मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

२०२९ अगाडिको अमलाचौरको जनजीवन

२०२९ अगाडिको अमलाचौरको जनजीवन


  • माधव चापागाईं
  • चैत्र ५ २०७९, आइतबार

एकाइसौं शताब्दीको युगमा पनि परम्परागत जीवनयापन र पुख्र्यौली शैलीको अनुकरणमा रमाएको गाउँ अमलाचौर हो । यो गाउँ बागलुङ जिल्लाको दक्षिणी भेगमा पर्ने बागलुङ नगरपालिकाकै सदस्य वडा हो । वर्तमानमा नगरपालिका भएर रुपान्तरणको बाटो समाए पनि अघिल्लो वंशले कुन रुपमा जीवन काटीरहेका थिए भन्ने सबैको चासो, गुनासो र प्रेरणालाई म यहाँ मेटाउने प्रयत्न गरिरहेको छु । बा.न.पा १२ अमलाचौरले आजको मितिसम्म आइपुग्दा के कति संघर्ष गर्यो । यहाँ बसोबास गर्ने मानिसले के कति संघर्ष गरे । त्यसको चिरफारपुर्ण कथा यसरी उद्घोष गर्न सकिन्छ ।

घडीको अभाव बिहान अन्दाजी समयको भर उठ्यो, अँध्यारोमा आनुभविक काम ग¥यो । चिसो मौसममा रित्ता खुट्टा खेत/बारी, घर/गोठ, चुलो/चौको, बनपात र ढिकीजातो गर्नु यहाँका नारीहरुको दैनिकी थियो । पानी लिन कोशौं टाढा पुग्नुपर्ने उनीहरु घाँस दाउरा गर्न करिब ३/४ घण्टाको दूरी पार गर्थे । जीवनभरीमा ८/१० ओटा सन्तानलाई जन्म दिएर यो संसार देखाउने महिलाहरुले आफ्नो जीवनकालको एक तृतीयांश उमेर छोराछोरी जन्माउने र हुर्काउने काममा बिताउँथ्ये । भौगोलिक रुपकै कुरा गर्दा यहाँका मानिस भैरवस्थानदेखि पारिपट्टी अर्थात् ढाढा, खौर, मौरीभिर र रामतलासम्म दैनिक कामका लागि पुग्थ्ये । लोग्ने मानिसहरू हिउँदमा घरगोठ छाउने, गाइवस्तु चराउने, व्यापारको लागि बुटवल, सेतीदोभान र पोखरा पुग्ने गर्थे । घरमा दर्जनौं लालाबालाको पालनपोषण अभय वस्तु संरक्षण र आफ्नो दैनिकी महिलाले धान्थे भने पुरुषहरू महिनौं दिनको हिंडाइमा छोराछोरीको खुशी स्वरुप २/४ रुपैयाँ कमाउँथे । क्षेत्रगत एवं गाँउले परिवेश अनुसार अमलाचौरको गौदी, थाराघर र धौलेचौरका स्थायी जनताहरुको जीवन यथार्थ यसरी प्रस्तुत छ ।

यहाँका करिब ५ दशक अगाडिका रहनसहन र जीविकोपार्जन बढो अनौठाका थिए । जस्मा यहाँका मानिसहरू आफ्ना परिवारका लागि आवश्यक सामान लिन गाउँदेखि बुटवल, पोखरा र सेतिदोभानसम्म खाली खुट्टा पैदल हिंडेर पुग्थे । हामी वर्तमानको प्रविधिले पुर्ण समयमा रमाएका मानिसलाई आफ्नै बाबाआमाले भोगेको जीवन कहानी सुन्दा र पढ्दा समेत आश्चर्य लाग्छ । नलागोस् पनि कसरी हामी खाली खुट्टा हिंड्न जान्दैनौ, घडी, मोबाइल, नेट इन्टरनेट र सवारी साधन बिनाको जीवन कल्पना गर्न समेत सक्दैनौं । त्यसैले हामी भाग्यमानी हौं या उहाँहरु अभागी हुनुहुन्थ्यो पत्तै भएन । आफ्नो जिम्मेवारी पुरा गर्न शरीरमा एक सरो कोराको कछाड, ठाडो भोटो अर्थात् पेटाङ्गे नामले परिचित भोटो, ५÷७ ठाँउमा टालेको खद्दरको अस्कोट, नैनासुटको टोपी लगाएर बुटवल, पोखरा, चितवन र काठमाण्डौंसम्म पुग्ने जनशक्ति यहाँ थियो । कालान्तरमा मिठै कथा हुन सक्ने यो जीवनशैली र रहनसहनले नेपाली जनजीवनको आभास अवस्य दिनेछ । हो यस्ता पौरखी मानिसको माया पाएको ठाउँ बागलुङ जिल्ला साविक अमलाचौर गाविस वडा नं. ६ र ७ हो । वर्तमानमा सुन्दै अनौठो लाग्ने काम, गाउँमा उत्पादीत सामाग्री र गाइवस्तुको मूल्य, जग्गा जमिन अनि पेशा व्यवसायका साथै उनीहरुका रहनसहन र व्यवहारले सबैलाई अनौठो अनुभूति गराउँछन् नै ।

बटौलीलाई व्यापारीक केन्द्र मान्ने उनीहरुले बागलुङको दक्षिणी भेग दमेक, हुग्दिशिर, पैयुथन्थाप, पाही, कालापात्ला, बिज्जुवा जस्ता ठाउँहरुबाट ४ रुपैयाँ माना घ्यू किनेर ४ दिनको यात्रामा बटौली पुर्याउँथे । १५÷२० माना घ्यू बोकेर कहिले पोखरा त कहिले बुटवल पुग्ने उनीहरुले मानामा १ रुपैयाँ फाइदा हुने आशाले चार दिनको बाटोको यात्रा निक्र्याैल गर्थे । झिसमिसे उज्यालोमा अमलाचौरदेखि जैमिनी घाटको काठको पुल तरेर पर्वतको फलेवास, कुर्घाको पुछार, सिर्काङ, कर्नासको फाँटहुँदै पर्वतको पल्लोछेउ बाच्छा विहादीमा सजिलै पुगेर बास बस्थे ।

दोस्रो दिन उज्यालो नपर्खी पर्वतको सिमाना कटेका उनीहरु स्याङ्जाको पुर्तिघाटबाट मिर्मिभन्दा केही पर, विर्घामा पुग्दा त्यो दिनको यात्रा सम्पन्न भएको खुशियाली मनाउँथे । जेनतेन आफ्नो गन्तव्य नजिक पुगेका उनीहरु पाल्पाको तानसेन, व्रतनहुँदै तिनहुँ खोलाको आसपासमा तेस्रो रात काटेर चौथो दिन बटौली पुग्थे । व्यापारीक हिसाबले चुरोट र व्यवहारिक हिसाबले घरायसी सामान नुन, तेल, लत्ताकपडा, सावन आदि ल्याउँथे । एक रुपैयाँमा चार वटा साबन किन्ने उनीहरुले वर्ष दिनलाई आवश्यक पर्ने सामग्री एकै पटकमा ल्याउँने गरेको प्रत्यक्षदर्शी बताउँछन् । यसरी बुटवल जानेमा स्वर्गीय हरिप्रसाद पाध्या, चन्द्रदत्त पाध्या, पदमपाणी पाध्या जो पारिवारिक सामाग्री लिने दौरान बटौली गएर सामान खरिद गरि घर फर्किने क्रममा छिस्ती भन्ने ठाउँमा गर्मीका कारण जीवनको अन्तिम श्वास फेरेका थिए । हो त्यहीं समुहमा बा.न.पा १२ का वर्तमान वडाध्यक्ष कोपिलामणि चापागाईंका बाबू स्व. नन्दलाल पाध्या समेत थिए । यसरी अमलाचौरदेखि जाँदा र आउँदा करिब दस दिनको यात्रामा चुरोटको किनबेचबाट जम्मा १० रुपैयाँ फाइदा गर्ने उनीहरुको यो समयमा मंसिरदेखि फागुनसम्म बुटवल र घर गरेर १२० रुपैयाँ कमाउँथे भने त्यहीं रकमबाट पारिवारिक रुपमा जन्मदेखि मृत्युपर्यन्तका सबै कार्य चलाउन बाध्य हुन्थे ।

बटौलीपछि दोस्रो व्यापारीक क्षेत्रको रुपमा परिचित पोखराको बजारका लागि उनीहरु अमलाचौर र आसपासका ठाउँबाट ४० रुपैयाँमा ८ माना घ्यू खरिद गरेर ५० मा बेच्ने उद्देश्य लिएर तिनै मानिसहरूलाई अमलाचौरदेखि कैयाहुँदै पर्वतको कुस्मा, खहरेया, चुवा, दोबिल्ला, गिज्याङको पदमार्ग भएर, कास्कीको भदौरे देउरालीमा पुगेर बास बस्नुपथ्र्याे । आफ्ना लागि आवश्यक खाद्यान्नसहित अन्य सामाग्री बोकेरै हिंड्ने उनीहरु रुखको फेदीमै रात बिताउँथे । अहिले पोखरामा सडकमै खाउँ सडकमै रमाउँ भन्दै सडक महोत्सव नै हुन्छ । यस्तो सडक महोत्सव त पहिले पहिले सधै संचालन हुने गरेको अनुभव गर्न सकिन्छ । किन कि त्यति बेला सडक अर्थात् बाटोमा खाने, सुत्ने र सडक (बाटो)लाई नै घर बनाएर आश्रय स्थल मान्ने बटुवाहरु प्रसस्त मात्रामा पाइन्थे । बटुवाहरुको उल्लेख्य ओहोरदोहोर चल्ने बाटोमा घाम, पानी, बाढी, पहिरो, जंगली जनावरको भय र रोगव्याधीको समस्याबाहेक अन्य कुराको समस्या हुदैनथ्यो । किनकी मानिसमा पवित्रतासहित शुद्ध आत्मा थियो भने तत्कालीन धार्मिक समाजमा पाप र पुण्यको डरले पनि मानिसलाई सहि मार्गमा हिंड्न प्रेरित गरेको हुन्थ्यो ।

यसरी पहिलो दिन बिक्रीका लागि हिंडाइएको घ्यू अर्थात् छोराछोरीको खुसी साट्ने उदेश्यको कारक घ्यूलाई शिरानमा राखेर रुखमुनी रात बिताएका उनीहरु भोलिपल्ट सबेरै कास्कीका पाउदुर र नागडाँडाका तरेली परेका पर्वत श्रेणीहरु घामले स्पर्श नगर्दै कट्थे । त्यसैगरी ल्याडे, सुइखेत र हेम्जाका फाटहरु पैदलै कटेपछि पोखरा पुग्थे । आफूले बोकेका सामानलाई साहूको घरमा बिसाएर दुईचार रुपैयाँ कमाइ हुने अभिलाषामा निधारका पसिना पुछ्ने उनीहरुले साहूको हातबाट प्राप्त रुपैयाँमा गर्व गथे । कछाडको छेउमा रुपैयाँ बाँधी नसक्दै चुरोटको मूल्य तिर्न तम्तयार हुने उनीहरु हलुँगो मनमाथि पुनः चुरोटको प्याकेट थमाउँदै शीरलाई बोझ अनि पाइलालाई गह्रौंपन दिएर घर फर्किन्थे ।
बिस्तारै बजारको विकास भएपछि घरायसी सामान लिनको लागि यी भरियाहरुको भूगोल परिवर्तन भयो । सधैं जसो बटौलीको गन्तव्य ताकेर हिंड्ने उनीहरु समयको परिवर्तनसंगै स्याङ्जाको सेतीदोभानमा किनबेचको कार्य गर्न थाले । आफ्नो मुख्य पेसा घ्यू उत्पादन र बिक्री वितरणलाई बनाएका उनीहरुले सेतीदोभानबाट चिनी, चियापत्ती, नुन, तेल, मिश्री, चाउचाउ, सलाई, साबुन, खुर्सानी, विस्कुट र अन्य व्यापारीक सामानहरु बोकेर ल्याउँथे । जीवनभर भरियाको काममा अभ्यस्त उनीहरु बिहान घरबाट हिंडेर सेतीदोभानबाट सामान किनबेच गरेर स्याङ्जाको ओइया अर्थात् चिलाउने भाटी भन्ने ठाउँमा फर्किएर बास बस्थे । भोलिपल्ट झिसमिसेमै बलेवाको बाटो तताएका भरिया कार्किनेटा, मल्याङ्दीखोला, ग्यादीहुँदै तालकुनाबाट कालीगण्डकी तरेपछि कैँया निस्केर साँझ घर आउँदा १०/११ बज्थ्यो । बटौली, पोखरा र सेतीदोभानको यात्राबाट दैनिकजसो एक जोली चप्पल फटाल्ने उनीहरुले २/३ दिनको हिंडाइ र वस्तु किनबेचबाट आफ्नै लगानीमा मात्र ५० रुपैयाँ कमाउँथे । यस्तै प्रसङ्गमा ८ दशकमाथिको उमेर काट्दै गरेका हजुरबुबा जनार्दन पौडेलले भन्नुहुन्छ । दुख त यतित्यति गरियो भन्ने साध्य छैन । अहिले छोरानातिले के पो दुख गरे होलान् भन्दा मन अमिलो हुन्छ । हाम्रो समयमा २/४ जनाको समूहले सिङ्गो गाउँमा हुने कर्म चलाइन्थ्यो । गाउँको दुख सुखमा हातेमालो गर्ने साथीहरु कती स्वर्गे भए, कति भगवानको बाटो हेरिरहेका छन् । ऊ बेला खाली खुट्टा बटौली पुगियो । पोखरा जाँदाका कहाँनी सम्झी नसक्नु छन् । २०२८ तिर त चप्पल आए । लाएर हिंड्न जानिदैनथ्यो । हातमा चप्पल समातेर खाली खुट्टै हिंड्यौं । घर परिवार छोराछोरीको खुशी र सामाजिक कर्म चलाउन सधैंभरी दुख गरियो । मान्छे धेरै हिंडे चाँडै बूढो हुन्छ भन्थे हो रच, अहिले ज्यानलाई पिंढीको छेउमा पुर्याउन गाह्रो हुन्छ ।

तत्कालीन समाज परम्परागत जीवनयापनले पूर्ण थियो । धर्मका अनगिन्ती स्वरुपहरुले परिबेष्ठित समाजमा पाप र पुण्यका डरलाग्दा भावहरु यत्रतत्र देखिन्थे । ९७ वर्षिय हजुराआमा वसुन्धरा पाध्या बताउनुहुन्छ । आटो, पिठो, कोदाको रोटी खाएर १८ घण्टा काम गरियो । दिनभरिको काम, बर्खाको समय असारदेखि कात्तिकसम्म बिहान आटो खाइन्थ्यो । हिउँदमा ढिडो माथिको थोरै भात मीठै हुन्थ्यो, ऊबेला अहिले जस्तो उत्पादन हुदैनथ्यो । जत्तिसुकै खेतीपाती गरेपनि बेलुका मोही र मकै खाने चलन थियो । कामको थकाइ र दिनभरिको दुखले तिनै मकैका ठेला पनि मिठै हुन्थ्यो । लोग्ने मान्छेहरुले बेलुकाको खान्की खाएपछि पनि केही समय काम गर्थे ।

हामीहरुले चुलोचौकोसहित घरको काम गर्थिम । लोग्ने मान्छे बारका काठ जस्ता थिए । कहिले उदाउँदो कहिले अस्ताउँदो घरा कहिल्यै बसेनन् । नौ वर्षमा बिहे भएको हो । कहिल्यै श्रीमानका आँखामा हेरेर बोलिएन । कुटानी पिसानीलाई मेलका जमना थिएनन् । रातभरी सारले कोदो, मकै पिसिन्तो । दिनभरी मेलापात छोराछोरीको रेखदेख एउटै आइमाईले भ्याउनु पर्नी, समयको पत्तो हुदैनथ्यो । कहिले पानी लिन जाँदा दुइचार घडी रात बाँकी नै हुन्थ्यो । सलाई लाइटरका जमना थिएनन् । एक दिन बालेको आगोले वर्षौ भात पाक्थ्यो । लोग्ने मान्छेको दाँजोमा काम अर्न पर्तो । रातीमा काम अर्नि चलन भएर निक्कै समस्यामा पाथ्र्याे । परिवारले भनेको मान्नै पथ्र्याे । होइबरै अहिले त के पो दुख छ र ? सबै काम मिसिनले अर्च पैसो भए भओ । ऊ बेला हाम्ले कति दुख अरेको हो अहिले पिंढीमा बसेर हेर्दा केइ नअरे जस्तो भैयो ।

यसरी परम्परागत विषवस्तु र रहनसहन अनि हाम्रा पू्र्खाको जीवनयापन अनौठा र सुन्दै कहालीलाग्दा रहेका छन् । हामी वर्तमानको भौतिक चामत्कारिकतामा रमाएका मानिसलाई ४÷५ दशक पुराना रहनसहन आश्चर्य लाग्दा छन् भने हामी पछिका पुस्ताको जनजीवन कतिसम्म प्रविधिमैत्री होला हेर्नै बाँकी छन् । आशा गरौं हाम्रा पूर्खाले बढो दुख गरेर आर्जेका सम्पत्ति विलिन हुने छैनन् । बरु उनीहरुकै संघर्षलाई प्रेरणा मानेर आगामी पुस्ताले नयाँ संरचना तयार गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->