मेयरसाप नमस्कार !
कुशल रही कुशलताको कामना गर्दछु । पेट्रोलको मूल्य सस्तिएछ र मैले मोटरसाइकललाई अघाउन्जेल पेट्रोल खुवाउन सकेछु भने भेटेर कुरा गरौंला । अहिलेलाई पत्र कोर्ने आज्ञा चाहान्छु । हुनतः अवश्य पनि हजुरले चिन्नुहुन्न होला । म तपाईंकै नगरपालिकाभित्रको नागरिक हुँ । हजुरको तर्फबाट अपरिचित हुँदैमा म दुखी भने कदापि छैन । किन कि हजुरले चुनावको समयमा सबै जनतालाई चिन्नुहुन्थ्यो । अहिले चिन्नुहुँदैन । तर, म जस्ता जनताले अहिले तपाईंलाई चिन्छौं । बरु पहिले चिन्दैनथ्यौं । फरक यत्ती छ पहिले र अहिले मात्र, मानिस उहीँ हौं । हामी जनता नाम मात्रले समेटिएको नगरपालिकाको एउटा छेउको भूगोलमा छौं । तर, तपाईं नगरपालिकाले समेटेको कुर्सीमा हुनुहुन्छ । त्यसैले तपाईंलगायत तपाईंको स्थानीय तहमा रहेका जनप्रतिनिधि र कर्मचारीहरुले जनताको सेवामा लाग्नैपर्ने देख्छु । फेरि यो थर न गोत्रको मान्छेले किन मलाई चिठी लेख्यो भनेर आश्चर्यमा पर्नु होला । यसमा चित्त दुखाई रहनुपर्ने केही छैन । किन कि म तपाईंले राज्य गरेको स्थानीय तह वाड नं. १२ अमलाचौरको नागरिक हुँ, म आफूले आफूलाई योग्य, असल र जिम्मेवार सम्झिन्छु । तपाईंले पनि आफ्नो पदको अगाडि आफूलाई सधैं जिम्मेवार बनाउनुहुनेछ । म विश्वस्त छु ।
नगरपालिका नगर र पालिका दुई शब्दको योगबाट बनेको हुन्छ । आफैमा ‘गर’को अकरण अर्थात् नकारात्मक अर्थ दिने शब्द ‘नगर’ हो । यहि शब्दमा पालिका जोडिएर बन्ने नगरपालिकाले काम नगर्ने पालिका जस्तो अर्थ बोध गराएझैं मलाई पनि यस्तै भान भएको पक्कै छ । मेयरसाप ! हजुरलाई यसरी नगरपालिकाको अर्थ उच्चारण गर्दा र केही नगर्ने पालिकाको प्रमुख बनाउदा रिस उठ्न सक्छ । कृपया नरिसाइदिनु होला । संघिय संरचनामा ७५३ यस्तै पालिका, ७ प्रदेश र १ संघीय सरकारको परिबन्दमा नेपाल परेको छ । तपाईंले नगरपालिकाभित्र समेटेका सबै गाउँका मानिसले कर तिर्न बाध्य छन् तर, नगरपालिकाले उनीहरुलाई कर तिरेको उपलक्ष्यमा के प्रदान गरेको छ ? मिल्छ भने नगरपालिकाको सूचनापाटीमा २÷४ वटा बुँदाहरु लेखियोस् ।
बाटोघाटो नपुगेका दुर्गम गाउँलाई नगरपालिकाभित्र समेटेर जनतामाथी अन्याय गरेको सरकारले जनतालाई पालिकाको कार्यालयसम्म पुग्ने गाडीहरू चलाउन सकिरहेको छैन । हिउँद बर्खा धुलाम्मे र हिलाम्मे सडकमा दुख काटेका जनताले पालिकालाई तिरो तिर्दा मन अमिलो हुन्छ । व्यक्तिगत गाडी पुगेका ठाउँमा गाडी पुर्याउन नसके पनि व्यक्तिगत सवारी चालकले मनगणन्ते भाडा उठाएर, सुबिधाको नाममा जनतालाई क्षति पुर्याउँदा, नगरपालिकाले भाडा कायम गर्न सक्छ कि सक्दैन होला ? निरन्तर यी सडकहरुले सवारी धनीलाई धनी बनाए, नगरपालिकालाई गिज्याए, जनतालाई रित्ता बनाए, यसको निराकरण कसरी गर्ने होला । कृपया एउटा निराकरणको उपाय खोजिदिनुहोला ।
जीवनदायी अमृत समानको पेयपदार्थमा हुने अस्तित्व समाप्तीको खेललाई कसरी हेर्नू भएको छ ? राजनीतिज्ञ, सामाजिक अगुवा, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रमुख, आमा समुह र दुग्ध व्यवसायी समितिका महानुभावहरु कसैका पनि दृष्टि कमजोर नबनून् । आमा समानका दुध उत्पादक किसानलाई सम्मान गरियोस् । बिचमा राज गर्नेहरुका घर बन्दा, किसानहरुका गोठ बन्ने वातावरण तयार गरियोस् । रु. ८० मा किसानबाट लिएको दूध रु. १२० मा बेच्दा पनि दुधले दुधको अस्तित्व गुमाउन पुग्नु बिडम्बना हो । हरेक वर्ष दूधको मूल्य बढाउने दुग्ध व्यवसायीले दुधको अस्तित्व मापनको नियम बनाएको छ कि छैन होला ? दुधले आत्मनिर्भर भएको जिल्ला सदरमुकाममै रहेका डेरीहरुले दूधको अस्तित्व नै समाप्त पारेर जनताको स्वास्थ्यमा गम्भीर संकट उत्पन्न गर्दा समेत मुकदर्शक बन्नु स्थानीय सरकारको दयनीय अवस्था होइन ? कि नगरपालिकामा बाक्लो दूध जान्छ ? विचरा किसान दैनिक हात र खुट्टा फटालेर खेती गर्छन् । बोकेर ल्याउनेको जुत्ता र टोपी फाँट्छन् । साहुहरुले तिनै कृषकको रगत र पसिनामाथी अभिमान देखाउँछन् । न किन्ने उपभोक्ताले खुशी किन्छ, न उत्पादन गर्ने किसानले मानवीय मूल्य पाउँछ । हाम्रो घरको दुधमा त लपक्क तर लाउँछ । यो बजारको दुधको तर कहाँ जान्छ ? सबै सबैमा पैसै पैसाको मोलमोलाई चल्छ । जिल्लामै हजार थरी तरकारी फल्छ तर जहाँ छ त्यहीं सड्छ, उता भारतीय टमाटर र तरकारी ठुलावडाको भुजा जुनार र डिनरमा चल्छ । मेयरसाप के बागलुङ बजारमा एउटा तरकारी मण्डी चलाउन सम्भव नहोला ? हुनतः तरकारी पसलेले तिर्ने कर पाएपछि जनताले सस्तोमा किनून् वा महँगोमा कसलाई के मतलब भो र ? हाम्रो जिल्लाका पालिकाहरु बिच अन्तरपालिका साझेदारी गरेर अभावका चिजहरु बिनिमय गर्न सकिन्छ या सकिदैन होला ? जस्तैः हामीले उत्पादन गरेका तरकारी, फलफुल, घरायसी सामग्रीहरु डोका, नाम्ला, डाला, डाली, अमृसाका कुचा र अन्य वस्तुहरुमा जनताको ध्यान आकृष्ट गर्न स्थानीय सरकारले केही गर्न सक्छ कि ?
पर्यटन प्रवर्द्धनलाई विशेष जोड दिने निर्णय गरेका तिनै तहका सरकारहरुमा तपाईं स्वयं रहेको पालिकाअन्तर्गत पर्ने बलेवा कालभैरवको विकास, प्रचार प्रसार र उन्नतिका लागि के प्रावधान बनाउनु भएको छ । पालिकाका प्राकृतिक, धार्मिक एवं साँस्कृतिक सम्पत्ति र पुर्वाधारको विकासका लागि कुन नीति लिनुभएको छ ? यी विषयमा किन यो मान्छे बोल्यो ? के अधिकार छ भन्नूहोला मेयरसापले, तर नराम्रो नमानी दिनुहोला । मैले उठाएका कुराले गति पाए भने हजुर सफल मेयर बन्न पनि सक्ने आधार हुन सक्छन् ।
अहिले मेरो अस्थायी बसोबास रहेको वडा नं. १ रामरेखा हो । हाम्रो स्कुले जीवनमा शिक्षा, स्वास्थ, यातायात र खानेपानी लगायतका विषयलाई अत्यावश्यक पुर्वाधार भन्ने गरिन्थ्यो । तर, ती विषय अहिले मेरा लागि एच्छिक बनेको महशुस हुन थालेको छ । किन कि खानेपानीमा बर्खे भेल प्रसस्त पाइन्छ । हिउँदमा थोपा थोपाको महत्व बुझेर प्रयोगमा ल्याइन्छ । एकातिर काठेखोला अर्कोतर्फ कालीगण्डकीको सुसावट सुनिने बागलुङ बजारमा पैसा तिरेर धमिलो पानी पाउनु दुखकै कुरा होला । अझै भनौं मेरो गाउँमा पानी लिन आधा घण्टा हिंड्नु पर्छ । पानीको मुहान देखाउँदा समेत राजनीति गर्ने बाटो भएको छ । सक्नुहुन्छ भने तपाईंले पानीमा राजनीति कहिल्यै नगरिदिनु होला । अब स्वास्थ्यको के कुरा गर्नु र मेयरसाप, तत्कालीन अञ्चल सदरमुकाममा रहेको हस्पिटलमा डाक्टरहरु टिक्न नसक्नुलाई तपाईं कसरी हेर्नुभएको छ ? रातदिन इमर्जेन्सी वार्डमा बिरामीको उपचार गर्ने डाक्टर करारको परिचयपत्र भिरेर आउँछन् । के प्रादेशिक हस्पिटलमा २÷४ जना एमडी डाक्टर राख्न नेपालका कुनै तहका सरकारले सक्दैन ? सक्दैनन् नै भने किन प्रादेशिक अस्पतालको भारी बोकाउने गेटलाई पत्तै पाइएको छैन् । सामाजिक संजालमा यो उपहार पायौं । यो ल्यायौं त्यो ल्यायौं भनेर प्रचार प्रसार गर्ने नेताहरु कहाँ गए । तिनले कहिल्यै यो हस्पिटलबाट सेवा लिएका छन् कि छैनन् । भेटेर सोध्ने धोको छ । नमरे बाँचे यो हस्पिटलको भर पर्नु नपरेको खण्डमा अवस्य सोध्ने छु ।
म आफैं कतिपटक औषधि किन्ने लाइनमा बसेको छु । स्वास्थ बिमाका बिरामीलाई मान्छे हेरेर औषधि दिइन्छ । कतिलाई छैन भनेर बाहिर किन्न पठाइन्छ । के यो अस्पतालमा स्वास्थ बिमाका बिरामीले बिमामा सुचिकृत भएका औषधि लिन नयाँ कोट र टोपी अनि चस्मा लगाउनु पर्छ ? दैनिक सयौं बिरामीको भिड लाग्ने हस्पिटलमा बिरामी उपचार गर्न जान्छन् कि निरोगी मान्छे रोगी हुन जान्छन् ? बिरामीकै उपचार हस्पिटलमा हुन्छ भने अनेकौं लाइन किन ? किन सबल उपचार प्रदान गर्ने व्यवस्था गरिदैन ? गाँउको बिरामी उपचार गरेर गाउँ फर्किने व्यवस्था गरियोस् । कि होटेल व्यवसायलाई टेवा पुर्याउने नीति हो भनियोस् । होइन भने ओपिडीको बिरामीलाई एउटा रिपोर्ट बोकेर चारदिन लाइनमा बस्न बाध्य नपारियोस् । बिरामीलाई हस्पिटलमा थप बिरामी बनाउने नीति परिवर्तन गरियोस् ।
मेयरसाप ! अब कुरा शिक्षाको नगरपालिकाभित्र कति जना डिग्री होल्डर जनशक्ति छ निक्र्याैल गरोस् नगरशिक्षाले, आवेदन मागियोस् शैक्षिक बेरोजगार कति छन् । मेरो नाम पहिलो नम्बरमा लेखाउने छु । मिल्छ भने शैक्षिक योग्यता अनुरुपको सुहाउँदो रोजगार खोजियोस् । अन्यथा पासपोर्ट बनाउने खर्च नगरपालिकाबाटै विनियोजन गरियोस् । अझै भनौं शैक्षिक जनशक्ति जागिर नपाएर बिचैमा मरणासन्न भएको बेलामा तपाईहरु बालमैत्री विद्यालय उद्घाटन र वार्षिकोत्सबका समारोहमा हिंडेको देख्दा दया लाग्छ । मेयरसाप ! आखिर शिक्षाले खान नदिने भएपछि किन विद्यार्थीहरुलाई मिठा भाषणको सिकार बनाउने ? भाषणभन्दा कामको कुरा गरौं बेरोजगार जनशक्ति पहिचान गरौं । उपल्लो शैक्षिक योग्यता भएकाहरुलाई नगरपालिकाभित्र पहुँचको भर (करार)मा जागिर खाएका कर्मचारी हटाएर तिनीहरुलाई नियुक्ति दिइयोस् । जागिरको सिलसिलामा भौतारिँदै बागलुङ बजारको गल्ली गल्लीमा दिनरात बिताउने जनताको निकास भए खोज्दिनुहोला । मिल्छ भने शिक्षामा राजनीति नगरिदिनु होला । शिक्षाबिना संसार अन्धकार हुन्छ । अध्याँरोमा कसैले बाटो पाउँदैनन् । त्यसैले जनतालाई मार्गप्रशस्त गर्न शिक्षालाई सम्मान गर्नु अनिवार्य छ ।
यातायातको सेवामा मैले ६ महिना कच्ची सडक पाएको छु । त्यो पनि १६/१७ किलोमिटरलाई ३००–४०० सम्मको चर्को मुल्य तिरेर हिंड्न पाएको छु । यसमा जनता खुशी हुनै पर्नेछ । सदरमुकामदेखि चार किलोमिटरको दुरीमा रहेको दब्ल्याङको पहिरोले हिउँद, बर्खा, बाह्रै महिना ? चौबिसै घण्टा गिज्याउँदा सडक विभाग र नगरपालिकालाई कस्तो अनुभव भएको छ साट्न पाए जाती हुन्थ्यो होला । जिल्लाकै दक्षिणी भेग जोड्ने प्रमुख नाका दब्ल्याङको सडक यथाशीघ्र दीर्घकालीन नीति ल्याएर रोकथाम गरियोस् । यदि सकिदैन भने वैकल्पिक बाटोको खोजी गरियोस् । होइन नै भने बलेवाको निकासमा नगरपालिकाबाट अन्यायमा परेका वडा घोषणा गरियोस् । हामीहरुलाई क्षणिक आश्वासन दिएर पाप नगर्नु होला । बलेवाली जनतालाई ढाँट्नु भनेको कालभैरवलाई ढाट्नु हो । त्यसैले बाग्लुङ कालिका र भैरवलाई साक्षी राखेर काम गर्नुहोस् । फेरि अहिलेको एक्काइसौं शताब्दीमा पनि दुर्गम गाउँ र भगवानको कुरा गरेछ भनेर हाँस्नु होला । कृपया हाम्रो गरिबी र दुर्गम भूगोलप्रति उपहास नगरिदिनु होला ।
हाम्रो देशमा जनताको शासनका रुपमा प्रजातन्त्र र गणतन्त्र आए । राजा महाराजा, पन्चायत, बहुदल, संकटकाल, लोकतन्त्र र संघियता सम्मका प्राप्तअप्राप्त गतिविधिहरु भए । जनतालाई ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानको सत्यता देखाइए । जनता सधैं विछिप्त बने । अहिले हजुरलाई अभिभावकको भूमिकामा पाएर आशाका भावहरु जनताका नजरमा अंकुराएका छन् । असन्तुष्टिमा असन्तुष्टि नै थपेर चोटमाथी चोट नथप्नु होला । हामी जनताहरु नयाँ अनुहारलाई परिक्षणको दायरामा ल्याउँन परिपक्व छौं । अर्को पटक फेरि नविनतामा रमाउन नपरोस् । यहि कामना गर्दछु । हजुर पनि गर्नुहोस् । फेरि मलाई किन यसरी कठोर वचन बोल्ने भनेर नरिसाउनु होला । मैले मात्र जिताएको होइन र मैले मात्र हराउन पनि सक्दिन । हजुरले हामी जनतालाई सर्वोपरी ठानेर काम गर्नुभयो भने अवश्य पनि हाम्रो पालिका देशमै उदाहरणीय पालिका बन्नेछ । तपाईं योग्य, सफल र प्रतिष्ठित मेयर बन्नुहुनेछ । अनि हामी भाग्यमानी नागरिक बन्नेछौं । मिल्छ भने यति कुराको उचित जवाफका लागि सक्रिय मेयरको रुपमा रहेर काम गरिदिनुहोला । मेयरसाप ! हस् त नमस्कार !





