हिन्दु समाजमा अत्यन्तै प्रचलित, प्रसिद्ध र सम्मानित नाम ब्राह्मण हो । संस्कृत भाषाबाट नेपाली भाषामा जस्ताको तस्तै आएको यस शब्दले वर्तमानमा समग्र एक जातिलाई चिनाउँछ । त्यसैगरी यसै शब्दको पर्यायमा बाहुन शब्दलाई पनि रुचाइन्छ । प्रारम्भिक चरण एवं उत्पत्तिको समयमा मानव जातीका नामले परिचित समुदायमा लिङ्गका आधारमा पुलिङ्ग र स्त्रीलिङ्ग गरि २ जातमा विभाजन गरिएको पाइन्छ । अर्कोतर्फ पृथ्वीमा उत्पन्न सम्पुर्ण प्राणी र वनस्पति लगायतलाई सम्बोधन हुने गरि अण्डज (अण्डाबाट उत्पन्न हुने), उद्विज (रोपेर फल्ने वा उत्पन्न हुने), स्वद्विज (आफै उत्पन्न हुने) र जरायुज (काटेर भाब्रा सर्ने वा कलमी गरेर उत्पन्न हुने) भनेर जातलाई चार भागमा विभाजन गरिएको छ । यसरी मानिस अण्डाबाट उत्पन्न हुने भएकाले अण्डज अन्तर्गतको भेदमा पर्दछ । यहि कारण प्राणीहरुमा मानव समुदाय एक जातिका रुपमा रहन्छ । हो यहि समुदायमा मानवका दुई जात पुरुष र महिला हुन्छन् । यिनै भेदलाई ऋषिमहर्षिहरुले पुराण र नीतिशास्त्रमा प्रस्तुत गरेका छन् ।
कालान्तरमा मानिसलाई गुण र कर्मका आधारमा चार भागमा विभाजन गरि समाजका दैनिक व्यवहारहरु चलाइएको थियो । समाजमा हुने गरेका काम कार्य र विनिमय प्रणाली चलाउन यिनै चार जातले अहम् भुमिका निर्वाह गर्थे जस्मा ब्राह्मण (आध्यात्मिकताका लागि उत्तरदायीत्व बहन गर्ने), क्षत्रिय (धर्म र देशको रक्षा गर्ने), वैश्य (व्यापार व्यवसाय र खेतीपाती गर्ने), र शूद्र (शिल्पकार एवं समाजमा कलाकारिता प्रस्तुत गर्ने) भनिएको थियो । यी कुनै जात विशेष होइनन् । कामकार्य चलाउन र समाजलाई उदारीकरणको दिशा प्रदान गर्न यी चार थरिका मानव समुदायको निर्माण तत्कालीन ठुलाबढाले गरेका हुनुपर्छ ।
हाम्रा वंशज एवं ऋषिमहर्षिहरुले जातका आधारमा नभई ‘वर्ण’का आधारमा मानिसहरुको भेद जनाएका थिए । जसमा विभिन्न वर्णमा मानिसलाई विभाजन गरिएको थियो । वर्ण शव्दले रङ्गलाई जनाउँछ । यसरी भिन्न वर्णले भिन्न काम गर्नुपर्ने नीति तत्कालीन समाजमा थियो । ‘जात’ शब्दको पर्याय ‘वर्ण’ होइन । तसर्थ वर्ण विभेदिकरणमा मानिसमा जडित आन्तरिक क्षमतालाई पहिचान गरि उनिहरुमा भएको ज्ञान, सिप, कला, क्षमता, कर्म र गुणका आधारमा ‘वर्ण’ छुट्याएको कुरा बुझिन्छ ।
अहिले नेपाली समाजमा ब्राह्मण एवं गैह्र ब्राह्मणहरुले जातका आधारमा विभेद गर्ने गरेको पाइन्छ । हुन त ब्राह्मण बाहेकका विभिन्न घोषित एवं अघोषित जातजातिमा पनि सानो ठुलो भन्ने चलन हाम्रो समाजमा छ । तथापि हामी बाहुन हौं भनेर बिना गुण र कर्म आफुलाई उपल्लो श्रेणीमा राख्न रुचाउने समुदायले थप विभेदका नजर घुमाउने गरेको पाइन्छ । यसरी थरका आधारमा यो जात त्यो जात भनेर विभेद गर्नु वर्तमान समाजमा ठूलो अभिशाप सिद्ध हुन्छ ।
हिन्दु धर्मग्रन्थ एवं पौराणिक कथाहरुमा कला, गुण र क्षमताका आधारमा कर्म शुद्धीकरण भएका अर्थात् क्षान्ति, ज्ञान, आस्तिक, शम, तप, दम, सरलता, पवित्रता, विज्ञान जस्ता गुणले युक्त व्यक्ति ब्राह्मण हुन्छन् । यसमा पैत्रिक नामले अस्तित्व राख्दैन । मात्र कार्यव्यापारले मानिसलाई ब्राह्मणको सूचीमा सूशुचित गर्दछ । ज्ञान विज्ञानका विषयमा चासो राख्ने मानिस नै ब्राह्मण हुन् । यसर्थ ब्राह्मण हुनका लागि विद्याआर्जन गरि काम, क्रोध, लोभ, मोह परित्याग गरेकै हुनुपर्छ । कुलका आधारमा ब्राह्मणको छोरो हुँ भनेर ब्राह्मणै हुम् भन्ने सिद्धान्त ब्राह्मणवादको पर्याय हो तसर्थ यसो भनिरहनु जरुरी छैन ।
ब्राह्मण मानेर पुज्नु फरक कुरा हो । अहिले नेपालमा प्रायः बाउबाजे पुरोहित भएकै आधारमा अनपढ छोरा नातिलाई पुरोहित मान्नु हिन्दुत्व विनाशको कारक हो । भने, यस्ता ब्राह्मणले आफ्नो अस्तित्व जोगाउन हरतरह प्रयत्न गर्दछन र आफ्नो फाइदाका लागि धार्मिक नीति नियमलाई समेत परिमार्जन गरेर धार्मिक अस्तित्व नै समाप्त पार्छन् र पारिरहेका छन् । त्यसैले विद्वान ब्राह्मण पुजौं । सत्पात्र एवं सत् व्यक्तित्वलाई पुजौं । बाहुन भन्दैमा बिना अध्ययन र विद्वताका मान्छेलाई नपुजौं र दान नदिउ । दान गरेपछि दान गरेअनुसारको फल पाउनुपर्छ । असत्पात्रलाई दिएको दानले दान दिने कर्तालाई बेफाइदा गर्दछ । अहिले हिन्दु धर्मको प्रभाव हराउनु र सोचे अनुरुप कर्मको फल नपाइनु यहि कारण हो । कर्म गर्ने÷गराउने ब्राह्मणले कर्मको फल पाइने नपाइने ज्ञारेन्टी दिन सक्नुपर्छ । अन्यथा शारीरिक र मानसिक कष्ट, धनदौलतको हिनामिना पार्दिएर धर्मको बद्नाम गर्नु अपराध हुन्छ । अहिलेको आधुनिक युगमा यस्तो ग्रह चल्या छ । उस्तो ग्रह चल्या छ । यस्ले यस्तो गराउँछ । यो दान गर्नुस् । त्यो दान गर्नुस् । भनेर परामर्श दिने ज्योतिषले पनि कर्म अनुरुपको जिम्मा लिन सक्नुपर्छ । नत्र त्रिमुण्ड दलेर त्रिकाल दर्शी विज्ञको नाटक मन्चन गर्नु निरर्थक छ ।
ब्राह्मण हुनलाई विद्वान हुनुपर्छ, क्षेत्री हुनलाई युद्धप्रिय, साहसी, पराक्रमी, राष्ट्रप्रेमी, शस्त्रास्त्रमा निपुर्ण एवं शासन कलासंग परिचित हुनुपर्छ । व्यापार व्यवसायमा दक्षता, कृषि उपजको उत्पादन र प्रवर्द्धन जस्ता कार्यले वैश्यलाई पुर्ण बनाउँछ भने कलाकारिता र शिल्पकारिताले शुद्रलाई थप उचाइमा पुर्याउँछन् । यिनलाई जातका आधारमा नभई कर्म र गुणका आधारमा विभाजन गरिएको थियो । यसर्थ पनि मानव समाजमा स्त्री–पुरुषभन्दा बाहिर अर्को जातको अपेक्षा गर्नु व्यर्थ देखिन्छ । अन्यथा समाजमा अर्काको अस्तित्व र मर्यादामाथी ठेस पुर्याउने ब्राह्मणले आफ्नो अस्तित्व संकटमा पार्ने पक्का छ । ब्राह्मणहरुले आफूलाई ब्राह्मणको सुचिमा राख्नुभन्दा पहिले ब्राह्मणका नैतिक नियमहरुको बारे जानकारी हुनु जरुरी छ । ब्राह्मण क्षमाशिल हुनुपर्छ, इश्वरिय सत्ताप्रति आस्थावान् हुनुपर्छ ।
आफ्नो मन तथा इन्द्रियहरुलाई पुर्णतः बशमा राखी सदाचारितामा रहन सक्ने हुनुपर्छ । धर्मको संरक्षणका लागि निशर्त कष्ट सहन सक्ने हुनुपर्छ । आफ्ना इन्द्रीयहरुलाई अधीनमा राख्न सक्ने हुनुपर्छ । सरल हुनु कोहि कसैलाई छलकपट नगर्नु, शारीरिक र मानसिक शुद्धतामा रहनु र सृष्टि प्रक्रियाका विषयमा दख्खल राख्नु, परोपकारी भावना र सामाजिक उन्नतीमा प्रतिबद्ध हुनुपर्छ । काम, क्रोध, लोभ, मोह र आशक्ती त्याग्नु पर्छ, बैदिक ज्ञानले भरिपूर्ण हुनुपर्छ, आफुले पढ्नु÷ अरुलाई पढाउनु, आफुले पनि सत् पात्रलाई दान दिनु÷आवश्यक परेको ठाउँमा सत् पात्रका रुपमा दान लिनु, यज्ञ यज्ञादि गर्नु÷गराउनु, अरुले श्रद्धा भावद्वारा दिएको वस्तु लिनु र आफुले पनि दिनु, दान पाएको वस्तु खानु÷सन्तुष्टि लिनु, आफू एक पटकको भोजनबाट तृप्त हुनु÷अरुलाई पनि तृप्तीका भावहरु सिकाउनु, जे छ त्यसैमा रमाउनु÷ अभावमा विचलित नहुनु, धनको पछि नलाग्नु, एक नारी ब्राह्मचारीको नियममा रहनु, सबैप्रति समान व्यवहार र दृष्टि राख्न सक्ने हुनु, समाजमा भए गरेका र हुने गरेका काममा समभाव प्रदर्शन गर्नु र विपत्तिको समयमा धर्यताको पाठ सिकाउन सक्नु ब्राह्मणको धर्म हो । उल्लेखित सन्दर्भको परिपालन गर्न सकेमा मात्र हामी ब्राह्मण हौं भन्न योग्य हुन्छौं । अन्यथा फरक कर्म गरेर धर्मको सिपाही हौं भन्न ब्राह्मणलाई नैतिकताले दिदैन ।
मानिस जन्मले होइन कर्मले उत्तम ठहरिन्छ । जन्म साध्य हो साधन होइन । साधन त त्यो हो जस्ले समाजमा उस्को कीर्ति फिजाउँछ । त्यसैले मान्छेको जात जन्मले होइन कर्मले निर्धारण गर्दछ । नीतिशास्त्रमा भनिएको छ ‘जन्मना जायते शूद्रा कर्मणा द्विज उच्यते, मानव जन्मँदा सबै शुद्र हुन्छन्, जन्म पश्चातका कर्मले मानिसलाई उच्च बनाउने हो । यस्तै गरेर संस्कारले मानव जीवनको सार्थकतालाई औंल्याउँछ । सद्गुणले युक्त माताको कोखबाट जन्मिए पनि संस्कार बिर्सिएको खण्डमा कदापी ऊ सद्गुणी बन्न सक्दैन त्यसैले मानव जीवनका लागि मुक्तिको उत्तम मार्ग भनेको संस्कार नै हो ।
पहिलेका ब्राह्मणहरु कर्म शुद्धतामा विशेष ध्यान दिन्थे ब्राह्मण हुनका लागि अग्लो ठाउँमा धेरै समय शान्तिसँग बस्न सक्ने, आफ्नो कर्तव्य पूरा गर्न सक्ने, कहिल्यै पनि उत्तेजनामा नआउँने, सधै एक नाशको वातावरण तयार गर्ने मानिसलाई ब्राह्मण भनिन्थ्यो । तर, अहिले अरुलाई होच्याएर, सानो देखाएर, कसैलाई दास बनाएर, भय देखाएर, लोभ देखाएर आफ्नो हैकम जमाउने व्यक्तिको सुचिमा ब्राह्मणलाई लिन थालिएको छ । यो मानसिकता प्रकट हुनुलाई ब्राह्मणवाद भित्रको शक्ति प्रदर्शन भन्न सकिन्छ । त्यसैले अहिले ब्राह्मणवादको तिव्र बिरोध हुने गरेको छ । समाजमा रुढीवाद, विभेदकारी र अवैज्ञानिक कुराहरुको चर्चा गरेर मानिसलाई डर देखाउनु ब्राह्मणको धर्म होइन । असहाय, अवला महिलामाथी रुढीबादी नजर लगाएर शुभाशुभको अर्थ जनाउनु, समाजमा अन्याय, अत्याचार र कुनै दल दलमा फसेका मानिस, किसानलगायत निम्न वर्गिय मानिसहरुलाई होच्याउने प्रवृत्ति नै ब्राह्मणवादी प्रवृत्ती हो भन्ने गुनासा यथोचित मात्रामा पाइन थालेका छन् ।
आफू धर्मको खोल ओडेर हिंड्ने नारीलाई देवी हुन् भनेर समाजमा चर्चा बटुल्ने तर, आफ्नै घरमा महिनावारी भएकी महिलालाई छुवाछुत गर्नु, गोठमा सुताउनु, काजकिरिया गर्नका लागि छोरै हुनुपर्छ भन्ने मान्यता राख्नु वा महिलालाई परोक्षमा धकेल्नु जस्ता कुराले ब्राह्मण हौं भन्नेहरुले नै समाजमा जातिय विभेद भित्र्याएको देख्न सकिन्छ । स्त्रीपुरुष बिना संसारमा सृष्टिक्रम नै रोकिन्छ भन्ने जान्दा जान्दै स्त्री र पुरुषमा भेद देख्नु ब्राह्मण स्वयंले अस्तित्व समाप्त पार्नु हो ।
महिला भएकै कारण स्वास्थ्योपचार र धर्ममा अधिक महत्व बोकेको तुलसी पत्र टिप्न बन्देज गर्नु, धर्मशास्त्र पढ्न, शंख बजाउन, कुश टुक्र्याउन, विष्णुको पुजा गर्न हुँदैन भनेर उद्घोष गर्नु ठुलो अपराध हो । कष्टपुर्ण व्रतको भारी नारीलाई मात्र बोकाउने ब्राह्मणहरुले एकै दिन एउटै व्यक्तिले १० ठाउँमा श्राद्द गर्न मिल्ने ? शुभ र अशुभ कार्य एकै दिन एउटै ब्राह्मणले गर्न मिल्ने ? ज्योतिषीका नाममा त्रिमुण्ड लगाएर सोझा साझा जनतालाई आफूमूखी तर्कले वसमा पार्नु, त्यसैगरी महिलालाई घरमा मात्र सिमित गर्नु, वेद छुन र पढ्न हुँदैन भन्नू । पाप लाग्छ भनेर नर्कको हाउगुजी देखाउने प्रवृत्तिले रुढीबादी र पितृसत्तात्मक समाजको स्पष्ट चित्र हाम्रो समाजमा पाइन्छ । आफू निरीह पैत्रिक ब्राह्मणको बिल्ला भिरेर धर्मको अनर्थ लगाउने, आफुले दुई छाक खानका लागि अनेक किसिमका बहाना बनाउने ब्राह्मणले आफू भने बिना चिन्तन मनन् अरुका कार्यमा बाधक बन्ने प्रवृत्ति मपाईंत्व प्रवृत्तीका साथै ब्राह्मणवाद नै हो भन्न सकिन्छ ।
यसर्थ नेपाली समाजमा हिन्दु धर्मशास्त्र जानेकै ब्राह्मणबाट विभेद भएको छ । ढुंगा, माटो, रुख, वृक्ष, भौतिक, अभौतिक, दृश्य, अदृश्य सबै कुरा र ठाउँमा भगवानको आत्मा हुन्छ भनेर पुजा गर्ने ब्राह्मणले शाश्वत मानिसमा जातीयता देख्नु निन्दनीय छ । पुराणहरुमा नारीलाई देवी हुन् भनेर भनिरहँदा तिनै देवीलाई तुक्ष मानेर वर्षभरि २ महिना गोठमा सुताउनु ब्राह्मणवादको पराकाष्ठा हो । आफै व्यासमा बसेर सबै प्राणीमा समभाव प्रदान गर्नु मानव मात्रको कर्तव्य हो भनेर पुराण वाचन गर्ने ब्राह्मणले पुराण सकिएपछि प्राणीहरुमा भिन्नता देख्नु झै दुख लाग्दो सन्दर्भ छ । विभिन्न बहानामा मानवीय समाज, संस्कृती र धार्मिक सहिष्णुता भत्काउने गरि कसैले कुनै कार्य गर्छ भने त्यसलाई कार्वाही गरिनु पर्छ । हो, ब्राह्मण र ज्योतिष वर्गमा भएका यी तमाम व्यथिती र विसङ्गतीहरुको अन्त्यका लागि नेपाल ज्योतिष परिषद, ब्राह्मण समाज, पन्चाङ्ग निर्णायक समिति, विद्वत समाज र विभिन्न धार्मिक अभियन्ताहरुले सक्रिय भुमिका खेल्नुपर्ने देखिन्छ । होइन भने नेपाल केही समयको अन्तरालमै पाश्चात्य संस्कृति सिकार बन्ने पक्का छ । त्यसैगरी हिन्दु धर्मावलम्बीहरु भित्रको आन्तरिक वैमनस्यता, जातिय द्वन्द र ब्राह्मणहरुका कुकृत्यको फल स्वरुप कृश्चियन धर्म संस्कृतिको विकास र विस्तारलाई मलजल पुग्ने छ । जय हिन्दु ।





