कर्णाली यात्राको ३५ दिन ।
म थिए जुम्लाको अग्लो डाँडामा ।नाम ‘डाँफे भञ्ज्याङ’। जुम्ला चियाउने आँखीझ्याल भन्दा पनि अत्युक्ति हुँदैनथ्यो होला।
झोलाका फिताले काँधमा फोकाहरु उठेका थिए । पैतालाका त के कुरा गरु ? भुइँ टेक्दा पीडाले भुइँ टेके/नटेकेको मेसोसम्म पाएकोथिइन् ।शरीरका हरेक अंग अंगमा दुखाइ महसुस भएको थियो तर मन भने अझै उस्तै फुर्तिलो थियो । पैतालामा जोस रत्तिभर कम भएको थिएन । हरदिन नयाँ भूगोलदर्शन गराउने मेरा पैतालालाई मैले नमन गरेँ । धन्यवाद टक्राए । बीच बाटैमा पैतालाले हार मानिदिएको भए त मेरो के लाग्दो हो र ?
मोबाइलको अल्टिमिटरले देखायो, उचाइँ ३६९१ मिटर। जमिनको उचाइँ जसरी रमाएको मनको खुसी नाप्ने यन्त्र हुँदो हो त, देखाउँदो होला जमिनको उचाइँभन्दा दोब्बर तेब्बर । त्यस उचाइँमाचिसो ज्याद्रो थियो । उत्तरतिरका सेताम्य हिमालबाट बत्तिएर आएको चिसो स्याठ मुटु कपाउने खालको थियो । आङ्मा न्यायो ज्याकेट थपेँ अनि थपेँ मनमा खुसीका लहरहरु । वरपर ३६० डिग्री शिर घुमाउँदा जे जे दृश्यहरु देखेँ, पत्यार लाग्दो थिएन । चिसोलाई पर्वाह नगरी म एकहोरो हराइरहेँ जुम्लाको त्यो सुन्दरतामा ।
‘उ त्यो डाडाँ पछाडि न हो, ठाकुर ज्यु,’ यात्राका सहयात्री अमृतको यो वाक्यले मौनता भंग गरिदियो । मसँग जुम्लाबाट रारा यात्राका लागि जोडिएका सहयात्री थिए अमृत जंग रावल । देश घुम्ने र बुझ्ने हाम्रा समान रहरहरु थिए । देश घुमिहिँड्नेलाई साथी पनि उस्तै जुर्ने क्या !एकै रहरले गाँसिएको मित्रता हो उनीसँग । जुम्लाका फकिर यात्री उनले जुम्लाका डाँडाकाडा हिँडेरै नापिसकेका थिए । जुम्लाका अक्कर भीरपहरा, डाँडाकाडादेखि खोलाखोल्साका हरेक स्वाद उनीसँग थियो । उनका ती अनुभवहरु सुन्दै हामी बाटो छोट्याउथ्यौँ ।
……….
मुस्ताङको कागबेनीबाट हिँडेका मेरा पैतालाहरुडोल्पाका अक्कर भीर पहरा खोला हुँदै जुम्लाको उँचो डाँफे भञ्ज्याङमा सुस्ताइरहेका थिए ।आँटे त सकिदो रहेछ नि, ३५ दिन पैदलमा कर्णालीको भूभागहरु नापिरहँदा मनमा उब्जिएको एउटै साहस बोल्यो ।यात्राभर ज्यानले वर्षा, हिमपात, गर्मी, चिसो र भोक प्यासका अनुभवहरु बटुलिसकेका थिए। अनि गमक्क पर्छु, आफ्नै यात्राका अनुभूतिहरुसँग ।
……..
साँघुरो गोरेटो बाटो । मुगु सडक सञ्जालले जोडिनु अघि जुम्लाबाट मुगु र हुम्ला जाने मानिसहरु यहीँ गोरेटो बाटो पछ्याउँथे ।जुम्लादेखि मुगु गमगढीको बाटो कस्सिएर हिँडे डेढ दिनको पैदल बाटो न हो । यहीँ बाटो गाइवस्तुको लामो लस्कर लिएर जुम्लीहरु लेक उक्लन्छन् । लेकको रौनकता अर्कै हुन्छ, अमृत थप्छन् । जाडो पलाउनु अघि मात्र उनीहरु घर फर्कदा रहेछन् ।जुम्ला बजारबाट यहीँ बाटो हामीलेपछ्याइरहेका थियौँ ।बजारबाट उकालो लागिरहेका हामीडाँफे भञ्ज्याङ पछि भने ओरालो बाटो समात्यौँ ।
जुम्ला बजारबाट गमगढी पुग्ने दुई मोटर बाटाहरु छन् । पहिलो बाटो हो, कालिकोटको नाग्मा, जुम्लाको सिञ्जा, बुलबुले हुँदै गमगढी जोडिने मोटर बाटो । दोस्रोः जुम्ला बजार, पातारासी, खाली, बुलबुले हुँदै गमगढी पुगिने बाटो । गाडीमा जुम्लाबाट रारा वा राराबाट जुम्ला पुग्न दोस्रो बाटो अझ छोटो र सहज पर्दो रहेछ । बृहत योजना नै बनेर तयार हुँदै गरेको यस सडकले जुम्ला र रारा ताल नजिक्याउने पक्का छ । यता दुवै गन्तव्यहरु पुग्न चाहाने पर्यटकहरुलाई सजिलै जोड्ने कुरा अमृत जीले सुनाए ।
धुपी र सल्लाका अग्ला अग्ला रुखहरु छिचोल्दै अघि लाग्ने बाटा लोभलाग्दा थिए । यात्राको रंग नै भनु, उकालो उक्लिनसक्नु, ओरालो ओर्लिनसक्नु । जीवनको वास्तिकता पनि त यहीँ हो, उकालो र ओरालोको मिश्रित यात्रा । ओरालो बाटोमा घुडा काप्न थालेका थिए । डेढ घण्टाको ओरालो हिँडेर हामी जुम्लाको खाली पुग्यौँ ।
चिटिक्क परेको सानो बस्ती हो खाली । खुल्ला चौर अनि सुक्का चौरमा एक तमासले घोडाहरु चरिरहेका थिए । यस ठाउँको सुन्दरता वर्णन गर्दै अमृत एक वर्ष अघि फर्कन्छन्, ‘छायानाथ मुगुको एक प्रसिद्ध धार्मिक स्थल हो । साउन पूर्णिमामा मेला भर्न हामी पोहोर साल यहीँ बाटो १ हप्ता हिँडेर छायानाथ पुगेका थियौं । वर्खा याममा यहाँको सुन्दरताको वर्णन गरेर कहाँ सकिनु ?वर्णन गर्दा शब्दहरु थाक्छन्रि/त्तिन्छन् । रंगीचंगी फूलहरुले यी फाँटहरु रंगिएका थिए । त्यहीँ रंगीन बगैँचाझैँ लाग्ने फाँटमा चरिरहेका घोडाहरु क्यान्भासमा उतारिएका चित्र झैँ लाग्थे । वास्तवमै जुम्लाको रंगीन रुप नियाल्न त वर्खायाममा नै जुम्ला आउनुपर्छ नि दिवश जी ।’
जुम्ला विचित्रको छ । लेक, तालतलैया, भञ्ज्याङ र उकाला ओरालाले थुप्रै जीवन्त कथाहरु बोकेका छन् । इतिहासका पानाहरु पल्टाउन फुर्सद कसलाई हुँदो हो ?प्रकृतिको सुन्दरतामा विचरण गर्ने समय कसलाई ? पर्यटनको प्रचुर सम्भावना बोकेको जुम्ला अझै गुमनाम रहँदा मन नराम्ररी कुडियो । नेपाल भित्रिने दश प्रतिशत पर्यटकलाई मात्र जुम्ला ल्याउन सकिए, पर्यटकले पनि फरक स्वाद पाउँथे र जुम्लाले पनि कोल्टे फेर्दो हो । अमृत र म यस्तै आशाका कुराहरु गर्दै नेउरीघाट पुग्यौँ ।
नेउरीघाट पुग्दा झमक्कै रात पर्यो । त्यहाँबाट अघि नबढ्ने निधो गर्यौँ । त्यहीँ खोला किनारमा हामीले टेन्ट गाड्यौंँ । दाउरा बटुल्यौं अनि आगामा आलु पोलेर खायौँ । टेन्ट गाडेर बसेको देखेपछि नजिकै गाउँका केटाकेटीहरु हामीसम्म आइपुगे । हामीसँग भएका खानेकुरा बाँडेर खायौँ । खुसी साट्यौँ र नाँचगानमा रमायौँ । रात छिपिएपछि उनीहरु आ–आफ्ना घर गए, हामी भने टेन्टभित्र पस्यौँ । छेवैमा बगेको खोलाको आवाज सुन्दै कतिबेला निदाइएछ, पत्तै भएन ।
………..
रारा यात्राको दोस्रो दिन । रातिको चिसो औधी थियो । बिहान उठेर हेर्दा तुसारोले टेन्ट सेतै थिए, हिउँले ढाकिएझैँ । रुझेको टेन्ट घाम नलागि सुक्ने कुरै थिएन । वरपर डाँडाले घेरिएको त्यस ठाउँमा ठाउँमा घाम पनि अबेर मात्र झुल्कियो । नेउरीघाट छाँडेर अघि बढ्दा घडीमा नौ बजिसकेको थियो ।
हाम्रो पूर्व योजना दोस्रो दिन साँझसम्म रारा ताल पुग्ने थियो तर यस्तो हिँडाइले हामी बिच बाटामै बास हुने पक्का थियो । बाटामा भेटिएका स–साना गाउँहरु चिटिक्क परेका थिए । कोही खेतबारीमा काम गर्दै भेटिन्थे त कोही भाङोबाट तेल निकाल्दै हुन्थे । भाङो खेती यहाँको एक मुख्य खेती नै रहेछ । भाङको फल अचार खान एकदमै प्रचलित छ । यसका रेसाबाट उत्पादित धागोबाट विभिन्न लुगा, झोला आदि पनि तयार हुन्छन् । तर अझै भाङो खेतीलाई आधुनिकीकरण र बजारिकरण गर्न नसक्दा भने कृषकहरु त्यति लाभन्वित भएका छैनन् ।
……..

मोटर बाटो धुलाम्य थियो । मोटर गाडीहरु हुइकिएर अघि बढ्दा हामी धुलोमा हराइजान्थ्यौँ । वर्खामा हिलोले हिडिनसक्नु, हिउँदमा धुलोले, बाटा छेवैका घरका आमाले यर्थाथ सुनाइन् । सडकको स्तरोन्नतिसँगै यो समस्या हट्ने आशामा छन् गाउँलेहरुका ।
‘चौथा’ बस्तीबाट एक घण्टा उकालो लागेपछि बुलबुले पुग्यौँ । यहीँ नै सुर्खेतबाट सुरु भएको गमगढी जाने राजमार्ग भेटियो । नाम मात्रको राजमार्ग । साँघुरो त्यहीँ माथि धुलाम्य सडक । ‘कर्णाली राजमार्गमा जोखिमपूर्ण यात्रा’, ‘ज्यानमारा कर्णाली राजमार्ग,’ यस्ता यस्तै हुन्छन् पत्रपत्रिकाका हेडलाइनहरु । सदरमुकाम जोडिने राजमार्ग नै गुणस्तरीय नहुँदा यहाँका जनताहरुले खुबै सास्ती पाएका छन् ।
बुलबुले पुग्दा दिउँसोको दुई बजेको थियो । बिहानको खानासम्म नखाएका हामी खुबै भोकाएका थियौँ । सानो काठले घेरेको होटल थियो । होटलकी साहुनीले हामीलाई दिउँसो पनि खाना पकाउन राजी भइन् । खाना खाइवरी निस्कदा ४ बजिसकेको थियो । यहाँबाट नजिकको बस्ती थियो, पिना गाउँ । तीन घण्टाको बाटो नाप्न हामीलाई रात नै पर्ने भयो । हामी बीचमा रहेको घुचि लेकमा बास बस्ने निर्णय गरेर अघि बढ्यौँ ।
बुलबुलेबाट आधा घण्टा हिँडेपछि आर्मी चेक पोस्ट पुग्यौँ । रारा राष्ट्रिय निकुञ्जको क्षेत्र यहीँबाट सुरु हुन्छ । यहाँबाट दाहिने उकालो बाटो पछ्याइरह्यौँ । साँझ छ बजे घुचि लेकमा पुग्यौँ । वर्खा याममा यहाँ भेडा र गाइवस्तुका गोठहरु प्रशस्तै हुँदा रहेछन् । अहिले भने सुनसान थियो लेक । त्यहीँ हामीले टेन्ट टाग्यौँ । एक एक कप तातो चिया पिएर सुत्यौँ ।
…….
यात्राको तेस्रो दिन ।
लेकमा रहेका पानीका मुलहरु सबै सुकेका थिए । पिउनलाई हामीसँग पर्याप्त पानी थिएन । थोरै मन तातो पानी पिएर हामी बाटो ततायौँ । यहाँबाट दुई बाटाहरु थिए । लेकै लेकको बाटो हिँडेर मिलीचौर पुगेर रारा ताल पुग्न सकिन्थ्यो । अर्को थियो, पिना गाउँ, झ्यारी गाउँ, सल्ले बजार हुँदै मिलीचौर निस्किने बाटो । हामीले दोस्रो बाटो समात्यौँ ।
पिना गाउँसम्म ओरालो झरेका हामी फेरि उकालो बाटो समात्यौँ । डाँडामा रहेको झ्यारी गाउँ सानो तर चिटिक्क परेको थियो । यहीँ गाउँ छाडेर हामी पुग्यौँ सल्ले बजार । यहाँ निकुञ्जमा प्रवेश गरेकाहरुलाई इन्ट्री गराएर मात्र अघि बढ्न दिइन्थ्यो । हामीले दर्ता गरेर मिलीचौर पुग्यौँ ।
मिलीचौर सम्म परेको भूभाग थियो । रारा ताल किनारबाट निकुञ्जको कार्यालय, आर्मी चेक पोष्ट तथा होटलहरु हटाएर यहाँ स्थान्तरण हुने भएपछि यहाँ धमाधम पूर्वाधार विकासका कार्यहरु भइरहेका थिए । भवनहरु ठडिदै थिए । बाटा घाटा चक्लिदै थिए ।
अग्ला अग्ला सल्लाका रुख बीचबाट निराकर रारा ताल देख्दा पत्यार लागेन । जंगल माथिको निलो आकाश र रुखहरु बीचबाट देखिने निलो तालमा कुनै भिन्नता थिएन । कुदेर रारा किनारमा पुग्दा मन रमाएर चंगा भयो । भोक,थकान र प्यास छिनभरमै उडेर कता गए कता । रारा किनारमा आएका छालहरुसँगै हामी छचल्किरह्यौँ । तातो चिया पिउँदै सुर्यास्तको राराको मोहनीमा हामी हराइगयौँ । राराको सुन्दरतमा डुबेका हामी घाम कतिबेला डुब्यो पत्तै भएन ।
टर्च लाइट बाल्दै हामी पारि रहेको राष्ट्रिय निकुञ्जको कार्यालयतिर सोझियौँ ।





