मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

‘भोटे कुकुर’का ‘रखवाला’

‘भोटे कुकुर’का ‘रखवाला’


  • दिवस गुरुङ
  • चैत्र १३ २०७९, सोमबार

करिब ४ हजार मिटर उक्लेपछि बागलुङको ‘लामेला बुकी’ पुगिन्छ। ढोरपाटनको माथिल्लो भेग हो यो लामेला बुकी ।
यहाँ अझै पनि ढोरपाटन उपत्यकाका स्थानीयहरु हरेक वर्ष गाइवस्तु लिएर गोठ बसाल्छन् । वैशाख जेठ महिनामा उक्लेका उनीहरु असोजतिरढोरपाटन झर्छन् ।
ग्वालाहरुले वस्तुभाउसँगै गोठमा पालेका हुन्छन्, अजंगका कुकुरहरु। बाक्ला भुत्लाले ढाकिएको अजंगको शरीर,लामालामा लत्रिएका कानहरु भएका, हेर्दैै आक्रमक देखिने ।

भेगै थर्कमान हुने यिनीहरुको भुकाइअझ खास सुनिन्छ । यी सामान्य कुकुर भने हैनन्। नेपालको रैथाने प्रजातिका भोटे कुकुर हुन्, यी । लाग्छ, गोठ मात्र नभई सिंगो खर्ककैरेखदेख गर्ने जिम्मा यिनीहरुको हो । त्यहीँ लामेला खर्कमा भेटिन्छन्, सन्देश थापा ।

उनी ढोरपाटनबाट दुई दिन हिँडेर यहाँसम्म आइपुगेका थिए।यो वर्ष मात्र हैन, उनी हरेक वर्ष हिँडेरै यहाँ आउँछन् । घुम्न, डुल्न वा फुर्सद समय बिताउनयहाँ आएका होइनन्–सन्देश ।

खर्क उक्लनुको कारण सुन्दासबैलाई अचम्म लाग्छ।
हो, यहाँ भेटिने भोटे कुकुरको प्रेमले उनलाई हरेक वर्ष यहाँसम्म डोहो¥याउँछ । केही वर्षदेखि निरन्तर भोटे कुकुरको अध्ययन, प्रजनन र संरक्षणमा तल्लीन एकपात्र उनी हुन् भन्दा फरक पर्दैन ।

खर्कका हरेक गोठगोठ चर्हाछन्।उनको कौशलता भनौं,आक्रमक र रिसाहा उपमाले चिनिने भोटे कुकुरसँग उनी एकैछिनमा झ्यामिहाल्छन् । तिनलाई फकाइफुलाइ जुकाको औषधि खुवाउँछन् ।रमाइरमाइ कुकुरहरु पनि उनीसँग निस्फिक्री खेल्छन्,उफ्रन्छन् अनि घण्टौं भुल्छन् । उनी यसैमा रमाउन थालेकोे वर्षले धेरै भयो । भोटे कुकुरसँगको प्रेम कम्ति रोचक छैन सन्देशको । हामीले सोध्यौं, उनले कुराकानीको पोयो फुकाए ।

..

घर उनको पाखाथर गाउँ, ढोरपाटन। उनको बाल्यकाल ढोरपाटनकै फाँटमा हाँस्दै र खेल्दै, बुकी उक्लदै र लेकका गोठहरु चहार्दै बित्यो ।वैशाख जेठ महिनामा हजुरबालाई पछ्याउँदै उनका पैतालाले पनि माथि बुकी यात्रा तय गर्थे ।उनी कहिले हजुरबासँगै घाँसपात बटुल्न लेकतिर जान्थे त कहिले गाइभैँसी चराउन पाटनतिर कँुद्थे । अनि उनीसँग साथैमा हुन्थे भोटे कुकुरहरु। दिनभर चराएर साँझ सकुशल गाइवस्तुलाई गोठ फर्काउने जिम्मा भोटे कुकुर र उनको हुन्थ्यो । दिन, हप्ता मात्र नभई महिनौं दिन उनी लेकमै हराउँथे ।

उमेरसँगै पढाइका लागि उनी पाल्पा र पोखरासम्म पुगे । पढाइ अघि बढाउँदै लगे ।
उमेर छिप्पिँदै गएपनि बाल्यकालका यादहरु बिर्सन कहाँ सकिन्छ ?उनले पनि बिर्सन सकेनन् । स्कुल छुट्टी भयो कि उनी लेकतिर उक्लिहाल्थे। कलेज पढ्दा पनि लेक उक्लिन उनले बिर्सेनन् ।समयसँगै सबथोक परिवर्तन हुँदै गयो । बाल्यकालमा दर्जनौँ गोठालाहरु गाइवस्तु धपाउँदै लेक उक्लँदाको त्यो रौनक आज छैन भने पनि हुन्छ ।
गोठमागाइवस्तुका संख्या घटे ।अनि सँगै घटे सुरक्षाका लागि पालिने भोटे कुकुरहरु । गोठैपिच्छे भेटिने भोटे कुकुरहरु आजभोलि मुस्किलले देखिन्छन् ।त्यो पनि पनि प्रायः ठिमाहा र हाइब्रिड प्रजातिका मात्र भेटिन्छन् । खाट्टी भोटे कुकुर त औंलामा गन्न सकिन्छ । हप्ता दिन ढोरपाटनका विभिन्न लेकहरु चहार्दा भोटे कुकुरको संख्या नाजुक देखे ।‘यही गतिमा संख्या घट्दै जाने हो भने केही दशकमा नेपालबाटै रैथाने भोटे कुकुर लोप हुुन्छ’, उनले एकलाप गरे ।
उनी एक्लै रन्थनिए ।

भोटे कुकुर लोप हुनबाट कसरी बचाउने होला ?

एक्लै जुक्ति लगाए। हजार उपाय खोज्दा पनि नपाएपछि आफैं कस्सिन्छु भनेर लागिपरे ।अनि त उनी भोटे कुकुरको संसारमा जोडिए।
भोटे कुकुरको अनुसन्धान, प्रजनन र संरक्षणमा उनी एक्ला थिए। एक्लै लागिरहेकै थिए ।

भोटे कुकुर जोगाउन सन्देशको लगाव देखेर उनको अभियानका अर्का सारथी थपिए पोखराका विजय पौडेल।सन्देशलाई पनि ‘ढुंगा खोज्दा देउतै मिलेजस्तो भो’ दुवैको अथक मिहिनेत, प्रयास र लगानीमा थुप्रै सपनाहरु जन्मिए अनि सँगै जन्मियो ‘भोटे कुकुरक्यानल न्याटिभ तिब्बतियन मास्टिफ ब्रिडिङ्ग सेन्टर’ ।

नामले नै सबथोक बताउँछ, यो भोटे कुकुरको अनुसन्धान, प्रजनन र संरक्षणमा खोलिएको सेन्टर हो । सेन्टरबारे प्रकाश पार्दै सन्देश थप्छन्, ‘विदेशी ब्रान्डका प्रजातिहरुले नेपालमा प्राथमिकता पाउँदा नेपालकै रैथाने प्रजाति संरक्षणबिहीन अवस्थामा छ । यति मात्र नभइ कालान्तरमा यो प्रजाति नै लोप हुने अवस्था सिर्जना नहोला भन्न सकिन्न । हामी दुईको यो सानो प्रयासले ठूलै परिवर्तन नआए पनि परिवर्तनको सानो झिल्को ल्याउनेमा हामी विश्वस्त छौं ।’

सपनालाई यर्थाथमा परिणत गर्न त्यति सजिलो भने थिएन।विजयलाई सम्झना छ, सुरुआतमा पर्याप्त लगानी र पर्याप्त सीप नहुँदाको ठक्कर।सपनालाई यर्थाथतामा बदल्न त्यति सजिलो कहाँ हुनु ?‘सेन्टर सञ्चालनमा आवश्यक प्राविधिक, प्रशासनिक ज्ञानहरुसिक्न हामी विभिन्न ठाउँमा सञ्चालित सेन्टरहरुमा पुग्यौं । निर्मलपोखरीमा अवस्थित मेरै घरसँग जोडिएको जग्गालाई सेन्टर सञ्चालनका लागि छुट्यायौं,’ विजय भन्छन्, ‘वरपर तारबार लगाउन र कम्पार्टमेन्ट बनाउन आवश्यक सामाग्रीहरु किन्न ऋण नै काढ्यौं । सबैभन्दा धेरै लगानी चाँहि भोटे कुकुर खोज्न, किन्न र यहाँसम्म ल्याउन नै खर्चियौं ।’

भोटे कुकुर खोज्नु त्यति सजिलो काम थिएन ।भोटे कुकुर खोज्न सन्देश बागलुङ, रोल्पादेखि रुकुमका गोरेटोहरु नापे । लेकका जम्मै भेडीगोठ चहारे ।यता विजय भने पूर्वका इलाम, पाँचथरदेखि ताप्लेजुङ फन्को मारिसकेका थिए ।

भेटेका भोटे कुकुरहरु पनि प्रायः उमेर गएकाहरु हुन्थे जसले धेरैमा एक दुई पटक मात्र प्रजनन गर्न सक्थे । महंगो दाम हालेर उनीहरुले ल्याएका कुकुरहरु कोही एक वर्ष नबित्दै बिते पनि । भर्खरका कुकुरहरु कम मात्रामा भेटिने भएकाले उमेर छिप्पिएकै भएपनि एक पटक प्रजनन गराउन सके यसैमा उनीहरु सन्तुष्ट हुन्थे ।

सन्देशलाई इमान्दारिता, कर्तव्यनिष्ठ र बफदारिताको पर्याय लाग्छ कुकुर। अझ यस्ता गुणहरु उनी बढी भोटे कुकुरमा भेट्छन् ।केही वर्षअघि उनी र साथीको संयुक्त लगानीमा पोखरामा भोटे कुकुर अध्ययन, प्रजनन एवं संरक्षण केन्द्र सुरु गरेका उनीहरुको नाफा कमाउने भन्दा पनि विशुद्ध भोटे कुकुरको अध्ययन, प्रजनन र यसको संरक्षणमा केन्द्रित थियो ।‘यो हाम्रो सानो प्रयाससहितको सुरुआतिपाइला मात्र हो ।थोरै लगानी, कम जनशक्ति र सीमित स्रोतसाधनमा छोटो समयमै उल्लेखनीय नतिजाहरु आउन नसकेपनि यसमा हामी सन्तुष्ट छौं,’ सन्देश सुनाउँछन्, ‘विस्तारै यसलाई भोटे कुकुर अनुसन्धान एवं अध्ययन केन्द्र बनाउने महत्वाकांक्षी सपना हामीले बुनेका छौं ।’

भिन्न सेण्टर

‘अन्य क्यानल हाउसहरु विभिन्न प्रजातिका कुकुरको प्रजनन र विक्री गर्छन् भने हाम्रो यो सेन्टर मात्र नेपाली भोटे कुकुरकै लागि खोलिएको सेन्टर हो । भोटे कुकुरबाहेक अन्य कुनै ब्रिडको कुकुरको प्रजनन, अध्ययन र बिक्री हाम्रोमा हुँदैन । हाम्रो नितान्त प्रयास भनेकै नेपाली रैथाने भोटे कुकुरको संरक्षण गर्नु हो,’ विजयले अघि सुनाए।

सुन्दा अचम्म लाग्ला!यस सेन्टरमा प्रजनन भएका र विक्रीमा रहेका हरेक कुकुरको आफ्नै जन्मदाता प्रमाणपत्र पनि हुन्छ। विक्रीमा रहेका हरेक कुकुरका नाता प्रमाण पनि पेश गरिन्छ। विजय थप्छन्, ‘हामी चाहान्छौं कि हामीले प्रजनन गरेका कुकुरहरु सबै रैथाने भोटे कुकुर नै हुन् । यति मात्र नभई उत्पादित कुकुर एउटै हाड नाता रहेका माउ र डागोबाट प्रजनन नभएको प्रमाणका रुपमा सम्भोग गर्दाको भिडियोहरु पनि सुरक्षित रहन्छन् । यसो गर्नुपछिको मुख्य कारण भनेको एउटै हाड नाताबाट प्रजनन भएका कुकुरहरुको विक्रीवितरण निरुत्साहित गर्नु हो ।’

भोटे कुकुर किन्नेहरु छाउराछाउरीको रंग र आवरण हेरेर मात्रै मोटो रकम तिर्न तयार हुन्छन् तर उनीहरुले ती एउटै हाड नाताबाट प्रजनन भएका हुन् हैनन् वा ठिमाहा प्रजातिका हुन् भन्ने बारेमा खोजीनिती गर्दैनन् । यसरी कुकुर किन्नेहरु नराम्ररी ठगिरहन्छन् । यस्तो नहोस् भनेरै यस सेन्टरले प्रमाणसहित मात्र छाउराछाउरीलाई बेच्ने गर्दछन् ।

किन हराउँदै छन् रैथाने भोटे कुकुरहरु  ?

केही वर्षअघि ग्रामीण भेगका तगारो कुरिरहेका भोटे कुकुर किन भेटिन्नन्?विशेषगरी हिमाली र पहाडी भेगहरुका गाउँ र भेडी गोठालाका साथी बनेका यी कुकुरहरु लेकहरुमा भेडीगोठहरु रित्तिँदै गएसँगै घट्दै छन् ।

एउटै हाड नाता रहेका माउँ र डाँगो कुकुरबीच सम्भोग भएकाले पनि असली भोटे कुकुरको मात्रा घटेको देखिने रहेछ। विजयका अनुसार गाउँघरतिर गाउँले र गोठालाहरुलाई यसको प्रजननमा उति चासो नहुँदा एउटै हाड नाता भएका कुकुरबीच सम्भोगबाट जन्मिएका बच्चा असली भोटे कुकुर होइनन् ।

विजय भन्छन्, ‘गाइभैंसीको प्रजननका लागि डागो लगाउन लगिएझैँ माउ कुकुरलाई पनि हाड नाता नपर्ने डाँगो लगाइनु पर्दछ। तर, आफ्नै खेतीकिसानी र वस्तुपालनमा व्यस्त हुने किसान र गोठालाहरुलाई यसको महत्व कसले बताउँलान्? वास्वतमै भोटे कुकुरको संरक्षणका लागि तिनै गाउँलेहरुलाई हाड नाता नपर्ने माउ र डाँगोबीच प्रजननबारे प्रेरित गर्न आवश्यक देखिन्छ।’

जन्मिएका छाउरालाई पाल्ने र छाउरीलाई चाहिँ जन्मिनेबित्तिकै मारिदिने चलन अझै पनि चल्तीमा छ। प्रायः सबै छाउरी पाल्न नै छाडेपछि कसरी प्रजनन हुन्छ र वंशज जोगिन्छ? वंशज जोगाउन माउ र डाँगोको उत्तिकै भूमिका रहन्छ। पुरुष र महिलामध्ये एक बिना यो सृष्टि अघि बढ्न सक्दैन।

कुकुरका छाउरीलाई वेवास्ता गरेर महंगो मूल्य तिरेर छाउरा किन्न र पाल्न मानिसहरु तछाडमछाड हुन्छन् । तर, वास्वतमै छाउराभन्दा छाउरी नै बढी बफदारी र इमान्दारी भेटिन्छन् । शान्त स्वभावका तिनीहरु भरसक अरुसँग लड्न र जुध्न जाँदैनन् ।यता डाँगो भने अलि उग्र, रिसाहा र लडाकु स्वभावका हुन्छन् । प्रजननको समयमा कति डागो माउको खोजीमा घरै छाडेर पर गाउँगाउँसम्म पुग्छन् । कति त उतै हराउँछन् तर माउ कुकुरमा भने यस्तो स्वभाव देखिदैन। तिनीहरु घर नै रुघेर बस्छन ।

शहरमै ल्याएर उनीहरुको प्रजनन, बिक्रीवितरण र संरक्षण कार्य आफैँमा चुनौतीको विषय बन्छ। हिमाली हावापानीमा हुर्कने यी कुकुरहरु शहरको गर्मी, खानपान र वातावरणमा सजिलै घुलमिल हुन सक्दैनन् । कति रोग लागेर त कति गर्मी खेप्न नसकेर अकालमै मर्छन्। त्यसैले यी कुकुरहरुलाई उनीहरुकै बासस्थानमा प्रजनन गराउने राम्रो व्यवस्था अति सान्दर्भिक बन्दछ।

बाइस नङ्ग्रे कुकुरको माग त्यसमध्ये एक हो । आममानिसको गलत बुझाइ छ, बाइस नङ्ग्रे कुकुर एकदम बलियो, अब्बल दर्जाको र बाघसँग पनि लड्न सक्छ । वास्वतवमा बाइस नङ्ग्रे गुण र यसको बानीव्यवहारसँग कुनै सम्बन्ध नै हुँदैन । मानिसहरु बाइस नङ्ग्रे भनेपछि ठिमाहा र अन्य ब्रिडका कुकुरलाई पनि चर्को मूल्य तिर्न तयार हुन्छन् । यस्तै गलत जानकारीहरु विभिन्न अनलाइन मिडियाले पनि फैलाइरहेका हुन्छन् ।

भोटे कुकुर पाल्नै छाडे

कुकुरमानिसहरुको पुर्खौंदेखिको नजिकको साथी हो। आजको समयमा कुकुर कोही बाध्यताले पाल्छन् त कोही रहरले । गाउँघरतिर जनधन र वस्तुभाउँको सुरक्षाका लागि पालिने कुकर शहरतिर सोख र रहरले पाल्छन्।यता महंगा विदेशी ब्रान्डेड कुकुरहरु पाल्ने फेशन नेपालमा चलेको पनि धेरै भएको छैन ।

छैन सरकारको कुनै चासो

हात्ती, गोही, सर्पलगायत विभिन्न जीवजन्तुको अध्ययन, अनुसन्धान र प्रजननका लागि सरकारकै प्रयासमा थुप्रै अध्ययन तथा प्रजनन केन्द्रहरु देशका विभिन्न ठाउँमा सञ्चालनमा छन्। यतिमात्र नभएर स–साना कीराफट्याङ्ग्रादेखि चराचुरुङ्गीसम्म र स–साना जडीबुटीदेखि ठूल्ठूला रुखविरुवाको खोज र अनुसन्धानका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुको प्रयासहरु प्रशंसनीय छन् तर नेपालकै रैथाने भोटे कुकुरको विषयमाभने चासो शून्य देखिन्छ।

कस्तो विडम्बना यो देशमा ! हात्ती, बाघ, भालुदेखि चराचुरुङ्गी र पुतलीसम्मको खानपान, रहनसहन, बासस्थानदेखि प्रजननसम्मको खोज अनुसन्धान गरेर थुप्रै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खोजपत्रहरु प्रकाशित भएका छन् । तर नेपालकै रैथाने भोटे कुकुरको विषयमा भने अझै सुरुवात समेत भएको देखिन्न ।

सानो/सरल प्रयास

दुई साथीको सानो प्रयासले सञ्चालनमा आएको यस सेन्टर ३ वर्ष लागिसकेको छ।सेन्टरमा १५ देखि २० वटा भोटे कुकुरहरु पालिएका छन्। माउ कुकुरहरुले छाउराछाउरी पाइसकेका छन् । लाखौं लगानी गरिसक्दा पनि अन्य प्रजातिका कुकुरको तुलनामा यसबाट भने मनग्य आम्दानी हुँदैन ।

तैपनि दुवै जना आफ्ना मिहिनेत र परिश्रममा सन्तुष्ट छन् । सरकारी निकाय एवं विभिन्न संघ संस्थाबाट साथ सहयोग र हौसलाको अपेक्षारत छन् दुवै । उनीहरुको प्रयासले पक्कै आम मानिसमा भोटे कुकुरप्रति स्थानीयमा चेतना ल्याउने नै छ।

निदाएको सरकार कति बेर त निदाउँला?यी दुई युवाको झकझकावटले कुनै दिन अवश्य ब्यूँझिने छ निदाइरहेको सरकार। अनि खुल्नेछ रैथाने भोटे कुकुर संरक्षण गर्ने चेतना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->