पेल्मामा अझै मोटर बाटो पुगेको छैन । बाग्लुङको ढोरपाटन कि रुकुम पूर्वको तकसेराबाट रासनपानी ओसार्नु पर्ने बाध्यता अझै छ । ढोरपाटनको बाटो पेल्मा जोड्न ढोरपाटन शिकार आरक्ष तगारो बनेको छ ।
मैले सुनाउन लागेको गाउँलाई अझै सडक सञ्जालले जोडेको छैन । फोनमा कुराकानी गर्न एक घण्टाको बाटो उक्लेर डाँडामा उभिनुपर्छ । जहाँ आक्कलझुक्कल मात्र फोनले सिग्नल टिप्छ ।यस गाउँमादुई दिन लगाएर खच्चरले ओसारेको रासनपानी छोइनसक्नु छ । योडोल्पा वा हुम्लाको कुनै विकट गाउँ भने हैन । आज म तपाईहरुलाई रुकुम पूर्वको पेल्मा गाउँ लाने छु ।
बागलुङको ढोरपाटनबाट कस्सिएर हिँडे एक दिनको बाटो हो रुकुमको ठाकुरसम्म। ढोरपाटन मास्तिरको करिब चार हजार मिटरको फागुने धुरी कटेरओरालो बाटो लागिन्छ । अनि पुगिन्छ सम्म भूभागमा अवस्थित रुकुमको ठाकुर ।
बर्खा लागेसँगै ढोरपाटनबाट गाईवस्तु धपाएर गोठालाहरु यहाँ आएरगोठ बसाएका हुन्छन् । गाईवस्तुका चरणलाई मध्यनजर गर्दै तीन महिनामा तीन पटक गोठ सार्छन् । कम्ता झन्झटिलो हुँदो हो यो काम । जाडो पलाउनु अगावै उनीहरु असोज महिनामा मात्र ढोरपाटन फर्कन्छन् । यहाँको वनजंगलमा चरण गराएबापत हरेक गाईवस्तुको महंगो दस्तुर तिर्न उनीहरु बाध्य छन् । बाटामा भेटिएका गोठालाहरुआफ्ना पीडा पोख्छन् ।
भदौ महिना । ठाकुर खोला बेतोडले बत्तिरहेको थियो । रातभरको वर्षाले खोलाको भेल उर्लदो थियो । म खोला माथिको साँघुरो काठे साँघु तरेर पारि पुगेँ । त्यहाँ एउटा होटल छ भन्ने जानकारी मैले ढोरपाटनमा पाएको थिएँ ।
गाई दुहुँदै गरेका एक जना अधबैंशे पुरुष आँगनमै थिए । नजिकैको ढुंगामाथि झोला बिसाएर म उनीतिरै लम्किएँ । उनले मलाई चिनेको भावमा मुस्कानसहित नमस्कार गरेँ । मैलेअलमलमै नमस्कार फर्काए ।
कुरा फुकाउँदै जाँदा उनले हामी एक वर्षअघि ढोरपाटनमा भेटेको क्षण सम्झाइदिए । बल्ल मलाई त्यो भेट सम्झना आयो । ढोरपाटनमा शिकारका लागि आएका विदेशीको भरिया बनेर उनी त्यसबेला दुई हप्ताका लागि ढोरपाटन शिकार आरक्षको घुस्तुङ ब्लकका लागि हिँडेका थिए ।
नाम उनको काले बूढा । ५३ वर्षीय उनको घर रुकुम पूर्वको पेल्मा गाउँ हो । ढोरपाटन – ठाकुर – पेल्मा – मैकोटको बाटो उनले कैयौं पटक पैतालामा नापिसकेका थिए । कहिले खच्चर धपाउँदै त कहिलेपिठ्युँमा भारी बोकेरयो बाटो ओहोरदोहोर गरिरहे ।पहिला पहिला यो बाटो विदेशीहरु खुब हिँड्थे । ढोरपाटनबाट डोल्पा छिचोल्ने पर्यटकको राम्रै चहलपहल हुन्थ्यो । ढोरपाटनबाट हिँडेका पर्यटकहरु एक रात यहीँ ठाउँमा बास बस्थे । अनि मात्र अर्को दिन पेल्मा गाउँ पुग्थे ।
केही वर्ष अघिसम्म यो बाटोमा पर्यटकको चलायमान राम्रै थियो । त्यसैले पाँच वर्ष अघि उनले ऋण काढेरै यो होटल किनेका थिए । कोरोना महामारीसँगै सुस्ताएको पर्यटन अझै तङिग्रएको छैन । डोल्पा घुम्न आउने पर्यटकहरु आजकाल सिधै नेपालगंजबाट डोल्पाको जुफाल एयरपोर्ट पुग्छन् । यो बाटो फाट्टफुट्ट हिड्ने पर्यटकबाट के को कमाइ हुने, उनले गुनासो पोखे ।
……
खुरुखुरु हिँडे यहाँबाट पाँच÷छ घण्टामा मेरो गाउँ पेल्मापुग्छौ, उनले भने । बिहानको दस बजिसकेको थियो । पेल्मा गाउँ नपुञ्जेल बाटामा कुनै बस्तीहरु थिएनन् । जंगल र भीर पहराको बाटो एक्लै नहिँड्न मलाई धेरैले सुझाएका थिए तर म एक्लै गुरिल्ला पदयात्रामा निस्किएको अठार दिन भइसकेको थियो । बीच बाटैमा यात्रालाई बिट मारेर सहर फर्किन मनले मानेन । काले बुढासँग बिदा भएर म लम्किएँ,उनकै गाउँ पेल्मातिर ।
फाँट छोडेरबाटो जंगलतिर सोझियो । बडेमानका गोब्रे सल्लाका रुखहरु ठिड्ग उभिएका मूर्तिहरु झै लाग्थे । कलकल बग्ने खोला, असंख्य झरनाहरु र चराहरुको चिरबिर आवाजले यात्रा रोमाञ्चित बनेको थियो । ठाकुर खोला र घुस्तुङ खोला मिसिएपछि भने खोलाको गर्जन चर्को सुनिन थाल्यो । यही खोलालाई देब्रे पारेर म उकालो र ओरालो बाटो पछ्याउँदै अघि बढेँ ।
मान्छेले नै गैंची बेल्चा र घनले चट्टान फोरेर बनेको गोरेटो हो यो, बाटोमा भेटेका एक जनाले सुनाए । रासन बोकेका खच्चरहरु यही बाटो पेल्मा पुग्थे । पेल्माबासीलाई नजिकैको बजार बुर्तिबाङ ओहोरदोहोर गर्ने बाटो यही थियो । बाटामा कोही काखमा बच्चा च्यापेर त कोही पिठ्यूँमा सामान बोकेर ढोरपाटन लम्किदै थिए । मोटर बाटो नजोडिएकाले दुई दिनको भीर पहराको सकसपूर्ण बाटो हिँडेर उनीहरु बजार पुग्न बाध्य थिए ।
……..
पेल्माको तीरैतीर, यामखारा भीरैभीर,
भेटै हौँला मैकोट शिरैशिर ।
चर्चित नेपथ्य ब्यान्डका भोकलिस्ट अमृत गुरुङले गाएको यो गीत बाटाभर गुनगुनाउदै हिँडेँ । कहिले भीरैभीर त कहिले पहिरोको बाटो दिनभर हिँडिरहेँ । चार बजे मेरा पैतालाले पेल्मामाथिको डाँडा पु¥यायो । तल फेदमा रहेको गाउँ अझै देखिएको थिएन तर पारि देखिएको दृश्य भने पत्यार लाउने खालको थिएन ।
अजंगको भीरै भीरमा साँघुरो र मसिनो गोरेटो बाटो । खुट्टा पनि बडा मुस्किलले अडिएला जस्तो । अड्कल लगाए गुनगुनाएको गीतको यामखारा भीर यही हुनुपर्छ । भोलि यहीँ बाटो मैकोट सोझिनुपर्छ भनेर थाहा पाउँदा म झस्किएँ ।
लगानी धेरै तर पाएनन् अर्गानिक स्याउले बजारः
गाउँको शिरैमा स्याउ फार्म थियो । रस भरिएका स्याउहरु देख्दा मात्र हैन, चाख्दा पनि मुस्ताङको स्याउलाई मात लाग्ने खालका थिए । तिर्खाएको मैले स्याउ टोकेर प्यास मेटाएँ। लटरम्म फलेका स्याउ देखेपछि मैले फार्मका प्रोप्राइटर सुनिता बुढालाई प्रश्न तेस्र्याएँ। यी स्याउहरुलाई कसरी बिक्री वितरण गर्नुहुन्छ ? उनले भनिन्, ‘हाम्रो पेल्मा गाउँ स्याउ खेतीका लागि एक उपयुक्त ठाउँ हो । मैले पनि यो स्याउ फार्म सञ्चालन गरेको सात वर्ष बितिसक्यो । उत्पादन राम्रो छ तर यातायातको सुविधा नभएकाले उत्पादित स्याउले बजार पाउँदैनन् । कति स्याउ यहीँ कुहिन्छन् त कति महंगो ढुवानीमा खच्चरमा ढोरपाटन पु¥याइन्छ ।’
पुथा उत्तरगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा तकसेरा, हुकाम र पेल्मा गाउँलाई स्याउ पकेट क्षेत्र घोषणा गर्दै २०÷२० लाख बजेट विनियोजना पनि गरेको थियो तर कोरोना महामारीले यो योजना त्यति सफल भएन । भारतीय स्याउले बजार पाउँदा यहाँका अर्गानिक स्याउ भने बोटमै कुहिन बाध्य छ । गाउँ नपुग्दै पेल्माबासीको दुःखले मलाई न्यास्रो बनायो ।
बास मागेर काटेको त्यो रातः
पन्ध्र मिनेटमा हिँडाइमा लमतन्न फिजारिएको गाउँ देखियो । निला जस्ताले छाएका घरहरु आकर्षक देखिन्थे । कोही खेतबाट त कोही गाईवस्तु धपाउँदै घर फर्कदै थिए । विगतमा सञ्चालनमा रहेका यहाँका होटलहरु अहिले बन्द थिए । त्यसैले कतै न कतै बास माग्नुपर्छ भन्ने मनस्थिति मैले तयार पारिसकेको थिए ँ।
साँघुरो बाटोलाई पछ्याएर म मूल गाउँमा पुगेँ । एक घरको माथिल्लो तलामा एक जना वृद्ध थिए । उनीसँग बात मार्न म लिस्नो चढेर माथिल्लो तलामा पुगेँ । ६६ वर्षीय पुण्यप्रसाद पुन फरासिला र हँसिला थिए । उस्तै खुलेर बोल्ने । विगतको द्वन्द्वकालदेखि वर्तमान अवस्थासम्म पेल्माले भोगेका समस्याहरु उनकै अनुभवमार्फत् सुनेँ । साँझ छिप्पिँदे थियो । मैले उनकै घरमा बास मागेँ । उनले सहर्ष स्वीकारे ।
महंगीको मारमा पेल्माबासीः
पेल्मामा अझै मोटर बाटो पुगेको छैन । बाग्लुङको ढोरपाटन कि रुकुम पूर्वको तकसेराबाट रासनपानी ओसार्नु पर्ने बाध्यता अझै छ । ढोरपाटनको बाटो पेल्मा जोड्न ढोरपाटन शिकार आरक्ष तगारो बनेको पुण्यप्रसादको भनाइ थियो, उनी थप्छन्, ‘जीवजन्तुको संरक्षणको नाममा हामी जनताहरु माथि आरक्षले अत्याचार र अन्याय गरेको छ । न हामीले आवश्यक दाउरा घाँस निर्वाद रुपले प्रयोग गर्न पाएका छौं न हाम्रो गाउँ जोड्ने बाटो नै खुलाएको छ । जीवजन्तुको संरक्षण गर्नु राम्रो हो तर हामीलाई नै मारेर जीवजन्तुको संरक्षण गर्नुको कुनै अर्थ छैन ।’
यता रुकुम पूर्वको तकसेरा, मैकोट हुँदै पेल्मा जोड्ने सडकको योजना अझै कागजमै सीमित छ । सडकले गाउँ नजोडिए पछि गाउँलेहरु आफैँले भीर फोरेर गोरेटो बाटो बनाएको तितो यथार्थता उनी सुनाउँछन् ।
बजारका सामानहरु छोइनसक्नु छ गाउँमा । बुर्तिबाङमा १८ सय पर्ने एक बोरा चामललाई ३ हजार तिर्न गाउँलेहरु बाध्य छन् । चिनी, तेल, साबुनजस्ता हरेक सामानको मूल्य बजारको मूल्यभन्दा दोब्बरबढी छ । महंगो मूल्यमा शिक्षणका सामग्रीहरु : सिसाकलम, कापी र पुस्तक किन्न विद्यार्थीहरु विवश छन् ।
शिक्षा र स्वास्थ्यमा अझै पछि पेल्माः
गाउँमा एक मात्र विद्यालय छ । कक्षा ८ सम्म मात्र पढाइ हुने यस विद्यालयको गुणस्तर खस्कदो छ । थप पढ्ने रहर भएकाहरु कोही मैकोट त कोही तकसेरामा बसेर पढ्न् बाध्य छन् । गाउँमै दश कक्षासम्म पढाइको व्यवस्था भए धेरैले पढाइ नछाडी दस पास गर्थे कि ? धेरैको एउटै स्वर थियो ।
गाउँमा अझै सुविधासम्पन्न स्वास्थ्य चौकीसम्म छैन । अकस्मात केही गम्भीर स्वास्थ्य समस्या आइपरे मान्छेले बोकाएरै दुई दिन लगाएर ढोरपाटन कि तकसेरा पु¥याउनुपर्छ ।उपचारका लागि लग्दै गर्दा कतिले त बाटैमा ज्यान गुमाएका तीता घटनाहरु छन् ।
सुस्तायो पर्यटक, बन्दा भए होटलहरुः
माओवादी द्वन्द्वकाल अघि क्याम्पिङ ट्रेक उत्कर्षमा पुगेको थियो । ढोरपाटनबाट हिँडेका पर्यटकहरु पेल्मा, मैकोट हुँदै हप्ता दिन लगाएर डोल्पा निस्किन्थे । केही दशक अघि गाउँको चौरभरि रंगीचंगी त्रिपाल टाँगेर पर्यटकहरु बस्थे । केटाकेटीलाई चकलेट त बुढाबुढीलाई औषधी बाँड्थे । पछिल्लो समय भने पर्यटकको चाप ह्वात्तै घटेको छ । पर्यटकका लागि खोलिएका होटल र टि हाउसहरु बन्द भए । पर्यटनबाट हुने अलि अलि आम्दानीको स्रोत पनि सुकेको छ ।
गुरिल्ला पदमार्गः हल्ला धेरै, काम शून्यः
माओवादी द्वन्द्वकालमा ग्रसित एक ठाउँ हो पेल्मा गाउँ । माओवादी र नेपाली सेनाको चपेटामा पेल्माबासीहरु परेका थिए । कतिले आफन्ती गुमाए त कतिले घरखेत । उनीहरुको त्याग, योगदान र बलिदानको कुनै हिसाबकिताब छैन ।
द्वन्द्वकालमा माओवादी छापामार हिँडेको बाटोलाई ब्रान्डिङ गर्ने हेतुले परिकल्पना गरिएको मार्ग हो, गुरिल्ला पदमार्ग । म्याग्दी, बाग्लुङ, रुकुम र रोल्पाका विभिन्न भूभागलाई समेटेर तयार पारेको पदमार्गले यो गाउँलाई समेत छुन्छ तर हल्ला जति धेरै भएपनि काम भने शून्य नै देखिन्छ । न पर्याप्त बाटाघाटाहरु बनेका छन् न व्यवस्थित होटल वा घरबास नै ।
सशस्त्र युद्धका बेलायो गाउँ माओवादीको अखडा बन्यो । बेनी आक्रमण, दुनै आक्रमण ताका पेल्मा र पेल्माबासीको योगदान व्यापक थियो । मिठामिठा सपना बाँडेर युद्ध चर्काउनेहरु अहिले सत्तामा छन् तर युद्धभूमि र युद्धमा होमिएका पेल्माबासीलाई उनीहरुले सम्झन जरुरी ठानेनन् । बाँडेका सपनाहरु सपनामै सीमित बने ।
उमेरले ६६ पुगिसकेका पुण्य प्रसादको एउटै सपना थियो, गाउँमा मोटर गाडी आएको हेर्ने । बाल्यकालमा देखेको मोटर गाडीको सपना बुढेसकालसम्म आइपुग्दासमेत पूरा भएन । अब त उनले आश पनि मारिसकेका छन् ।ठूल्ठुला विकासका एजेन्डाहरु मागेका थिएनन् उनीहरुले । केवल मागेका थिए,गाउँ जोडिने मोटर बाटो र मानव जोड्नेसञ्चार सुविधा । तर बहिरो बनेको सरकारले पेल्माबासीकामागहरुकहिल्यै सुनेनन् । सुन्न जरुरी ठानेनन् ।
पेलिएका पेल्माबासीले कहिले राहत पाउँलान् ?अझै एकिन छैन । ढिलो चाडो सरकारको आँखा खुलोस् । पुण्य प्रसाद गाडीमै सरर सदरमुकाम पुगेको खबर छिट्टै सुन्न पाइयोस् ।





