पोखरा/ ओपनर आसिफ शेखको शतकसंगै नेपालले आईसिसि विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा किर्तिमानी योगफल तयार गरेको छ ।
घरेलु मैदान त्रिभुवन क्रिकेट मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले पपुवा न्युगिनीलाई २ सय ९८ रनको लक्ष्य दिएको छ ।
नेपालले इतिहासमै सर्वाधिक रन बनाउने क्रममा ४९.१ ओभरमा २ सय ९७ रन बनाउँदा अल आउट हुन पुग्यो । नेपालको हालसम्मको सर्वाधिक रन भनेको २ सय ८७ हो । जुन नामिविया विरुद्ध दुई हप्ताअघि मात्रै बनाएको थियो ।
हालसम्मकै किर्तिमानी योगफल बनाउने क्रममा ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका २ छक्का सहित १ सय १० रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले ५६ बलमा ६ चौका सहित ४५ रन बनाए ।

भिम सार्कीले ३८ बलमा ४ चौका सहित ४४ रन बनाए । उनी अर्ध शतक बनाउनका लागि छक्का हान्ने धुनमा प्रहार गरेको ठूलो सटमा क्याच आउट हुन पुगे ।
कुशल मल्ल २ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । १४ बलमा १ चौका प्रहार गरे । कप्तान रोहित पौडेल ३० रनमा आउट भए ।
उनले ३९ बलमा २ चौका र १ छक्का प्रहार गरे । दिपेन्द्रसिंह ऐरी ७ रनमा रनआउट भए । उनले ३ बलमा १ चौका प्रहार गरे ।
करण केसी ८ बलमा आउट भए । उनले ६ बलमा १ छक्का प्रहार गरे । सन्दिप लामिछाने ७ रनमा आउट भए । उनले ३ बलमा १ छक्का प्रहार गरे । सोमपाल कामीले ४ रन जोडे ।
पपुवा न्युगिनीका लागि सेमो काम्याले ९.१ ओभरमा ३८ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । रिल्य हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । एली नाओले एक विकेट लिए





