मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

प्रचण्डभित्रको प्रचण्डवादी प्रवृत्ति

प्रचण्डभित्रको प्रचण्डवादी प्रवृत्ति


  • माधव शर्मा
  • फाल्गुन २८ २०७९, आइतबार

देशमा शासन गर्ने शासकहरुले सही बाटो अवलम्बन गरे देशले दीर्घ जीवन पाउँछ । शासकहरुले पछिल्लो पुस्ताका माझ अमरत्व प्राप्त गर्छन् । जस्लाई सालिक बनाएर फुलमालाद्वारा सम्मान गरिन्छ । हाम्रो देश नेपालमा पनि पृथ्वीनारायण शाह र भिमसेन थापादेखि मदन भण्डारी, कृष्णप्रसाद भट्टराई, विपि कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली, शेरबहादुर देउवा, बाबुराम भट्टराई, मोहन वैद्य किरण, चित्रबहादुर केसी र कमल थापालगायत थुप्रै नेताहरु जन्मिए । कतिले विभिन्न कालखण्डमा आफूलाई देशको सच्चा देशभक्त नेता कहलाएर अमरत्व प्राप्त गरि बिदा भए । कति मृत्युको मुखमा समेत ओत लाग्न पाएनन् त कति अझै शासन गरिरहेका छन् ।

ती नेताहरुमा कतिलाई जनताले अविच्छिन्न सम्झिन्छन् त कतिको नाम समेत लिन चाहदैनन् । वर्तमानमा शासन गर्ने शिर्ष नेताहरूको दैनिकीले पनि जनता अन्योलमा पर्ने निश्चित छ । उनीहरुका दैनिक काम कार्यहरु चित्त बुझ्दा छैनन् नै, तथापी राष्ट्रप्रेम र देशभक्ति भावले युक्त भाषणहरु उनीहरु निकट पार्टी कार्यकर्ताहरुलाई मन परेकै हुन्छन् । हो नेपालको यस्तै परिवेशलाई फरक धार पैदा गरेर सरकारको नेतृत्व प्राप्त गर्न सफल नेता प्रचण्ड हुन् ।

प्रगतिशील सिद्धान्तलाई आत्मसात् गरि समानताको विगुल फुक्दै समतामूलक समाज निर्माणको नारा लगाउने नेता प्रचण्ड हुन् । २०११ सालमा कास्कीको एक सामान्य परिवारमा जन्मिएका उनले पारिवारिक असम्पन्नता र गरिबीका कारण जीवनमा धेरै हण्डरठक्कर खाएर संघर्ष गर्ने प्रेरणा पाएको बुझिन्छ । उनले गरिबीकै कारण समाजवादी धार समातेका थिए । ‘नमरी स्वर्ग देखिदैन’ भन्या झैं आफ्नो जीवन यथार्थमा उत्पन्न समस्याहरुलाई समाजमा रहेका अन्य व्यक्तिहरुले भोग्न नपरोस् भन्न कै लागि विभेदपूर्ण समाजलाई सुधार गरि समतामूलक र न्यायोचित समाज निर्माणको अभियान उनले सुरु गरेका थिए । यस कारण तत्कालीन समयदेखि आजका मितिसम्म पनि नेपाली राजनीतिमा अत्यधिक प्रयोग हुने नाम प्रचण्ड हो । बोलाउने वास्तविक नाम पुष्पकमल दाहाल भएपनि ‘प्रचण्ड’कै नामले चर्चा कमाउने कम्युनिष्ट नेताका रुपमा उनलाई लिन सकिन्छ ।

‘प्रचण्ड’को अर्थ नेपाली शब्दकोषको बाटो भएर पहिचान गर्दा ज्यादै चर्को स्वभावको, खरो, कोही कसैबाट नडराउने, साहसी र पराक्रमी भन्ने बुझिन्छ । यसरी हेर्दा पुष्पकमल अर्थात् कमलको फूल जो पराक्रमी र साहसी विशेषताले पूर्ण छ भन्ने बोध हुन आउँछ । हिन्दु संस्कारमा कमलको फुललाई विद्याकी देवी सरस्वतीको ज्ञानपूर्ण भण्डार भन्ने विश्वास गरिन्छ । यसरी उनको नामलाई अर्थगत तहबाट व्याख्या गर्दा नयाँ नयाँ दर्शन, सिद्धान्त र राजनैतिक परिवेशलाई आफ्नो ज्ञान, क्षमता एवं पराक्रम सापेक्षित बनाउन सक्ने हुन्छ । हो यो अर्थमा आधारित एक साहसी राजनैतिक चरित्र प्रचण्ड हुन् । उनको राजनैतिक सिद्धान्त प्रचण्डवाद हो ।

प्रचण्डले नेपाली समाजमा उत्पन्न जातिय विभेद, सामन्ती शासकहरुबाट पीडित बनेका जनताको यातनालाई वर्ग संघर्षको माध्यमबाट निर्मूल पार्ने अभियान सुरु गरेका थिए । परम्परागत सामाजिक रहनसहनहरुले एक्काइसौं शताब्दीको माग धान्न सक्दैनन् भनेर सामाजवादको नारा लगाउँदै राजा र वर्गविहीन शुद्ध साम्यवादी समाजको निर्माण गर्नुपर्छ भन्ने क्रान्तिकारी व्यक्ति प्रचण्ड हुन् । गरिब, निमुखा, गरिखाने वर्ग र उत्पीडनमा परेका सर्वहारा जनताका अधिकार स्थापित गर्नलाई दीर्घकालीन युद्धको भुमरीमा आफू र देशलाई होम्ने उनले, नीति सिद्धान्त एवं पार्टी विधानमा उल्लेख गरेका सबै कुरालाई सम्बोधन गर्न असम्भव भएपनि समुन्नत नेपालको परिकल्पना तत्कालीन प्रचण्डमा अवश्य थियो । तर समय परिवर्तन र राज्य शक्तिको प्राप्तिसंगै केही विचार र नीति स्वतः परिवर्तन भए । उनले २०५२ सालमा समाज रुपान्तरणमा राष्ट्रियता, लोकतन्त्र र जीविकोपार्जनसँग सम्बन्धित मागहरू राखेर सामन्ती व्यवस्थाको अन्त्य गरि सर्वसाधारण जनतालाई अधिकार सम्पन्न गराउनुपर्ने कुरा गरेका थिए । तर, सरकारले सम्बोधन गर्न नसकेपछि देशलाई जनयुद्धको मैदान बनाएका थिए ।

युद्धमा सरकार र युद्धरत पक्ष माओवादी दुवै तर्फबाट हजारौंको संख्यामा नेपालीहरुले ज्यान गुमाउन पुगे । जनता र अन्य राजनैतिक दलहरुले समेत सहयोगी भुमिका खेलेको उक्त जनआन्दोलनमा मर्ने सबै मानिसको जिम्मा कस्ले लिने भन्ने कुराको छिनोफानो अझै भएको छैन । युद्ध पश्चात् निर्माण भएको संविधानमा समेत सो समस्याको उल्लेख छैन । भने, अबको निकास के हुन सक्ला ? जनताले न्याय पाउलान् ? या बिनाकारण मारिएका जनताले मरणोप्रान्त सहिदको सलामी पाउलान् ? सर्वोच्चमा परेको रिटले प्रधानमन्त्रीको मर्यादालाई छुन्छ कि छुदैन ? एकतर्फी युद्धरत एक पक्षलाई मात्र दोषी देख्नु जनता र न्यायालयको भुल हुन्छ कि हुदैन ? तत्कालीन नेतृत्वले नेपाल कम्युनिष्ट पार्टी माओवादी नाम राखी सरकारको विपक्षमा उभिएर युद्ध गर्दा जनताले अथाह दुःख पाए ।

घर गाँउमा भएका दाजुभाइलाई छुवाछूत र भेदभावको निहुँमा लडाउने काम भयो । संघियताको बाजा बजाएर सामाजिक, धार्मिक, साँस्कृतिक र भौगोलिक द्वन्द निम्त्याइयो । जातिय मुद्दालाई हतियार बनाइ दाजुभाइ छरछिमेकीलाई लडाइयो, सबै समान हुनुपर्छ भनेर बोर्डिङ स्कुलहरु बन्द गराइए, धार्मिक अभियन्ताहरुको उछितो काढियो, सँस्कृतका किताबहरु जलाइए । कैयौं सोझासाझा जनतालाई दैनिक जसो बन्दुक देखाएर भात पकाउन बाध्य पारियो । कति जनता रुपैयाँ पैसाको लागि बन्दी बनाइए । के सबै काम जनताको भलाइका लागि थिए ? कैयौं नारीका सिन्दुर पुछिए । कैयौ बालबालिकालाई अनाथ बनाइयो । कैयौं आमाहरुको कोख रित्याइयो । सरकारी शिक्षक, कर्मचारी, सेना, पुलिस र धर्मगुरु सम्मका मानिस एवं उनका परिवारलाई पटक पटक यातना र कतिलाई मृत्युदण्डसमेत दिइयो ।

यो सबै माओवादीले निम्त्याएको थियो । परन्तु युद्धको समयमा भएका सबै घटनाको जिम्मा माओवादी नेतृत्वले मात्र लिनुपर्छ भन्नू गल्ती हुनसक्छ । नेताहरुले आफ्नो पार्टी सिद्दान्त बिर्सिनु, आफ्नै संघर्षशिल पाटिलाई एकताबद्ध गर्न नसक्नु र आन्दोलनमा महत्वपूर्ण भुमिका खेल्ने सर्वसाधारण जनताका मर्म नबुझ्नु उनीहरुको गल्ती हो । तर, उनले आफै सुरु गरेको युद्धलाई निहित स्वार्थमा सिमित गराए भन्नू न्यायोचित नै हुन्छ । किन कि उनी र उनीसंगैका नेताका काठमाण्डौंमा दरबार जस्ता घर बने । जनयुद्धमा खाइनखाई ज्यानको बाजि लगाउनेलाई पन्छ्याएर आफ्नै पेट भर्नुलाई दस वर्षे जनयुद्धको मर्म सम्झे । विचरा रुकुम रोल्पाका जंगलदेखि देशैभर उनीहरुलाई सुरक्षा दिने जनशक्ति जहाँको तहि रहे । के दस वर्षे जनयुद्ध शिर्ष नेताको सम्पन्नता लागि मात्र हो ? जनतालाई आश्वासन बाँड्न र आफ्ना घर बनाउन मात्र संघर्ष रचिएको हो ?

यस्को जवाफ कस्ले दिने ?

नेपालको राजनैतिक इतिहासमा उनी वि.सं. २०६५, २०७३ र २०७९ मा गरि तीन पटकसम्म प्रधानमन्त्रीको मर्यादामा समेटिन सफल नेता हुन् । जनयुद्ध, त्यसपछिको शान्ति प्रक्रिया र संविधान सभाको निर्वाचन अघि र पछि पनि दाहाल नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्षको रूपमा रहदै आएका छन् । संविधान सभाको पहिलो निर्वाचन, २०६४ मा त उनी र उनले नेतृत्व गरेको पार्टी नेकपा माओवादी सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो । जस्का कारण उनी प्रधानमन्त्री बनेका थिए । सत्ता प्राप्तिको उन्मादले जनयुद्धको समयमा गरेका बाचा, कसम र सिद्धान्त भुल्न पुगेका उनले आफन्त, इष्टमित्र र शुभेच्छुकहरुलाई सम्झिदा सम्झिदै आफ्नै अंगरक्षकलाई समेत भुल्न पुगे ।

उनका राजनैतिक क्रियाकलाप नजिकबाट हेर्दा नेपाली निबन्ध एवं हास्यव्यंग्य जगत्का सर्वोच्च प्रतिभा भैरव अर्यालले भन्या झै ‘येन केन प्रकारेण उदरम् परिपुरयेत्’ भन्ने सिद्धान्त पनि उनको दाजुभाई सिद्धान्त नै हो जस्तो लाग्न थालेको छ । प्रचण्ड स्वयंले प्रचण्डबिना नेपालको राजनीति नचल्ने बताउँछन् । उनले उद्घोष गरेझै २०६४ देखि यताको नेपाली राजनीति उनी र उनी निकट पार्टीकै पेरिफेरिमा चलेको छ । मुलुकको तेस्रो ठूलो पार्टीका हिसाबले निर्णायक बनेका उनले भएसम्म सत्तामा पुग्छन । यदि सत्ताविहिन नै भएपनि प्रतिपक्षको भुमिका निकै जागरिलो भएर निभाउँछन् । यसरी नेपाली राजनीतिमा उनको मपाइत्व प्रवृत्ति भैरव अर्यालको भुडिवादको सिद्धान्त जस्तै प्रचण्डवादका रुपमा फैलिएको छ । उनमा सधै आफू सत्तामा पुग्ने लालचा तिव्र रुपमा देखिन्छ । किन कि उनी सधैं जसो कहिले कांग्रेस त कहिले एमालेको काँध चढ्छन् । आफू ठूलो दल बन्न नसकेपछि झनै बिचमा बसेर मध्यमार्गी अवसर उनले पाइरहेका छन् ।

संस्कृतमा एउटा उक्ति छ ‘द्वयोर्विवादे तृतीयस्य लाभे’ हो प्रचण्डमा यहि नीति बलियो छ । किन कि उनी कांग्रेस र एमालेको बिचमा छन् दुइटा पार्टीको बिचमा झगडा उत्पन्न गराउने र आफूले फाइदा उठाउने काम उनीबाट निरन्तर भइरहेको छ । आफै मात्र निर्णायक भुमिका खेल्न रुचाउने प्रचण्ड पछिल्लो समयमा सम्पन्न निर्वाचनमा कांग्रेस लगायतका दलसँग मिलेर एमालेको उछितो काढ्ने जमर्को गरे तर सकेनन् । अन्ततः एमालेकै साथमा लागेर प्रधानमन्त्री भएपछि पुनः कांग्रेसतिरै फर्किए । एमाले संगको बसाइलाई संकुचित आँखाले हेरेका उनले राष्ट्रपतिको विषयलाई समातेर पुनः एमालेसँगको सम्बन्धलाई मिहिन बनाए भने कांग्रेससंग पुनः नाता जोड्दै माननीयको दर्जामा रहेका रामचन्द्र पौडेललाई सम्माननीय राष्ट्रपतिको उपाधी दिलाए । यो नाता जति दिन टिक्ला पत्तो भएन तर नेपाली राजनीतिमा प्रचण्डको शक्ति त्यति सजिलै कमजोर बन्ने अवस्था छैन नै, आफू राजा हुने अरुलाई कामदार बनाउने शासकिय स्वरुप उनमा जल्दोबल्दो नै छ । उनी आफू उपल्लो पदमा पुगेपछि त्यो पदको लागि कुन कुन अखेटा टेके भनेर कहिल्यै सोच्दैनन् । सोच्छन् त केवल आफ्नो र आफ्नाको परिपुरण, हो यिनै विशेषताले भरिपूर्ण साहसी सिद्धान्त ‘प्रचण्डवाद’ हुन् ।

जनगणतन्त्र स्थापना गरेर नेपालको मुहार फेर्छु भन्ने माओवादीले २०६२÷६३ को जनआन्दोलनको मुख्य उपलब्धि एवं आफ्नो सत्ता प्राप्तिको खेल र बाह्र बुँदे सहमति मान्यो । राजतन्त्र फालेर देशलाई धर्म निरपेक्षताको बाटोमा हिंडायो । सत्तासिन यो दल र दलका प्रतिनिधिहरुले प्रचण्डवादलाई सर्वोपरि ठाने । जनताले परिवर्तनको संवाहक ठानेका प्रचण्ड तत्कालीन नेपालका अति प्रभावशाली नेता मात्रै बनेनन् । विगलदेखी अहिलेसम्म प्रचण्डवादको सिद्धान्त नै बने । यी सबै समयमा त उनी विश्वमै नाम कमाउने नेतामध्ये गनिए । १० वर्षे सशस्त्र द्वन्दको नेतृत्वकर्ता उनले राजाको सर्वसत्तावादी प्रवृत्तिका विरुद्ध सर्वहारा वर्गलाई समेटेर क्रान्तिमा होमिएका थिए । उनी नेपाली राजनैतिक क्षेत्रमा अत्यधिक गतिशील एवं चतुर खेलाडीका रुपमा समेत परिचित छन् भने उनको अझै नजिकको परिचय खोज्दा प्रगतिशील विचार धारा र कम्युनिष्ट सिद्धान्तसंग निकट उनले पुर्वीय नीति सिद्धान्त मान्दैनन् तर तिनै दर्शन कै पक्षमा रहेर खेल खेल्ने राजनैतिक चरित्र भने अवस्य हुन् । किनकी उनले ‘साप पनि मरोस् लठ्ठी पनि नभाँचियोस’को सिद्धान्त पुर्णतः पालना गर्छन् । उनी सधैं जसो मीठो भाषण गरेर उपस्थित जनतालाई आफ्नो बोलीमा केन्द्रित गराउन सामथ्र्यवान् हुन्छन् । किन कि उनले बोलेका बुलन्द स्वर एवं गुन्जित ध्वनिले जस्तोसुकै विचार धाराको मानिसलाई पनि यो सत्य हो । यिनले बोलेको असत्य हुन सक्दैन भन्ने पार्छन् ।

उनले हस्यौली शैली पटक्कै प्रयोग गर्दैनन् परन्तु मसिना विषयवस्तुलाई जटिलतम भाषाको माध्यमले सैद्धान्तिक बनाउन सक्छन् । त्यसैगरी आफ्नै अगाडिको शत्रुलाई एक हेराइमा मित्र र अगाडि कै परम् मित्रलाई क्षण भरमा शत्रु बनाउने तागत उनको शैलीमा प्रष्टै छ । किन कि उनले आफूले खुट्टा अड्याउने अखेटो पाएसम्म अघिपछि कस्सैलाई हेर्दैनन् । पटक पटकको निर्वाचन र राज्य शक्तिको बाँडफाँडमा उनले सक्रिय सहभागिता जनाउँदै आएका छन् । ‘दिए देउ नदिए खोस्छु’ भन्या झै पाइन्छ लिन्छन् पाइदैन जुन कुनै हालतले आफ्नो पक्षमा पार्ने दाउमा उचित समय पर्खिन्छन् । हाम्रो नीति बोल्छ । शत्रु सिद्ध्याउनु परेमा ‘पहिले मिल्नु मिली सकेपछि निल्नु’ हो यो नीति दाहालको पुख्र्यौली नीति जस्तो लाग्छ । उनले आफ्नो अन्तस्करणदेखि नै पृष्ठपोषण पाए झै यो नीतिको पनि पुर्ण रुपमा आत्मसात् गर्दछन् । उनले यो नीतिलाई सफलीभुत पार्न हर समय अवसरको खोजीमा रहन्छन् । हर समय आफू सत्ता सम्पन्न बन्ने लक्ष्यलाई आत्मसाथ गर्ने उनले निरन्तर संघर्षको मैदानलाई दृष्टिगत गरिरहेका हुन्छन् । आफ्नो बाहुबलमा शक्ति भएपनि उनी लड्छन् नभए पनि लड्छन यस्को सहि उदाहरण आज र आज पुर्वको उनको शक्ति र सामथ्र्य हो । पहिले शक्तिले भ्याएसम्म सत्तामा पुगेका थिए । अहिले कुटनितीले भ्याएसम्म सत्तामा पुगिरहेका छन् । तर, बोलीमा सदासर्वदा राष्ट्रभक्ती नै छ ।

भुमिगत जीवनदेखि दरबारसम्म उहीँ अभिव्यक्ति लिएर शासन गर्ने उनले कहिल्यै जनताको भलोका लागि पाइला चलाएनन्, उनले कहिल्यै भोकानाङ्गा जनतालाई देखेनन्, देखे त केवल भात खाएर मोटाएका सुकिला टोपी र जुत्ता लाउने सामन्तहरु देखे तर, तिनै सामन्तको सम्पत्ति खोसेर सर्वहाराको नेता बन्ने सपना देखेका उनले आफू नेता बनेपछि कवि शिरोमणि लेखनाथ पौडेलले भन्या झै ‘म खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ, म हासुँ मै नाचुँ अरु सब मरुन दुर्बलहरु’ भन्ने विचारहरुलाई ठ्याक्कै आलिङ्गन गर्न पुगे । उनले एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार परित्याग गरेपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पश्चात् सरकार विस्तार गर्ने भनी सार्वभौम अधिकार सम्पन्न हामी नेपालीलाई एउटै व्यक्तिले प्रधानदेखि, गृह, अर्थ, उर्जा, रक्षा, परराष्ट्र, स्वास्थ, शिक्षा, कृषि, भुमी ब्यवस्था, शहरी विकास, महिला, उद्योगसम्मका मन्त्रालय सम्हालेर देशलाई आफुमा निहित बनाउँदै आएका छन् । राजनीति गर्ने नाममा गरिखाने वर्गको नेतृत्व गरेर देशको मुहार फेर्ने संकल्प लिएका क्रान्तिकारी र प्रगतिशील नेताले के यसरी नै देशलाई बिना निकास अल्झ्याइरहनु ठिक हो ? कि उपयुक्त निकास दिएर देशलाई जनयुद्धको मर्म अनुरूपको बाटोमा हिंडाउने ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->