बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा खुला आकासमा छाडिएका गिद्ध मरे

नवलपुरमा खुला आकासमा छाडिएका गिद्ध मरे

विषाक्त सिनो खाएको आशंका ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०७९, सोमबार

नवलपुर/कावासोतीमा ६ वटा गिद्ध मरेका छन् । विषाक्त सिनोलाई आहारा बनाउँदा ति गिद्ध मरेका हुन्। पछिल्लो विवरण अनुसार ६ वटा गिद्ध मरेका हुन् भने ४ वटा विरामी छन् । विरामी गिद्धको जटायु रेष्टुरेण्टको संरक्षण केन्द्रमा उपचार भैरहेको छ ।

कावासोतीको केरुङ्गे खोलासँगै रहेको अंकुर र ज्योतिकुञ्ज सामुदायिक वन क्षेत्रको बीचमा रहेको खोलाको बगरमा गिद्ध मृत र विरामी परेका हुन् । वनमा ३ वटा स्यालको सिनो फेला परेको छ । ती स्याललाई कसैले आहारामै विष मिलाएर खुवाउँदा मरेका हुनसक्ने अनुमान छ । त्यही विषाक्त सिनो खाँदा गिद्ध प्रभावित भएका हुन् । जटायु रेष्टुरेष्ट ब्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिवी चौधरीका अनुसार एउटा हिमाली गिद्ध र ५ वटा डंगर जातका गिद्ध मृत भेटिएका छन् । विरामी अवस्थाका गिद्ध समेत डंगर जातका हुन् । यो जातको गिद्ध संकटापन्न लोपोन्मुख सुचीमा छ ।

विषादीको प्रभावमा थप गिद्ध परेका हुनसक्ने अनुमान छ । सो क्षेत्र वरपर रहेका गिद्धको पहिचान खोजी र समात्ने प्रयास जारी छ । प्रारम्भिक खोज उद्दारमा ५ वटा मृत र ६ वटा बिरामी अवस्थाका भेटिएकोमा करीव १ किलोमिटर दक्षिणतर्फ हाईवेको पुल नजिकै अर्को एउटा गिद्ध मरेको पाइएको हो । छ वटा बिरामी अवस्थामा रहेकामध्ये उपचारपछि २ वटा उँडे भने ४ वटालाई उपचारका निम्ति जटायु पठाईएको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले जानकारी गराए ।

डिभिजन वन कार्यालय, पशु तथा भेटेरेनरीविज्ञ, नेपाली सेना, प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाल वन्यजन्तु संरक्षण संघ, वडा, जटायुलगायतका निकायबाट प्राविधिक एवं प्रतिनिधि थप उद्धारका गतिविधिमा खटिएका छन् । गएको शनिबारमात्रै भव्य समारोहका बीच कावासोतीको पिठौलीस्थित जटायु रेष्टुरेष्टबाट १० वटा गिद्ध खुला आकासमा छाडिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->