बागलुङ/स्वास्थ्य कार्यालय बागलुङले सेवा प्रवाहको जानकारी र मासिक कार्ययोजनाको बिषयमा सूचना प्रवाह गर्न मासिक ‘बुलेटिन’ प्रकाशन सुरु गरेको छ । कार्यालयका काम कारबाहीलाई खुला, पारदर्शी र प्रभावकारी बनाउन बुलेटिन प्रकाशन सुरु गरिएको कार्यालय प्रमुख प्रविण शर्माले बताए ।
‘हाम्रो बुलेटिन सामान्य खर्चमा प्रकाशन हुन्छ, ई–बुलेटिन भएकाले कार्यालयको फेसबुक पेज र वेवसाईटमार्फत सबैको बीचमा पु¥याएका छौं’ शर्माले भने ‘कार्यालयको सूचना बोर्डमा एक प्रति टाँस गरेर कार्यालय आउनेका लागि जानकारी गराउने गरिएको छ ।’ बुलेटिनमा हरेक महिना स्वास्थ्य कार्यालयले संचालन गरेका गतिविधि तथा स्थानीय तहले संचालन गरेका स्वास्थ्यका मुख्य कार्यक्रमको बारेमा जानकारी समावेश गरिने शर्माले बताए ।
स्वास्थ्यका हरेक जानकारीहरु बुलेटिनमा समावेश हुने भएकाले सबैका लागि प्रभावकारी बन्ने कार्यालयका क्षयकुष्ट निरिक्षक देवप्रकाश घिमिरेले बताए । आगामी महिनाको कार्ययोजनासमेत उल्लेख गरिने भएकाले सेवा लिन चाहने सर्वसाधारणका लागि पूर्व सूचनामा बुलेटिन महत्वपूर्ण हुने उनको बुझाई छ ।
‘कार्यालयले के काम गर्यो र अब के गर्दैछ भन्ने सम्पूर्ण जानकारी समावेश हुँदा बुझ्न र सेवा लिन/दिन सहज हुन्छ’ उनले भने ‘स्थानीय तहले कार्ययोजना बनाउँदासमेत बुलेटिनले सहयोग गर्छ ।’ सूचनामूलक बुलेटिन मासिक रुपमा अनिवार्य प्रकाशन गरिने कार्यालयले जनाएको छ । बुलेटिनलाई आगामी दिनमा परिस्कृत गर्दै लैजाने शर्माको भनाई छ ।





