बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रामचन्द्र राष्ट्रपति बनेपछि तनहुँमा बल्ल गोविन्दको पालो

रामचन्द्र राष्ट्रपति बनेपछि तनहुँमा बल्ल गोविन्दको पालो

झापामा हारेका सिटौला र रुपन्देहीमा हारेका खाणको चर्चाका बीच तनहुँ १ मा भट्टराई बने उम्मेदवार ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०७९, सोमबार

पोखरा/ तनहुँमा वैशाख १० गते पुन निर्वाचन हुँदैछ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट विजयी बनेका कांग्रेसका रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति बने । उनी राष्ट्रपति बनेसँगै तनहुँ १ को प्रतिनिधिसभा निर्वाचन क्षेत्र रिक्त बनेको छ । यही रिक्त स्थानमा निर्वाचन आयोगले वैशाख १० गते मतदान हुने कार्यतालिका प्रकाशन गरेको छ ।

रामचन्द्र पौडेलको इच्छा रहिररहँदासम्म यो निर्वाचन क्षेत्रमा अरु कसैले अवसर पाएनन् । चाहे त्यो संविधानसभा क्षेत्र हुँदा होस वा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नै किन नहोस् ! नेपाली कांग्रेसका शीर्ष नेता रहेका पौडेलले आफूलाई यो क्षेत्र थाँती राखेर अरु उम्मेदवारलाई टिकट बाँड्थे । कांग्रेसको शीर्ष नेतृत्वमा नपुगेतापनि उनी अहिले देशकै शीर्षपदमा निर्वाचित बनेका छन । उनी राष्ट्रपति बनेसँगै बल्ल तनहुँ १ मा दोश्रोपुस्ताको अवसर आएको छ ।

कांग्रेसमा निरन्तर खटिरहने तर अवसर नपाउने नेताको उपमा पाएका गोविन्द भट्टराईलाई कांग्रेसले यो क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरेको छ । २०४८ सालयता लगातार रामचन्द्र उम्मेदवार बनेको यो क्षेत्रमा कांग्रेसका तर्फबाट दोश्रो उम्मेदवारको रुपमा भट्टराईलाई अगाडि सारिएको छ ।

कांग्रेसले रामचन्द्र पौडेललाई अगाडि सार्ने चर्चा हुँदादेखि नै भट्टराई उपनिर्वाचनको उम्मेदवार बन्न दौडधुप भने नगरेका होइनन । कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने भट्टराईलाई आइतबारको पदाधिकारी बैठकले अगाडि सार्ने निर्णय गरेको हो ।

उसो त, रामचन्द्र पौडेल राष्ट्रपति बनेलगत्तै यो क्षेत्रमा अन्यत्र जिल्लाका उमेदवार लाई लडाउने भन्ने चर्चा पनि नचलेका होइनन । पूर्वगृहमन्त्री बालकृष्ण खाँडदेखि झापामा पराजित कृष्ण सिटौलासम्मको चर्चा तनहुँ १ मा चलेको थियो ।

यहाँसम्म कि, राष्ट्रपतिका आकांक्षी कृष्ण सिटौलालाई उपनिर्वाचनमा तनहुँबाट उम्मेदवार बनाउने भनेर नै रामचन्द्र पौडेललाई राष्ट्रपतिमा अघि सारिएको भन्ने हल्ला तनहुँमा व्याप्त थियो । अर्कातर्फ, भट्टराई अगाडि बढे आफूहरुको पालो नआउने हुँदा बरु बाहिरका नेताहरुलाई नै यो क्षेत्रमा उम्मेदवार बनाउनको लागि तनहुँबाट नै लबिइङ पनि नभएको होइन ।

बाहिरबाट नेता ल्याएर चुनाव लडाइने चर्चाकै बीच चैत ६ गते एक कार्यक्रममा नेता आयात नगर्ने चेतावनी दिएका थिए । ‘यो ठाउँ नेताहरु धेरै भएको जिल्ला हो । यहाँका नेताहरु सक्षम छन् । यहाँ अन्यत्रबाट नेता झिकाएर लडाउनुपर्ने अवस्था छैन । यहाँ नै प्रशस्त नेता छन । यहाँ आयात होइन नेताको निर्यात गरिन्छ,’उनले भनेका थिए ।
तनहुँबाटै पनि यो क्षेत्रमा गण्डकीका पूर्वमन्त्री डोबाटे विश्वकर्मादेखि पूर्वसभापति रघुनाथ पौडेल, रामचन्द्र अधिकारी, दीपक भट्टराई संविधानसभा सदस्य रामचन्द्र पोखरेल लगायतका नेताले आकांक्षीको नाम टिपाएका थिए । तनहुँ कांग्रेसको प्रतिनिधीसभा क्षेत्र नं. १ को क्षेत्रीय समितिले १२ जना आकांक्षीको नाम संकलन गरेको छ ।

तर, आकांक्षी थुप्रै भएतापनि भट्टराइले टिकटमा बाजी मारेका छन । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका भट्टराई तीन कार्यकाल केन्द्रिय सदस्य बने, २०५३ सालमा नेविसंघको सभापति बने । तरुण दलमा उनी महासचिव बनेक छन । दुइवटा भातृ संस्थामा प्रभावकारी पदमा बसेर काम गरेका उनी अहिले पार्टीको केन्द्रीय सदस्य छन ।
कांग्रेसको संसदीय बोर्डले टिकटको टुंगो लगाइनसेकतापनि आफूले टिकट पाउनेमा विश्वस्त भएर आइतबार नै भट्टराई काठमाण्डौबाट तनहुँ फर्किएका छन । ‘पार्टीको काममा धेरै वर्ष बिताएँ, बल्ल पहिलोपटक टिकट पाएको छु,’उनले भने ।

सामाजिक सञ्जालमा पनि उनका शुभेच्छुकहरुले बधाई दिँदै जितको कामना दिएका छन । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ १ का जनता झनै खुसी भएको र यसले

निर्वाचनमा आफूलाई नै फाइदा पुग्ने उनको विश्वास छ । ‘तनहुँ १ बाट निर्वाचित नेता राष्ट्रपति बन्नुभएको छ, यसले यहाँका मतदातामा उत्साह बढाएको छ, उहाँहरु एकदमै खुसी हुनुहुन्छ, मंसिर ४ को निर्वाचन भन्दा यसपटक झनै बढि जनताले मलाई मत दिनेछन्,’उनले भने ।

मंसिर ४ को चुनावमा पौडेलले यो क्षेत्रबाट २५ हजार तीन सय १८ मत ल्याएर विजयी बनेका थिए । एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत ल्याएका थिए । स्वतन्त्र उमेदवार गोविन्दराज जोशीले भने छ हजार आठ सय ७८ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार ३२ र राप्रपाका विनोद घर्तीले दुई हजार चार सय ८३ मत ल्याएका थिए ।

त्यतिबेला यहाँ ६८ हजार १५८ मत खसेको थियो ।तर, अहिले भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि वर्तमान सत्ता गठबन्धनलाई विश्वासको मत दिएको छ । यहाँ उसले उमेदवार उठाउँछ, उठाउँदैन निर्णय गरिसकेको छैन ।भट्टराईले भने आफू नै साझा गठबन्धनको उमेदवारको रुपमा प्रचारप्रसार तथा भेटघाटलाई अगाडि बढाएका छन । आफ्नो उमेदवारीलाई उनले तनहुँ कांग्रेसमा दोश्रो पुस्ताको अवसरको रुपमा पनि चिनाउन चाहान्छन । ‘दोश्रो पुस्तालाई अवसर आएको पनि हो, अर्कातर्फ तनहुँ कांग्रेसलाई संगठित बनाएर एक ढिक्का बनाउने जिम्मेवारी पनि हाम्रै काँधमा आएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->