बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पूर्वपश्चिम मुख्यमार्ग स्तरोन्नति कछुवा गतिमा

पूर्वपश्चिम मुख्यमार्ग स्तरोन्नति कछुवा गतिमा

कावासोतीबाट कालोपत्रे सुरु, थपिएको म्यादमा पनि काम सकिनेमा सन्देह ।


  • खगेन्द्र पराजुली
  • चैत्र ५ २०७९, आइतबार

नवलपुर/ स्तरोन्नतिका क्रममै रहेको पूर्व पश्चिम मुख्यमार्गअन्तर्गत खण्ड क मा कावासोतीबाट पिच सुरु भएको छ । निर्माण कम्पनीले कावासोती–लोकाहा जंगलक्षेत्रबाट प्रारम्भिक चरणको कालोपत्रे थालनी गरेको हो । नारायणघाटदेखि दाउन्नेसम्मको ६४ किलोमिटर क्षेत्र खण्ड क मा पर्दछ । नवलपुरको हाइवे कनेक्टिभिटीका रुपमा समेत रहेको यस खण्डको ४ किलोमिटर जंगल क्षेत्रको काम पूरा सक्नेगरी कालोपत्रे थालिएको निर्माण कम्पनीका कर्मचारी बताउँछन् ।

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका प्रोजेक्ट कन्सल्ट्याण्ट राकेश झाका अनुसार सुरुमा कावासोतीको फलफूल चोक पूर्व डिभिजन वन कार्यालय नजिकैको कल्भर्ट (सानो पुल)देखि पश्चिममा लोकाहा पुलसम्मको कालोपत्रे भ्याउने लक्ष्य छ ।

यहाँ बेस, ओभरपास, साना–मझौला पुल समेतको काम करीव–करीव सम्पन्न भएकाले छिटो–छरितो कालोपत्रे सकिने झाले बताए । बन क्षेत्रमा ४ लेनको सडक हुने भएकाले पहिला एकतर्फी दुई लेन सम्पन्न गर्नेगरी काम भएको उनले बताए । झा भन्छन्,‘सडकको उत्तरतर्फबाट कालोपत्रे थालिएको छ । पहिलो चरणमा ६ सेन्टिमिटरको पिच गरिएको छ त्यसपछि ४ सेन्टिमिटरको कालोपत्रे थपिनेछ । यहाँ कालोपत्रे गर्नुभन्दा पहिलाका सवै पूर्वाधारका काम भईसकेकाले कामलाई छिटो छरितो गर्न सहज छ ।’

डिभाइडरदेखि दायाँ–बायाँ साढे सात मिटर फराकिलो पिच गरिने झा बताउँछन् । अहिले एकातर्फको दुई लेनको साढे सात मिटर चौडा सडकको काम भैरहेको र अहिलेसम्म ७ सय मिटर पिच भएको जनाइएको छ ।

बस्ती बजार क्षेत्रमा ६ लेन, जंगल क्षेत्रमा ४ लेन र दाउन्ने पहाड क्षेत्रमा ३ लेन मापदण्डमा सडक स्तरोन्नति हुने सम्झौता छ । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको चौराहाबाट शिलान्यास गरेका थिए ।

बयालीस महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि २०७५ माघमा सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०७९ साउन २२ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि सरकारले गत साउनको २३ गतेदेखि लागू हुने गरी तीन–तीन महिनामा आयोजनाको भौतिक प्रगतिको मूल्याङ्कन गरिने र प्रगति त्रैमासिक रूपमा कम्तीमा १० प्रतिशत हुनुपर्ने शर्तसहित तीन सय ८६ दिनका लागि आयोजनाको म्याद थपेको थियो । अहिलेससम्म आयोजनाको भौतिक प्रगति २६ प्रतिसत मात्रै छ ।

यो सडक निर्माणका लागि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोग छ । कुल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्ग विस्तारको कार्य भइरहेको छ । एडिबीले एक दशमलव पाँच डेढ प्रतिशत ब्याजदरमा ऋण लगानी गरेको छ । ऋण चुक्ताको अवधि ३२ वर्ष छ । ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको हो भने बाँकी सरकारकै लगानी रहेको छ ।

कामलाई तीव्रता दिन दवाव

कछुवा गतिमा काम भएको आरोप खेपिरहेको चाइना स्टेट कर्पोरेसनलाई पछिल्लो दुई साता तिव्र दवाव परेको थियो । सरकारका उपप्रधान तथा भौतक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, सांसद डा. शशांक कोइरालाको प्रतिक्रियादेखि स्थानीयको विरोध प्रदर्शन समेतले आयोजनाको निर्माण कम्पनीलाई दवाव परेको हो ।

छुट्टाछुट्टै कार्यक्रममा नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुन आएका मन्त्री श्रेष्ठ र सांसद कोइरालालाई स्थानीय नेता–कार्यकर्तादेखि सञ्चारकर्मी समेतले अन्तर्राष्ट्रिय कनेक्टिभिटिीको सडकको दयनीय अवस्था, यात्रुले बेहोर्नुपरेको सास्ती र जोखिम, सडक छेउछाउका घर–बस्ती र मानिसहरुमा स्वास्थ्यमा परेको असर एवं पर्यावरणीय प्रदुषणका बारेमा आक्रोशपूर्ण चिन्ता व्यक्त गरेका थिए । स्थानीयलाई आश्वस्त पार्ने क्रममा दुवै माननीयले सम्झौता तोड्न सक्नेसम्मको प्रक्रिया थाल्नुपर्ने भए त्यो कदम लिन सक्ने सम्म सचेत गराईने आश्वासन दिएका थिए ।

यस्तै, गैंडाकोट र डण्डामा स्थानीयहरुले स्वतस्फुर्त रुपमा दवावस्वरुप कालो–ब्यानरसहित नारावाजी र केही घण्टा सडक अवरुद्ध गरेरै विरोध प्रर्दशन गरेका थिए ।

अहिले पनि सडक आयोजनाले गरेको काम र प्रगति हेर्दा समयमै काम सकिनेमा सन्देह नै छ । थपिएको म्याद अनुसार आगामी भदौमा सक्नुपर्ने कामको स्थिति हेर्दा र अहिले गरेको पीचकै गति हेर्दा पनि काम सक्न मुस्किल रहेको आयोजनाभन्दा बाहिरका प्राविधिक बताउँछन् । देवचुली १ स्थायी घर भएका ईन्जिनियर प्रकाश काफ्लेका अनुसार आयोजनालाई ५ सय मिटर त्यो पनि एकतर्फी बाटो कालोपत्रे गर्न एक दिन लागेपछि जंगल क्षेत्रकै ४ किलोमिटर मात्रै कालोपत्रे सम्पन्न गर्न जेठ १५ भन्दा अगाडी नसक्ने बताउँछन् । आयोजना कम्पनीले भने चैतको मसान्तभित्रै सक्ने दावी गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->