शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

एकै पटक विदेशिँदै तीन फुटबलर

एकै पटक विदेशिँदै तीन फुटबलर


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०७९, बिहिबार

काठमाडौं / नेपालका एकपछि अर्को चर्चित फुटबलर विदेशिने क्रम जारी छ। ए डिभिजन लिग  र प्रधानमन्त्री थ्री नेशन्स कप चलिरहँदा तीनजना चर्चित फुटबलर विदेशिएका छन्।

मोरङको उर्लाबारीमा हुर्किएर राष्ट्रिय टोलीमा परिसकेका चर्चित फुटबलर रजिन धिमाल अष्ट्रेलिया उड्न लागेका छन्।  पछिल्लो समय मछिन्द्र क्लबबाट खेलिरहेका धिमाल ए डिभिजन लिग चलिरहेकै बेला भविष्य खोज्न अस्ट्रेलिया लाग्न लागेका हुन्।

उनलाई बिदाइ गर्न उनका साथीहरु अहिले त्रिभुवन विमानस्थलमा पुगिसकेका छन्।

यसअघि उर्लाबारीका अर्का चर्चित फुटबलर मिक्चेन तामाङ पनि अष्ट्रेलिया पुगिसकेका छन्। त्यसैगरी उर्लाबारीका अर्का फुटबलर सूर्य अधिकारी माल्टा र निरज बस्नेत न्युजिल्याण्ड पुगिसकेका छन्।

त्यसैगरी राष्ट्रिय टोलीका अर्का सदस्य सुजल श्रेष्ठ पनि अस्ट्रेलिया उड्न लागेका छन्। उनी पनि बिहीबार मध्यराति १२ बजे त्रिभुवन विमानस्थलबाट अस्ट्रेलियातिर उड्न लागेका हुन्।

उनी पछिल्लो समयमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्रबाट फुटबल खेलिरहेका थिए। ए डिभिजन लिग पनि खेलिरहेका उनले पछिल्लो समय मछिन्द्रबाट केपी ओली कप, भद्रपुर गोल्डकप खेलेर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

यसघि उनी २०७६ सालमा नेपाली टिमको कप्तान पनि भइसकेका छन्। २०७६ मा मलेसियाको च्याम्पियन जोहर दारुल ताजिमसँग मैत्रीपूर्ण प्रतिष्पर्धाका लागि उनले कप्तानको भूमिका पाएका थिए।

उनी यो सिजन मछिन्द्रमा कप्तानको भूमिकामा पनि थिए। उनी ६ दिनअघि ए डिभिजन लिगमा चर्च ब्वाइजसँग बराबरी भएको खेलमा पनि मछिन्द्रको कप्तानकै भूमिकामा मैदानमा उत्रिएका थिए।

अर्का फुटलबर सरोज दाहाल पनि शुक्रबार अस्ट्रेलियातर्फ उड्ने भएका छन्। उनी पछिल्लो ए डिभिजन लिग क्लब संकटाबाट खेलिरहेका थिए।

को को विदेशिए ? 
यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका दुई दर्जनभन्दा धेरै फुटबलर विदेशिएका छन्।

यसअघि विमल राना, गौतम श्रेष्ठ, दिनेश राजवंशी, अभिषेक रिजाल, सन्तोष तामाङ, सुमन लामा, दर्शन गुरुङ, आशिष लामा, , सुमन अर्याल, , तेज तामाङ, हेमन्त थापामगर विदेशिएका छन्।

नेपाली फुटबलमा चलेका खेलाडीहरु जगजीत श्रेष्ठ, सञ्जोग राई, विवेक बस्नेत, मिक्चेन तामाङ, एलन न्यौपाने, हेमन गुरुङ, दिलेन लोक्ताम, राजेन्द्र रावल, प्रविण सैँजु, विमल बस्नेत, अमिर श्रेष्ठ, गानदीप खड्का, शिव गुरुङ, नवीन गुरुङ, निरज बस्नेत, रोहित कार्की, राजन गुरुङ, रोशन खड्का र सूर्य अधिकारी छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->