पोखरा/युवा ब्याटर भीम सार्की ब्याटिङमा चम्कदाँ नेपालले आइसिसि विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले २ सय २९ रनको योगफल तयार गरेको छ ।
टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा उक्त २ सय २९ रनको योगफल तयार गरेको हो । युएईमा जारी प्रतियोगितामा भीम सार्कीको हालसम्मकै यो उत्कृष्ट प्रदर्शनी हो । यो संगै युएईले २ सय ३० रनको लक्ष्य पाएको हो । नेपालका लागि पाँचौ नम्बरको ब्याटरको रुपमा पिच पुगेका सार्कीले ९९ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ७० रनको योगदान दिए ।
नेपाल एक समय ६८–५ को कम्जोर स्थितिमा पुगेको थियो । उक्त समय ब्याटिङ सम्हालेका भीमले अर्धसतक संगै सन्दिप लामिछानेसंग छैटौं विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी गर्दै आशा जगाए । सन्दिप ४० बलमा १ चौका सहित २७ रन बनाउँदै आउट भए ।
आरिफ शेख ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहे । प्रतिश जि।सी ६ बलमा १ चौकासहित ११ रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल ११ रनमा एलबीडब्लू आउट भए । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे । कप्तान रोहित पौडेल एक रनमा बोल्ड भए ।
कुशल मल्ल ३२ रनमा बोल्ड आउट भए । कुशलले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरी चार रनमा आउट भए एलबीडब्लू आउट भए । ऐरी आउटभएसंगै नेपाल ६८–५ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि आरिफ र भीम सार्कीले ५६ रनको साझेदारी गरेका थिए । करण केसी ११ बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए ।
युएईका जुनैद सिद्दिकले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । रोहन मुस्तफाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर २ विकेट लिए । अर्यान लर्कानले ८ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । कार्तिक मयाप्पनले एक विकेट लिए ।





