सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फुटबलमा दर्शक घट्दा सहारालाई घाटा

फुटबलमा दर्शक घट्दा सहारालाई घाटा

सहारा एकेडेमीले चौथो ब्याचका लागि खेलाडी भर्ना गर्ने ।


  • विजय नेपाली
  • चैत्र १७ २०७९, शुक्रबार

पोखरा/ २०५५ सालमा पोखरामा सहारा क्लबको स्थापना भयो । युवा जोश र जागरका साथ स्थापना भएको क्लबले एक कुरालाई अघि बढायो । त्यो हो फुटबल । ०५७ सालमा सहाराले पहिलो पटक कास्कीमा जिल्लास्तरीय लिगकम अकआउट फुटबल प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगिताले हौसिएको क्लबले ०५८ सालमा राष्ट्रियस्तरको क्याराभान गोल्डकप आयोजना गरेको थियो । ०५९ सालदेखि आहा गोल्डकप हुँदै आहा रारा र अहिले आहा रारा पोखरा गोल्डकप आयोजना गर्दै आइरहेको छ ।

सहाराले ०५८ सालदेखि प्रतियोगिता र फुटबल एकेडेमीलाई एकसाथ अघि बढायो । सुरुमा २५ बालकलाई प्रशिक्षण दिएको एकेडेमीले अहिले ३० जनालाई प्रशिक्षण दिनेछ । एकेडेमी, फुटबल मैदान अनि प्रतियोगिता आयोजना गर्ने सहारा क्लब नेपालकै एकमात्र क्लब हो । प्रतियोगिताको आम्दानीबाट बचत भएको रकमले नै एकेडेमी संचालन गरिदै आएको छ । हाल भने सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाख रुपैयाँ सहयोग गर्दै आइरेहेको छ । सहारा फुटबल एकेडेमी अहिले सूर्यबहादुर केसी मेमोरियल सहारा छात्रावास फुटबल एकेडेमी भएको छ ।

लामो संघर्षसँगै देशको अशान्ति भूमरीबाट समेत अघि बढेको एकेडेमीले अहिले चौथो ब्याचका लागि बाल खेलाडी भर्ना लिने तरखरमा रहेको छ । एकेडेमी संचालन हुँदै गर्दा अब भने फुटबल प्रतियोगिता गरेर एकेडेमी संचालन नहुने क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) बताउँछन् । उनका अनुसार पछिल्लो समय देशमा फुटबल हेर्न दर्शक मैदान जानै छाडिसके । दर्शकहरुमा फुटबल मोह घट्दा समस्या देखिएको उनी बताउछन् । ‘हिजोका दिनमा केही कमीकमजोरी भए त्यसले गर्दा हामीले भनेजति खेलाडी उत्पादन गर्न सकेनौँ । अहिले हामीले धेरै बच्चा आउन र त्यहाँबाट उत्कृष्ट बच्चाहरु निकाल्न पाइयोस भन्ने हाम्रो चाहना छ । यहाँबाट राम्रा खेलाडी समेत उत्पादन भएका छन् जब रिजल्ट आउने बेला भयो तब खेलाडी यहाँबाट बिदा हुनुपर्ने बाध्यता छ,’ उनले भने, ‘अहिले देशको फुटबलमा दर्शकको उपस्थित कम छ । अब हामी प्रतियोगितालाई मात्रै माध्यम बनायौ भने चल्न सक्दैनौँ, त्यसैले ब्याजबाट आउने रकम र सहयोगले नै चलाउने हो ।’

उनका अनुसार एन्फाले आफैंले एकेडेमी संचालन गरेका कारण सहाराका खेलाडी छायाँमा परेका छन् । एन्फाले आफ्नै एकेडेमीलाई प्राथमिकता दिँदासमेत समस्या आएको उनकाले भनाइ रहेको छ । उनले एन्फाले छनोट गरेर मात्रै टोलीमा राख्ने हो भने आफुहरुका धेरै खेलाडी राष्ट्रिय टोलीमा पर्ने बताए ।

एकेडेमीले तेस्रो ब्याजका खेलाडी उत्पादन सकिदासम्म सन्तोषजनक भने देखिएको छैन् । एकादुई बाहेक एकेडेमीका खेलाडी चर्चामा छैनन् । चर्चामा भएका पनि बाहिर बसेर एकेडेमीमा प्रशिक्षण लिने खेलाडी रहेका छन् ।

एकेडेमीमा भर्ना हुनका लागि २०७१ साल बैशाखदेखि चैत मसान्तभित्र जन्म भएको हुनुपर्नेछ । यस्तै बुबाआमा दुवैको मृत्यु वा कुनै एककको मृत्यु भएको हुनुपर्नेछ । शारीरिक रुपमा तन्दुरुस्त र फुटबल प्रति रुची भएको हुनुपर्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार एकेडेमीले बालकहरुलाई शिक्षा दिनेदेखि फुटबल सिकाउने सम्मको काम गर्नेछन् । आवश्यक कागजात पुगेका बालकहरुले आवेदन चैत मसान्तसम्म दिनुपर्ने छ । एकेडेमीले ३० जना बालकहरुलाई आवाससहितको व्यवस्था गर्नेछ । एकेडेमीले ०५८ मा पहिलो ब्याच सुरु गरेको थियो । त्यसपछि ०६१ र ०७० मा नयाँ ब्याज संचालन गरेको थियो । एकेडेमी संचालन गर्न वार्षिक ३० लाखेको हारहारीमा खर्च लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->