तनहुँ / वैशाख १० गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय तोकिएको छ । तनहुँ-१ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउनका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय तोकिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका विभिन्न राजनीतिक तथा सरोकारवालासँग छलफल गरी उम्मेदवारी दर्ता गर्न आउँदा सबै दललाई समय तोकिएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले बताए । उनले भने, ‘एकैपटक सबै दल आउँदा भीडभाड हुने र उम्मेदवारी दर्ता कार्यक्रम अस्तव्यस्त हुने भएकाले दलको समन्वयमा समय तोकिएको हो ।’
उनका अनुसार नेकपा (एमाले) लाई विहान ११ बजे, नेपाली कांग्रेसलाई १२ बजे, नेकपा (माओवादी केन्द्र) लाई दिउँसो २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिउँसो १ बजे र नेकपा (एकीकृत समाजवादी) लाई १:३० को समय तोकिएको छ । अन्य राजनीतिक दललाई पनि सहमतिमै समय मिलाएर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाइने प्रयासमा रहेको उनले बताए ।
यस्तै, उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन सबै राजनीतिक दलसँग समन्वय गरिने मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताए । उनले भने, ‘उपनिर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउन सबै पक्षको सहयोग आवश्यक पर्छ । त्यसैले सबै दल तथा स्वतन्त्र उम्मेदवारसंग सहयोग र सहकार्यको अपेक्षा गरेका छौं ।’
उपनिर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन प्रशासन प्रतिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । उक्त छलफल कार्यक्रममा सहभागी नेपाली कांग्रेसका सचिव लक्ष्मीभक्त खनाल, एमालेका उपसचिव प्रदीपराज अधिकारी, माओवादी केन्द्रका अध्यक्ष ओमराज आले, एकीकृत समाजवादीका अध्यक्ष श्रीराम कार्की, राप्रपाका अध्यक्ष विनोद घर्तीलगायतले आचारसंहिता पालनामा आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताएका थिए ।





