नवलपुर/नवलपुरको विनयी त्रिवेणीमा बेवारिसे अवस्थामा फेला परेको हतियार र ती हतियारका विष्फोटक सेल रहेको क्षेत्रमा नेपाली सेनाको टोली पुगेर निस्क्रिय पारेको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ मा रहेको तालदेवी सामुदायिक वनभित्र रहेको बारीमा आइतबार हतियार र विष्फोटक पदार्थ भेटिएको थियो । सो क्षेत्रमा सोमबार दिउसो नेपाली सेनाको टोली पुगेर सेल डिस्पोज गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी सन्तोष पाठकका अनुसार कावासोतीमा रहेको हात्तिखोर ब्यारेकको सेनाको टोली पुगेर हतियार र सेल निस्क्रिय पारेको हो ।अस्थायी प्रहरी चौकी सर्दीवाट १८ किलोमिटर उत्तरतर्फ पहाडी क्षेत्रको वन र बस्ती नजिकैको बारीमा आईतवार दिउँसो गोठालाले बेवारिसे अवस्थामा ती बस्तु भेटेका थिए । गाउँलेहरुले वेवारिसे बम भेटिएको भन्दै प्रहरी प्रशासनलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरेका स्थानीयले दुर्घटना नहोस् भन्ने अभिप्रायले ती बस्तुहरु खाल्डोमा पुरिदिएका थिए । राति नै घटनास्थल पुगेको प्रहरीले घटनास्थललाई नियन्त्रणमा राखेको थियो ।
सोमबार बिहान कावासोतीबाट पुगेको डिस्पोज टोलीले सबै बस्तु निस्क्रिय पारेको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा ९ थान हतियार भेटिएका छन् । वेवारिसे अवस्थामा भेटिएका ती हतियार ८१ एमएम एचइ ६२ दशमलव ९ विए हो ।
८ वटा हतियारमा केसभित्रै सेल रहेको र १ थान केसरहित अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ ।प्रहरीले ती हतियारजन्य बस्तुहरु कहिलेदेखि रहेको वा कसले छोडेको भन्ने पुष्टि गरिनसके पनि द्वन्दकालीन अवस्थाको हुनसक्ने अनुमान गरेको छ । यस विषयमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ । २०६१ सालताका माओवादीले दुम्कीबासको प्रहरी कार्यालयमा आक्रमण गर्ने तयारी गर्दा सेनाले सूचना प्राप्त गरेपछि घेरा हाल्ने क्रममा ती हतियार छाडेर माओवादीका सेना भागेको जनसेनाका एक पूर्वकमाण्डरले बताएका छन् ।





