लमजुङ / मतदानमा मत बराबर भएपछि लमजुङको सुन्दरबजार नगरपालिका-८ भोटेओडारस्थित भक्ति आदर्श क्याम्पसको सभापतिमा २ जनालाई नै निर्वाचित गराइएको छ । दुवैजनाले २ वर्षे कार्यकाल पालैपालो अध्यक्षता गर्ने भएका छन् ।
नेविसंघ र अनेरास्ववियुका उम्मेदवारले बराबरी ६७-६७ मत पाएपछि कार्यकालको २ वर्ष दुवैजना सभापति हुने गरी टुंगो लगाइएको छ । आइतबारको मतपरिणामअनुसार नेविसंघका स्वस्तिका चिलुवाल र अनेरास्ववियुका मीना घलेले बराबरी मत प्राप्त गरेका थिए ।
सवै विकल्पमा छलफल गर्दा पनि सहमति हुन नसकेपछि नेपाली कांग्रेस सुन्दरबजार नगर सभापति र नेकपा एमाले सुन्दरबजार नगर कमिटी अध्यक्ष, बराबरी मत प्राप्त उम्मेदबारबीच सोमबार बसेको बैठकले २ वर्षे कार्यकाल दुवैजनाले आलोपालो अध्यक्षता गर्ने सहमति भएको निर्वाचन अधिकृत हिराबहादुर कार्कीले बताए ।
दुवै जना सभापतिका लागि क्याम्पसले दुवैजनालाई सभापतिको कुर्ची उपलब्ध गराउनेछ । पालैपालो बैठकको अध्यक्षता गर्ने सहमतिअनुसार पहिलो बैठक नेविसंघबाट निर्वाचित चिलुवालले गर्ने भएकी छन् । दोस्रो बैठकको अध्यक्षता अनेरास्ववियुबाट निर्वाचित घलेले गर्ने भएका छन् । बैठकमा दुवैजना अनिबार्य उपस्थित हुने सहमति समेत भएको छ ।
सो क्याम्पसमा सचिवमा नेविसंघका सुमित्रा बगालेले ७४ मत ल्याएर विजयी भएका छन् । अनेरास्ववियु क्रान्तिकारीका भावना नेपालले ५५ मत ल्याएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका सुस्मिता सापकोटाले ६४ मत ल्याएर विजयी भएका छन् । नेविसंघका मोनिका तामाङ ६० मत ल्याएर पराजित भएका छन् ।
खुला सदस्यमा नेविसंघका सोनिसा कार्की, अन्तिम गुरुङ, ईशा गुरुङ र अप्सरा नेपाली नेर्वाचित भएका छन् । समानुपातिकमा ३ जना नेविसंघ र १ जना अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् । भक्ति आदर्शमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी एउटै प्यालन भएर चुनावी मैदानमा उत्रिएका थिए ।





