनु राणा शासनको वैपरित्यमा शासन चलाउनु हो । शासन चलाउने नेताले कि त विकसित देशहरूका नीति नियमको सिको गर्नुपर्छ । कि त आफ्नोमा जे छ त्यसैमा सन्तुष्ट हुनुपर्छ । नेपालको हकमा महत्वाकांक्षी अभिलाषा बोकेर अनिर्णित गन्तव्य ताक्नु शोभनीय थिएन र छैन पनि, किनकि देशमा राजनीतिक परिवर्तनहरु पटकपटक भएका छन् । तर, परिवर्तित राजनीतिबाट जनताले सोचे अनुरुपका अपेक्षा पुर्ण हुने संकेत आजसम्म पनि देखिएका छैनन् । यसर्थ जबसम्म राजनैतिक स्थिरता र नेतृत्व वर्गमा गरीबका कारुणिकता बुझ्न सक्ने मन हँुदैन । तबसम्म झुपडीहरु घामका किरणहरुबाट टाढा भाग्नेछन् ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरिएका विभिन्न रक्तपातपुर्ण आन्दोलनदेखि गणतन्त्र र लोकतन्त्र प्राप्तिका इतिहासलाई फर्केर हेर्नुपर्छ । प्रजातन्त्रले संवैधानिक राजतन्त्रको व्यवस्था ग¥यो तर त्यस व्यवस्थाले ६ दशकको आयु पूरा गर्न सकेन । कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले र अन्य कम्युनिष्ट पार्टीहरुले २००७ सालदेखि २०४६ सालसम्म गरेका तमाम आन्दोलन र संघर्षले प्रजातन्त्रको अभिलाषा पूरा भएन भनेर तत्कालीन नेकपा माओवादी २०५२ सालमा भुमिगत भएको थियो ।
१० वर्षे जनयुद्ध गरेर सरकार र आफुपक्षिय करिब पन्ध्र हजार नेपालीको बली चढाएको माओवादीले अन्तमा जनतालाई अघि सारी २०६२÷६३ को जनआन्दोलन सफल पार्यो । अन्ततः राजतन्त्र फालेर, देशलाई धर्म निरपेक्षताको बाटोमा हिंडायो तर त्यसपछिका गतिविधिमा उस्ले जङ्गलदेखि राजधानीसम्म आफ्ना नेताहरुलाई महल बनायो । गरिबलाई धनी बनायो । धनीलाई गरीब बनायो । पढेका विद्वान, शिक्षक, डाक्टर, सरकारी कर्मचारी, सुरक्षाकर्मी, नेता कार्यकर्ता लगायतलाई मृत्युको मुखमा धकेल्यो । भने, निर्दोष जनतालाई धार्मिक, जातीय र भौगोलिक रुपमा विखण्डन गरेर द्वन्द्व निम्त्याएको स्पष्ट देखिन्छ ।
यसरी जनता स्वयंले ल्याएको प्रजातन्त्रको इच्छा अनुरुप नेपाली राजनीति चल्न नसक्दा, वर्षौं पहिलादेखि अभ्यासरत प्रजातन्त्रका आँखा त धमिलिए वर्तमानमा संस्थागत भएको लोकतान्त्रिक गणतन्त्रका आँखासमेत बादलिएको अनुभव नेपाली जनतालाई भएको छ । नेपालको राजनैतिक इतिहासको समीक्षा गर्दा नेपाली जनताले संघीय गणतन्त्रको प्राप्तिसँगै प्रजातन्त्रले भिन्न प्रकारको महत्व पाएका छन् । तत्कालीन समयमा जनतालाई प्रजातन्त्रले अत्यधिक खुसी दिलाएको थियो । त्यही प्रजातन्त्रले युगान्तकारी परिर्वतनको बाटो समाउन सकेन, अन्ततः वर्तमानमा नेपाली जनता फागुन ७ मा हुने सार्वजनिक विदामा खुशी मनाएर चित्त बुझाएका छन् । त्यसैले यो वर्ष पनि नेपाली जनतालाई प्रजातन्त्र दिवसको अनगिन्ती शुभकामना ।





