पोखरा/ ‘माननीय रामचन्द्र पौडेल राष्ट्रपति हुनु भइ रिक्त भएको तनहुँको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. १ मा कोही हकदार छ भने त्यो एकीकृत समाजवादी हो,’ फागुन २८ गते नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठले सामाजिक सञ्जालमा शेयर गरेको स्टाटस हो यो ।
यो स्टाटस लेखिसकेपछि तनहुँ १ मा नेकपा एसबाट उम्मेदवार बनाउनुपर्ने मागसहित उनले पटकपटक अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहित महासचिव घनश्याम भुसाललाई पनि भेटे । उनीहरुले भेटेनन मात्र, गठबन्धनबाट उम्मेदवार नरहे पार्टीमा नरहनेसम्मको चेतावनी पनि दिए ।
‘तनहुँ १ मा टिकट पाउनको लागि के के गनुपर्छ, केके भन्नुपर्छ । सबै भनेर आएका छौँ,’श्रेष्ठले भने ।
वर्तमान सत्ता गठबन्धनबाट तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार बने लगभग पक्कापक्की भइसकेको छ । तर, श्रेष्ठको चर्चा भने सेलाएको छैन । बुधबार एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँगको भेटको तस्वीर सार्वजनिक भएपछि एमाले तनहुँमा पनि उम्मेदवारको रुपमा उनको चर्चा अझै बढेको छ ।
रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले प्रकाशन गरेको कार्यतालिकाबिच तनहुँमा २० गते उम्मेदवारको मनोनयन दर्ता गर्नेछन । निर्वाचनको मिति नजिकिँदै जाँदा तनहुँ एमालेबाट उमेदवार को बन्छन भन्नेमा अनेकन अड्कलबाजी बढेका छन ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका पौडेलले २५ हजार ३१८ मत ल्याएर विजयी बन्दा एमालेका उमेदवार एकबहादुर रानामगरले १९ हजार ९४३ मत ल्याएका थिए ।
राना अहिलेको उपनिर्वाचनमा उमेदवार बन्ने चर्चामा छैनन । तर, उपनिर्वाचनका आकांक्षी भने दर्जनौँ छन । त्यसकैं बीचमा थपिएका छन, नेकपा एकीकृत समाजवादीका नेताहरु पनि ।
बुधबार एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको सचिवालयले एउटा तस्बिर सार्वजनिक ग¥यो । फेसबुकमा राखिएको उक्त तस्बिरमा उपमहासचिव गुरुङसहित नेकपा एसका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्की, मनमाया श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, रनसिंह नेपाली लगायतका नेताहरु छन ।
बुधबार सार्वजनिक भएको यो तस्वीर सोमबारको हो । उनीहरु धादिङको सिक्रेखोला स्थित एउटा रेष्टुरेन्टमा भेट गरेका थिए । समाजवादीका नेताकै चाहनामा भेट भएको स्रोतको भनाइ छ ।
एमाले तनहुँले बिहिबार नै उम्मेदवारका आकांक्षीको नाम संकलन गरेर प्रदेश कमिटीमा पठाउँदैछ । निर्वाचन नजिकिँदै गर्दासमाजवादीका शीर्ष नेतासँग एमाले नेता गुरुङको भेटलाई अर्थपूर्ण मनिएको छ ।
अन्य पार्टीका नेतालाई प्रवेश गराएर एमालेबाट उम्मेदवार बनाउने चर्चा पनि तनहुँ एमालेवृत्तमा नचलेको होइन । पृथ्वीसुब्बासँगको भेटको उक्त तस्वीरले एमाले प्रवेश गरेर प्रतापलाल श्रेष्ठ उमेदवार बन्ने तनहुँ एमालेको चर्चालाई थप मलजल गरेको छ । मंगलबार मात्रै नेकपा एसका स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पार्टी छाडेका छन । माधव नेपालबाट पार्टी नचल्ने निष्कर्षसहित पार्टी छाडेको उनको भनाई छ ।
मंगलबार पार्टी छाडेका जंगली र बुधबार सार्वजनिक तस्वीर अनि तनहुँमा चलेका चर्चाका बीच उम्मेदवार छनोटको रस्साकस्सी पनि बढ्दै गएको छ ।
एमालेबाट उम्मेदवार बन्ने चर्चामा रहेको श्रेष्ठ २०७८ भदौ १९ गते नेकपा एसको गण्डकी सचिव चयन भएका थिए । उनी मंसिर ४ गते कै चुनावमा गठबन्धनबाट उम्मेदवार बन्न चाहन्थे । कारण, सत्ता गठबन्धनबिच अघिल्लो निर्वाचनमा आफूले जितेको क्षेत्रमा अरु दलले दाबी नगर्ने समझदारी बनेको थियो । तनहुँको उक्त क्षेत्रमा ०७४ को चुनावमा एमालेबाट किसान श्रेष्ठले रामचन्द्र पौडेललाई हराएका थिए । पछि श्रेष्ठ नेकपा एसमा प्रवेश गरेर मन्त्री बने । नेकपा एसका सांसद बनेको श्रेष्ठले जितेपछि सो क्षेत्र २०७९ मा पनि नेकपा एसले नै पाउनेमा समाजवादीका नेताहरु आशावादी थिए । प्रदेश कमिटीको सचिव पनि भएका कारण प्रतापलाल टिकटका प्रबल दाबेदार थिए । तर, त्यहाँबाट जितेका किसान श्रेष्ठ बारातर्फ लागे ।
रिक्त ठाउँ उनले आफैले अघिल्लोपटकको निर्वाचनमा हराएका पौडेललाई छाडिदिए । तत्कालीन गठबन्धनबाट साझा उमेदवारको रुपमा कांग्रेसका पौडेलले टिकट पाएपछि श्रेष्ठको सम्भावना सकियो ।
रामचन्द्र पौडेल राष्ट्रपति बनिसकेपछि पनि उपनिर्वाचनमा तनहुँ १ नछाड्न श्रेष्ठ लगायतका नेताहरुले अध्यक्ष माधव नेपाललाई भेटेर नै दबाब पनि नदिएका होइनन । तर, उनीहरुको निष्कर्षमा माधवकुमार नेपाल नै कांग्रेसका सहयोगीजस्ता बनेका छन ।
मंगलबार जंगलीले पार्टी छाड्नुमा अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाएका छन । प्रदेश सचिव श्रेष्ठको बुझाई पनि करिबकरिब त्यस्तै बन्न पुगेको छ । ‘तनहुँ १ छाडेको खण्डमा पार्टीमा आफू रहन नसकिने’ चेतावनी उनले नेतृत्वलाई प्रष्ट रुपमा दिएका छन । पुरानो पार्टी एमालेमा नजिकिन थालेको भने उनी अगाडिदेखि नै हो । ‘एमाले पार्टीमा कोही धेरै मान्छे योगदान गरेका छन भने सीमित मान्छेमा म पर्छु,’ उनले आफ्नो एमाले मोह प्रष्ट पारे ।
बुधबार तस्वीर सार्वजनिक भएतापनि डेढ हप्ताअघि नै उनले पृथ्वीसुब्बालाई पोखरामा भेट गरिसकेका थिए ।
‘भेटघाटको विषयमा उपनिर्वाचन पनि एक हो, तर पुरानै पार्टीमा फर्किन उहाँहरुले इच्छा देखाइरहनुभएको छ र त्यसकै लागि सकारात्मक वातावरण बनाउन उपमहासचिवसँग भेट भएको हो,’स्रोतले भन्यो ।
पोखरा लेकसाइड नजिक एमाले नेता तथा प्रदेश सांसद गणेशमान गुरुङले होटल गुडविल सञ्चालन गरेका छन । सोही होटलमा पृथ्वीसुब्बा र प्रतापलाल श्रेष्ठसहित तनहुँ समाजवादीका नेताहरुले भेट गरेका थिए । त्यो भेटमा पुरानै पार्टीमा फर्किने मनसाय व्यक्त गरेपछि पृथ्वीसुब्बाले पार्टीमा कुराकानी गरे । पार्टीबाट सकारात्मक कुरा आइसकेपछि उनीहरुबिच दोश्रोपटक भेट भएको हो ।
सोमबार धादिङमा भएको भेट पृथ्वीसुब्बा काठमाडांै जाने र प्रतापलाल सहितका नेताहरु काठमाण्डौबाट फर्किने क्रममा भएको हो ।
‘उहाँहरुले (समाजवादीका नेता) भेट्ने भनेर काठमाण्डौमा नै कुरिरहनुभएको थियो, तनहुँको कार्यक्रम सकेर जाँदा ढिलाई हुनपुग्यो, गोरखाको पालुङटारमा रहेका एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले पनि भेट्ने भनेपछि तपाईंहरु आउँदै गर्नुहोस बाटोमा भेटौँला भनेको हो, धादिङमा भेट त्यसरी भएको हो,’स्रोतले भन्यो ।
उक्त भेटमा समाजवादीका नेताहरुले, ‘हामीले अध्यक्ष माधव नेपाल, झलनाथ खनाल, घनश्याम लगायतलाई भेटेर हामी पार्टीमा रहन सकिँदैन, रहिएन,’ भनेका थिए ।
श्रेष्ठले भने उक्त भेटलाई रमाइलो भन्छन । ‘हामी काठमाडौंबाट दमौली फर्किरहेका थियौँ, उहाँ (पृथ्वीसुुब्बा) चाहिँ लमजुङबाट एउटा कार्यक्रम सकाएर काठमाडांै फर्किँदै हुनुहुँदोरहेछ । खानीखोला भन्दा माथि जम्काभेट भयो, बस्यौँ, छलफल ग¥यौँ, कुराहरु पनि ग¥यौँ ।’
स्रोतका अनुसार नेकपा एसका शीर्ष नेताहरुलाई पार्टीमा नरहेको जानकारी गराउनसाथ उनीहरुले पृथ्वीसुब्बालाई फोन गरेर भेट्ने समय मागेका थिए । भेटमा नै श्रेष्ठले गुरुङलाई आसन्न चुनावमा आफू पार्टी नै प्रवेश गरेर भएतापनि एमालेबाट उपनिर्वानको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका हुन । पार्टी सकारात्मक भएको खण्डमा श्रेष्ठले पनि टिकट पाउन सक्ने सम्भावना रहेको एमाले नेताहरु नै बताउँछन ।
उक्त भेट र कुराकानीबारे श्रेष्ठले चाहिँ पार्टी एक गराउने विषय, उपनिर्वाचनका विषयमा छलफल भएको बताए ।
पृथ्वीसुब्बाले पार्टी एक हुनुपर्नेमा जोड दिए । नेताहरुलाई भन्न सुझाव दिए ।
श्रेष्ठ भन्छन, ‘अलिअलि सिग्नल त उहाँहरुले दिनुभएको छ । म त ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तनहुँ २ बाट नै लडेको हो । त्यो बेलामा एमाले पार्टी जोगाएको हो । कांग्रेसको दबदबा र चर्को प्रभावलाई खटाएको नै हामीले हो । माओवादीको दमनमा पार्टी टिकाएको पनि हामीले नै हो । माओवादीबाट अपहरणमा नै परेको पनि हुँ ।’
तर, टिकट पाइहालेको खण्डमा भने उनी चुनाव लड्न तयार छन ।
‘एमालेका कार्यकर्ता साथीहरुले पेल्छन, तपाई आएर चुनाव लड्दिनुभए हुन्थ्यो भन्ने खालको कुरा गर्नुभएको छ । मैले चाहिँ एमालेबाट बाहिर आइयो, आफ्नै पार्टी छ, गठबन्धन छ, गठबन्धनबाट आशा गर्ने भनेर त्यतैतिर लागिरहेको छु । टिकट पाउने कुरा अहिले नै टुंगोमा चाहिँ पुगेको छैन, साथीहरुको कुरामा भर पर्छ,’श्रेष्ठले भने ।
अहिलेसम्म गठबन्धनको कुरा गरेतापनि श्रेष्ठ एमाले फर्किने तय भइसकेको स्रोतको भनाई छ ।
‘टिकट पाए चुनाव अघि नै प्रवेश गर्छन, पाएनन भने चुनावपछि प्रवेश गर्छन, उनी एमालेमै फर्किन्छन,’ स्रोतले भन्यो । समाजवादीकै शंकरनारायण श्रेष्ठ पनि एमालेमा फर्केर चुनाव लड्न चाहान्छन ।
तर, तनहुँबाट नै स्थायी कमिटी सदस्य किरण गुरुङ पनि टिकटका आकांक्षीमा अगाडि नै देखिएका छन । संघमा वनमन्त्री भइसकेका र गण्डकीको अर्थ मन्त्रालय सम्हालिसकेका गुरुङ मंसिर ४ मा भने तनहुँ २ बाट कांग्रेसका शंकर भण्डारीबाट पराजित हुन पुगेका थिए । किरणले पनि पृथ्वीसुब्बालाई भेटेर आफू चुनाव लड्न इच्छुक रहेको बताएका छन ।
संगठनको मत, सिनियर नेताको हिसाबले सबैलाई मिलाएर अगाडि बढ्ने सक्ने भएको हुँदा किरणको पनि सम्भावना रहेको स्रोत बताउँछ । किरण अघिल्लोपटक प्रदेशसभाबाट चुनाव लडेका थिए । त्यहाँ जितेपछि उनी मुख्यमन्त्री बन्न चाहान्थे । तर, पार्टीले पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनायो । पृथ्वीसुब्बाको सरकारमा उनी अर्थमन्त्री बनेका थिए ।
तनहुँ २ को उपनिर्वाचनमा उमेदवार बनाउने क्रममा टिकट अध्यक्ष केपी शर्मा ओलीले नै दिने भएतापनि परामर्श लिँदा पृथ्वीसुब्बा, पद्या अर्याल, किरण गुरुङ लगायतका नेताहरु नै पर्छन ।
त्यसकारण टिकट कसले पाउँछ अहिले नै भन्न सकिने अवस्था छैन ।
तनहुँबाट नै चर्चामा आएका अन्य आकांक्षी नामहरुमा सर्वेन्द्र खनाल, टुकराज सिग्देल, पूर्णबहादुर गुरुङ, दिपकराज जोशी, मोहनकुमार विश्वकर्मा लगायतका नेताहरुको नाम चर्चामा छ ।
तीमध्ये खनाल नेपाल प्रहरीका पूर्व आइजिपी समेत हुन । खनाल पनि यस खगाडि नै टिकटका आकांक्षी थिए । तर, एमालेले उनलाई काठमाडौं ६ मा उमेदवार बनायो । खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका सांंसदसँग पराजित हुन पुगेका थिए ।
सिग्देल भने एमालेको तनहुँ इञ्चार्ज र पोलिटब्युरो सदस्य हुन । कसैलाई नचिढ्याएका, शालीन र भद्र नेताको छवि बनाएका सिग्देल संविधानसभा सदस्य पनि हुन । आकांक्षा राखेको खण्डमा एमालेले उनलाई उम्मेदवार बनाउने सम्भावना पनि उत्तिकै छ ।
पूर्णबहादुर चाहिँ कांग्रेसबाट एमाले प्रवेश गरेका हुन । उनले गत निर्वाचनमा तनहुँ २ (क) बाट प्रदेशसभाको टिकट पाएका थिए तर पराजित हुन पुगे । गत वैशाखको स्थानीय
तह निर्वाचनमा व्यास नगरपालिकाको मेयरमा हारेका दीपकराज जोशी पनि एमालेबाट उपनिर्वाचनको उमेदवार बन्न चाहन्छन । उनी कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा हुन । व्यासको मेयरमा उनी एमालेसँग मिलेर उमेदवारी दिएका थिए ।
तनहुँमा अझैपनि गोविन्दराजको व्यक्तिगत प्रभाव छ । व्यक्तिगत प्रभाव र एमालेको साथ पाए आफूले चुनाव जित्न सकिने हुँदा जोशीले पनि टिकटको लागि लबिइङ गरिरहेका छन । गोविन्दराज जोशी भने प्रतिनिधीसभा निर्वाचनमा रामचन्द्र पौडेलसँगै पराजित भएका हुन ।
एमालेले पब्लिक फिगर उमेदवारहरु पनि खोजी गरिरहेको छ । ती खोजीमा नछुट्ने नाम हो, ‘स्वर्णिम वाग्ले ।’ वाग्लेलाई एमाले अध्यक्ष ओलीले मंसिरकै चुनावमा भेटेर एमालेका तर्फबाट उमेदवार बन्न आग्रह गरेका थिए । तर, वाग्लेले मानेनन ।
उनले नआएतापनि अरु पब्लिक फिगरको खोजी पनि गरिरहेको एमाले स्रोत बताउँछ । त्यसको लागि पोखरा विश्वविद्यालयका डिन अमर नागिला सहितको टोलीले पनि लबिइङ गरिरहेको छ ।





