नवलपुर / नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृणीकरण तथा विस्तार अभियान) नवलपुरको बुलिङटारका सबै वडामा सम्पन्न भएको छ । ६ वटा वडा रहेको यो गाउँपालिकामा वडास्तरमा हुने अभियानका कार्यक्रम सम्पन्न भएको नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् केन्द्रीय अभियान्ता जमिन्द्रमान घलेले जानकारी दिए ।
घलेलाई केन्द्रीय कमिटिले बुलिङटार, गैंडाकोट र देवचुली नगरपालिकामा अभियान्ताको रुपमा खटाएको थियो । नवलपुरमा वडास्तरको अभियान सम्पन्न गर्ने बुलिङटार गाउँपालिका पहिलो भएको एमालेका जिल्ला कमिटिबाट खटिएका अभियान्ता विद्रोही गिरी बताए ।
गाउँपालिका स्तरीय कार्यक्रमबाट वडास्तरका कार्यक्रमहरु तय भएका थिए । वडास्तरसम्म तोकिएको काम समयमै भएको छ, अव टोल कमिटिहरुको बैठक, जनवर्गीय संगठनको बैठक तथा भेलाका कामहरु टोलस्तरमा हुनेछन् । टोल स्तरका बैठक र भेलाले पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यताहरु प्रदानकोे सिफारिस गर्ने काम चैत्र २० गते भित्र सक्ने र पालिकास्तरमा अभियानको समिक्षा हुने गिरीले बताए ।
चैतको २४ गते पालिकास्तरमा कामको समिक्षा हुन्छ गिरीले भने, ‘चैतको २९ गते पालिका स्तरका अगुवा कार्यकर्ताहरुको बीचमा प्रशिक्षण कार्यक्रम हुन्छ त्यसका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ आउनुहुन्छ ।’
पार्टीका नेता र कार्यकर्ता बीचको खाडलको कम गर्न अभियानले महत्वपूर्ण काम गरेको छ । पार्टीको नेतृत्वले राष्ट्रिय मुद्दामा खेल्नुपर्ने भूमिका शसक्त बनाउन कार्यकर्ताले आग्रह गरेका छन् । ‘
तपाईहरुले मुल धमिलो नबनाउनुहोस्, सुकिला मुकिला कुराले मात्र हुदैन, तल हामी धान्छौं तपाईहरु नहल्लिनुहोस् बुलिङटार-४ का एमाले वडाध्यक्ष कुलबहादुर ठाडाले भने, नेताहरु नै अवसरबादमा फस्दा समस्या हुने गरेको छ ।’ अभियानमा प्रदेश कमिटीका सदस्यहरु गोपेन्द्रकेशरी न्यौपाने, टंकनाथ गिरी, टंक माकिम लगाएतका नेताहरु खटिएका थिए ।





