पोखरा/ माध्यामिक शिक्षा परीक्षा (एसईई) मा कास्कीबाट १० हजार ३ सय ३९ विद्यार्थी सहभागी भएका छन् । कुल १० हजार ४४८ जना परीक्षार्थी रहेको कास्कीमा एक सय ३ जना अनुपस्थिति रहे ।
यस्तै ३४ जना दृष्टिविहीन तथा बहिरा विद्यार्थी समेत परीक्षामा सामेल भएका छन् । दृष्टिविहीन विद्यार्थीलाई पढाउँदै आएको अमरसिंह माविबाट १३ जना दृष्टिविहीन परीक्षार्थी सहभागी भए । सिर्जना बहिरा विद्यालयबाट २१ जना परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिए ।
कास्कीमा ३४ परीक्षा केन्द्रहरु छन् । बिहान ८ बजेदेखि सुरु सुरु भएको परीक्षा शान्त वातावरणमा संचालन भएको उनले बताए । ‘विशेषगरी अपांगता भएका विद्यार्थीको तथ्याङ्क हामीसँग प्राप्त छैन् । सिर्जनामा बहिरा र अमरसिंह माविमा दुष्टिविहीन विद्यार्थी रहेको हामीलाई जानकारी छ,’उनले भने । उनका अनुसार अपांगता भएका सबै परीक्षार्थी सहभागी भएका छन् । त्यो बाहेक खुल्ला विद्यालयमा पनि दुई–तीनजना दृष्टिविहीन रहेको भन्ने अपुष्ट सूचना प्राप्त भएको उनको भनाइ छ ।
बहिरा विद्यार्थीका लागि एक जना दोभाषे शिक्षकको व्यवस्थापन भएको छ । बहिरा विद्यार्थीलाई पढाउँदै आएको विद्यालयबाट नै शिक्षक खटाएर सांकेतिक रुपमा प्रश्न बुझाउने काम भएको उनको भनाइ छ । उता दृष्टिविहीन विद्यार्थीका लागि लेखन सहयोगी राख्ने व्यवस्था गरिएको छ । दृष्टिविहीन परीक्षार्थीले उत्तर भनिदिने र सहयोगीले सोही कुरा लेखिदिने गरेका छन् । सहयोगी भने ९ कक्षासम्म पढ्ने विद्यार्थी राख्न पाउने व्यवस्था छ ।
अमरसिंह माविका प्रधानध्यापक तथा परीक्षा केन्द्राध्यक्ष तेजस्वी बरालले दृष्टिविहीन विद्यार्थीहरुलाई कुनै बाधा अवरोध विनै परीक्षामा सहभागिता गराएको बताए । उनीहरुका लागि छुट्टै व्यवस्था भएको र समय पनि साधारण विद्यार्थीको भन्दा बढी भएकाले कुनै समस्या नरहेको सुनाए ।
अमरसिंह माविमा ९ विद्यालयको परीक्षा केन्द्र परेको छ । उक्त विद्यालयमा ३८७ जना विद्यार्थीले परीक्षा दिइरहेका छन् ।





