शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मंगला गाउँपालिकामा बन्योचिटिक्कको मङ्गला इन्द्रेणी–पार्क

मंगला गाउँपालिकामा बन्योचिटिक्कको मङ्गला इन्द्रेणी–पार्क

चार रोपनी जग्गा दिने दातासहितलाई सम्मान ।


  • हरिकृष्ण गौतम
  • फाल्गुन ८ २०७९, सोमबार

म्याग्दी/पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरेको छ । व्यापारिक केन्द्रको रुपमा उदाउँदै गरेको गाउँपालिकाको केन्द्र बावियाचौर बजार नजिकै म्याग्दी नदी नजिकै आर्कषक मङ्गला इन्द्रेणी–पार्कको आइतबार एक समारोहका बीच उद्घाटन गरिएको छ । बाबियाचौर स्थायी घरभइ अहिले काठमाण्डौ बस्दै आएका क्या.इन्द्रबहादुर अधिकारीले झण्डै ४ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएपछि त्यसमा गाउँपालिका र मंगला यूवा क्लवको सहयोगमा १० आना जग्गा खरिद गरेर पार्क निर्माण गरिएको पार्कको जग्गादाता, स्थानीयबासी, जनप्रतिनिधि सहितको उपस्थितिमा उद्घाटन गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘यो रमाउने मात्रै होइन, धेरै सिक्ने पार्क सहितको संरचना बनाएका छौ,‘हराउन लागेका साम्रगीहरू समेत राख्ने म्यूजिमयलाई संरचना बनाइसकेका छौ’ अध्यक्ष रोकाले भने ।

उनले बालिबालिकाहरुको शारीरिक, मानसिक र बौद्धिक विकास गर्न तथा ज्येष्ठ नागरिकहरुको समेत सङ्गमस्थल बनाउने उद्देश्यसहित मङ्गला इन्द्रेणी पार्कको परिकल्पना गरी पार्क निर्माण गरिएको बताए । अचेल खेलकुदका माध्यमबाट पढाउने प्रचलन बढेको अवस्थामा सन्दर्भ साम्रगी अनुसारको संरचना समेत पार्कभित्र बनाउने योजना रहेको अध्यक्ष रोकाको भनाई छ । बावियाचौरमा बालमैत्री र बालबालिका लक्षित पार्क तथा बाल उद्यान नहुँदा यसले बालबालिकाको सामाजिक, शारीरिक र मानसिक स्वास्थ्यमा समस्या निम्त्याएको अवस्थामा मोबाइल तथा टीभीमा झुण्डिरहने बालबालिकालाई खेलकुदका माध्यमबाट सिकाइने सिकाइ दीर्घकालीन हुने भएकाले पनि पार्क बनाउन जग्गा सहयोग गरेको जग्गादाता क्याप्टेन अधिकारीले बताए ।

‘सहयोगलाई सदुपयोग गरेकोमा उत्साहित छु,शैक्षिक क्षेत्रमा पनि सक्ने सहयोग गरेको थिए’, क्याप्टेन अधिकारीले भने । उनले पार्क बनाउने जग्गा क्याम्पसलाई उपलब्ध गराउने चाहना भएपनि संरचना बनाउन अपुग भएकाले पार्क बनाएको बताए । बालबालिकाको विद्युतीय उपकरणमा आर्कषण बढिरहेको अवस्थामा पार्क बनेपछि अभिभावक समेत निकै उत्साहित देखिएका थिए । गएको आर्थिक वर्षमा निर्माणसम्पन्न भएको इन्द्रेणी पार्कमा एक करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । पार्क निर्माणमा यसअघि गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय म्याग्दीमार्फत १८ लाख रुपैयाँ बजेट लगानी गरेको थियो भने बाँकी सबै बजेट गाउँपालिकाले व्यवस्थापन गरेको जनाइएको छ ।पार्क बनाउन आवश्यक पर्ने अन्य जग्गा खरिद गर्न मंगला यूवा क्लवले २ लाख र गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले १ लाख सहयोग गरेका थिए ।

मङ्गलाको बाबियाचौरमा पार्क निर्माण भएपछि बिहान र बेलुकाको समयमा बालबालिकाहरु पार्कमा पुगेर रमाउन थालेका छन् । पार्कभित्र बालबालिकाहरुलाई लक्षित गरेर चिप्लेटी खेल्ने, पिङ खेल्नेलगायत फनपार्कका संरचनाहरु जडान गरिएको छ । पार्क बनेर सञ्चालनमा आएपछि बालबालिकाहरुलाई लगेर भुलाउन र खेलाउन पाउँदा अभिभावकहरुलाई पनि राहत मिलेको छ । पार्कको मुख्य मैदानभन्दा माथि तीन वटा प्याराफिट निर्माण गरिएको छ । बालबालिकालक्षित अन्य संरचना थपिने तथा ज्येष्ठ नागरिकहरुका लागि पनि शारीरिक व्यायाम गर्ने, मनोरञ्जन लिने र अध्ययन गर्ने लगायतका संरचनाहरु जडान गरिने प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताए । उनका अनुसार पार्क परिसरभित्र संग्रालय स्थापनाको लागि भवन निर्माण गरिसकिएको छ भने चालु आवभित्र संग्रालयका लागि आवश्यक पर्ने साम्रगी खरिदमा १० लाख समेत विनियोजन गरिएको छ ।पार्कमा आउनेहरुलाई लक्षित गरेर पक्की शौचालय समेत बनाइएको छ । यसैगरी पार्कमा अपाङ्गमैत्री वाक–वे तथा बालउद्यानहरु निर्माण गरिएका छन्। त्यस्तै पार्कको वरिपरि घेराबार लगाउनुका साथै जग्गाधनीको अर्धकदको शालिक समेत अनावरण गरिएको छ ।

इन्द्रेणी पार्कमा खेल्न आउने बालबालिकाहरुको लागि खेलकुद तथा सङ्ग्रहालय सञ्चालन र ज्येष्ठ नागरिकहरुले व्यायाम गर्न आवश्यक पर्ने उपकरणसहितका सामग्रीहरु व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ । इन्द्रेणी पार्कभित्र दुबो लगाउनुका साथै धुपी, अशोकलगायत सुगन्धवाल फलफूलका बिरुवाहरु रोपिएका छन् । सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गालाई हरियाली बनाएर उपयोग गर्नेगरी पार्क निर्माण गरिएको हो । बालबालिका कक्षाकोठाको साँघुरो घेरामा नभई प्राकृतिक वातावरणमा खेल्दै सिक्न चाहने भएकाले हरेक पालिकामा बालबालिका केन्द्रित पार्कको समेत आवश्यकता रहेको छ । पार्कको उद्घाटनको पूर्वसन्ध्यामा सहयोगदातालाई पञ्चेबाजामा बावियाचौर बजार परिक्रममा गरिएको थियो । उद्घाटन समारोहमा मंगला माविका प्रधानध्यापक गमबहादुर खत्री, गाउँपालिकाका प्रबक्ता एवम् वडा नं १ का अध्यक्ष एकजित रोका, पूर्व गाउँपालिका उपाध्यक्ष सिर्जना केसी लगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->