
बागलुङ/क्रिकेटरद्वय करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित भएका छन् । राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू-१९ टोलीका सदस्य सुवासलाई बागलुङ नगरपालिकाले बुधबार सम्मानित गरेको हो ।
नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १ लाख रुपैयाँ नगद र यू–१९ टोलीलाई विश्वकपमा पुर्याउने सुवासलाई ५० हजार रुपैयाँ नगदसहित सम्मानित गरेको छ ।
खेलाडीलाई सम्मान गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले खेलकुदको विकासमा नगरपालिका सधैं लाग्ने बताए। उनले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउने र पूर्वाधार बनाउन प्रतिबद्ध रहेको बताए । ‘नगरपालिका खेल पूर्वाधार बनाउन प्रतिबद्ध छ,ु नगरप्रमुख श्रेष्ठले भने, ‘खेलाडी उत्पादन गर्न र खेलाडीको मनोबल उच्च बनाउनसमेत हामी लाग्नेछौं ।’
त्यस्तै खेलाडी सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद दिलमाया पौबीले खेलाडी राष्ट्रका गहना भएकाले उनीहरूको जीवन निर्वाहको लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताइन् । सम्मानित भएपछि बोल्दै करणले गृह जिल्लामा सम्मानित हुन पाउँदा थप हौसला बढेको बताए। उनले सम्मानले जिम्मेवारी थप बढेको र जिम्मेवारीलाई खेलकुदमा रुपान्तरण गर्ने र आशा र भरोसा तोड्न नदिने बताए ।
करण बागलुङ नगरपालिका–८ सिगानाका हुनभने सुवास काठेखोला गाउँपालिका–१ पालाका हुन् । राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलिङ अलराउण्डर करणले आईसीसी विश्वकप लिग–२ का खेलमा कूल ५० विकेट लिँदै सानदार प्रर्दशन गरेका थिए ।
त्यस्तै यू–१९ क्रिकेट टोलीका स्पिनर सुवासले नेपाललाई सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा पुर्याउन सानदार प्रदर्शन गरेका थिए ।





