मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

स्वास्थ्य क्षेत्रको जटिलता र सुधारका लागि गर्नुपर्ने काम

स्वास्थ्य क्षेत्रको जटिलता र सुधारका लागि गर्नुपर्ने काम


  • झलक शर्मा
  • फाल्गुन ८ २०७९, सोमबार

नेपाल सरकारले मन्त्रिपरिषदको विस्तार गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पदम गिरीले पाएका छन् । पर्वत जिल्लाबाट पहिलो मन्त्री बन्न सफल रहेका गिरीले स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने अपेक्षा गरिन्छ । मन्त्री बनेकै दिन राजधानीका केही अस्पतालको अनुगमन गरी सुधारका लागि दिएको निर्देशन प्रशंसनिय छ । कोरोना संक्रमणदेखी नेपालको स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था उजागर भएको छ । समस्याका चाङ्हरुले स्वास्थ्य क्षेत्रलाई थिचिरहेको छ । अब स्वास्थ्य क्षेत्रलाई नयाँ गति दिन आवश्यक छ । उपचारको अभावले कोही पनि मर्न नपरोस् भन्ने वाक्यलाई शिरोपर गरेका यि मन्त्रीलाई समग्र मुलुकलाई स्वस्थ बनाउने चुनौती रहेको छ ।

नेपालका सरकारी अस्पतालहरुको सेवाप्रवाह प्रभावकारी छैन । सेवा लिदा महंगो मूल्य तिर्नुपर्ने तर सेवा विश्वसनीय नहुनु नै समस्याको जड बनेको छ । ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन सकिएको छैन । बजार क्षेत्रमा भएका स्वास्थ्य संस्थाहरु निकै अस्तव्यस्त छन् । निजी अस्पताल गरिब, निमुखा वर्गको पहुँचमा छैन । सरकारी अस्पतालबाट गुणस्तरिय सेवा उपलब्ध छैन । जटिल प्रकृतिका रोग निधानका लागि राजधानी धाउनु पर्ने बाध्यता छ । बिरामीले चिकित्सकलाई आफ्नो समस्या देखाउन लामो लाइन बस्नु पर्ने र अधिक समय खर्च गर्नुपर्ने स्थिति छ । स्वास्थ्य संस्थामा पर्याप्त आवश्यक मेशिनरी उपकरण, औजारहरु नहुँदा बिरामीको ल्याब रिपोर्टहरु तोकिएको समयमा आउदैन । सरकारी अस्पतालमा डाक्टरहरु समयमा भेटिदैनन् । भेटिए पनि बिरामीको गुनासो सुन्न चाहेको देखिदैन । बिरामीलाई घुमाउरो शैलीमा आफ्नो निजी क्लिनिकमा आउन आग्रह गर्छन् ।

एकातर्फ औषधि कम्पनीहरुले डाक्टरलाई कमिशनको लोभ देखाएर कम गुणस्तरीय औषधिहरु औषधालयमा बिक्रीवितरण गर्ने तथा बिरामीलाई भिडाउने गरेको गुनासो बेलाबखत सार्वजनिक भएका छन् । स्वास्थ्य क्षेत्रमा बेला बेलामा अनावश्यक राजनीति भित्रिएको छ । यस क्षेत्रमा पनि बन्द हड्ताल जस्ता क्रियाकलापले स्थान पाएका छन् । यसको प्रत्यक्ष असर भने सर्वसाधारण बिरामीलाई नै पर्ने गरेको छ । सरकारसँग माग राख्ने दुख बिरामीलाई दिने वातावरण देखापरेका छन् ।

स्वास्थ्य क्षेत्र अत्यन्त संम्बेदनशिल क्षेत्र हो तर बेला बेलामा गैरजिम्मेवारीपन र असंवेदनशिल भएको पाइन्छ । कोरोना महामारीमा त केही स्वास्थ्य संस्था, डाक्टर तथा स्वास्थ्यकर्मीले आफ्नो पेशागत आचरण र मूल्य मान्यता नै परिपालना गरेनन् । महामारीको बेलामा केही अस्पतालले बिरामी नहेर्ने, अन्यत्र स्थान्तरण गराउन खोज्ने गरेको पनि देखियो । यस्तो व्यवहारले प्रत्यक्ष रुपमा जनताको स्वास्थ्यको हक माथि कुठाराघात भएको महशुस गराउँछ । राज्यलाई परेको यस्तो विषम् परिस्थितिमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको योगदानलाई भने हामीले कहिल्यै बिर्सनु हुँदैन । आफ्नो ज्यानको बाजी राखी अहोरात्र बिरामीको सेवामा खटिनु नै निकै प्रशंसनिय छ । सरकारी अस्पतालमा मानव संसाधन र भौतिक साधनहरुको उपयुक्त प्रयोग गर्न सकिएको छैन । जनगुनासो सुन्ने र सुधार गर्न खोज्ने परिपाटीको विकास नै हुन सकेको छैन । अस्पतालको सोधपुछ कक्षबाट प्राप्त जानकारी पाइदैन । आवश्यक जानकारी प्राप्त नगर्दा बिरामी भौतारी रहनुपर्ने स्थिति छ ।

बिरामीले आफूले कुन कुन कक्षमा डाक्टरसँग परिक्षण गर्ने, कुन स्थानमा ल्याब टेस्ट गर्ने, आफूले सेवा प्राप्त गरेबापत कति रकम खर्च बेहोर्नु पर्ने हो । यी लगायतका विषयहरुमा अनविज्ञ हुनुपरेको अवस्था छ । अत्याधिक भिडका कारण स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारीहरुबाट रुखो व्यवहार सहनु परेको छ । सामान्य प्रकृतिको बिरामीले अस्पतालमा ठुलै समस्या झेल्नु पर्छ । निरन्तर चेकजाँच गर्नुपर्ने दीर्घरोगका बिरामीहरुले आवश्यक परेको खण्डमा तुरुन्त चेकजाँच गर्न कठीन पर्छ । ग्रामीण भेगबाट उपचार गर्न आएका बिरामीले धेरै रकम खर्चनु पर्ने अवस्था छ । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन नसक्दा ग्रामीण भेगका जनताले स्वास्थ्य सेवा लिनबाट बञ्चित हुनुपरेको छ । डाक्टरको सिफारिस गरेको औषधी अस्पातालको प्राङ्गगणमा रहेको फार्मेसीमा उपलब्ध हुदैनन् । अस्पतालमा नै औषधि नपाइएपछि निजी फार्मेसीमा महंगो मूल्यमा औषधी खरिद गर्नुपरेको तीतो यथार्थ हामी नेपाली सामु छ । बेला बेलामा सञ्चालन हुने स्वास्थ्य शिविरबारे सर्वसाधारणलाई जानकारी नै हुदैन । त्यसका लागि पनी समाजका अगुवाहरुको सोर्सफोर्सबाट मात्र सेवा लिनुपर्ने स्थिति छ । यस्तै थुप्रै समस्याले स्वास्थ्य क्षेत्रलाई ग्रसित बनाएको छ ।

नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाइ गुणस्तरीय, सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नु आवश्यक छ । नेपालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने हो भने स्वास्थ्य संस्थामा आधुनिक उपकरणसहित विशेषज्ञ चिकित्सकको व्यवस्था गर्नुपर्छ । जनताले स्वास्थ्य सेवा लिँदा राज्यले आफूलाई संरक्षण गरिरहेको छ भन्ने महशुस गराउनु पर्छ । स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्दै सेवाको विस्तार र प्रवद्र्धन गर्नुपर्छ । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा निशुल्क गराउनु पर्छ । सरकारले निशुल्क वितरण गर्ने औषधीहरु सहज रुपमा उपलब्ध गराउनु पर्छ । सवास्थ्यकर्मीमा पेशागत मूल्य मान्यता आचरण तथा अनुशासनको परिपालना हुनुपर्छ । जिर्ण रहेका अस्पतालको मर्मतसंभार, क्षमता विस्तार गर्नुपर्छ । अस्पतालमा हुने भिडलाई कम गर्न आधुनिक अनलाइन प्रणालीबाट टिकट काट्न सकिने व्यवस्था गर्नुपर्छ । त्यसका लागि सेवाग्राहीलाई प्रविधिप्रति साक्षर बनाउनु आवश्यक छ । दुर्गम जिल्लाहरुमा डाक्टर नबस्ने प्रवृत्तिको अन्त्य गरी पर्याप्त तलब भत्ता र सम्मान उपलब्ध गराउनु पर्छ । समाजमा स्वास्थ्य बिमाको महत्वबारे सचेतना फैलाउँदै नेपाल सरकारको स्वास्थ्य नीतिको कार्यान्वयन गर्नुपर्छ ।

स्वास्थ्य बिमामा केही प्रकृयागत जटिलता देखापरेको हुँदा त्यस्ता जटिलता अन्त्य गरी यसको विस्तारमा जोड दिनुपर्छ । स्वास्थ्य क्षेत्रमा हुने राजनीतिक गतिविधिलाई तुरुन्त रोकी बेथितिहरुको अन्त्य गर्नुपर्छ । सङ्क्रामक रोगहरु कोभिड १९, झाडापखला, स्वाइनफलु लगायतको महामारी नियन्त्रणका लागि उपयुक्त मापदण्ड, योजना र स्वास्थ्य रणनीति तर्जुमा कार्यान्वयन र नियमन गर्नुपर्छ । स्वास्थ्य जनचेतना अभिवृद्धि गराई स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिनुपर्छ । स्वास्थ्य संस्थाहरुले सरसफाईमा विशेष जोड दिई सुन्दर र आकर्षक बनाउन सक्नुपर्छ । यस क्षेत्रबाट सृर्जना हुने फोहोरमैलाको उचित व्यवस्थापन गरी त्यसबाट हुने जोखिमको अन्त्य गर्नुपर्छ । निजी स्वास्थ्य संस्थालाई सस्तो र सरल बनाई बिरामी ठगिने वा मारमा पर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । स्वास्थ्य क्षेत्र मानवीय जीवनसँग सम्बन्धित छ । यसमा हुने सामान्य लापरबाहीले मानिसको स्वास्थ्यमा गम्भिर असर पर्छ । अस्वस्थ जनशक्तिबाट राज्य समृद्ध बन्न सक्तैन । तसर्थ समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा पुरा गर्न स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र जनमुखी बनाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->