बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँ, चितवन र बारामा आज उम्मेदवारी दर्ता

तनहुँ, चितवन र बारामा आज उम्मेदवारी दर्ता


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७९, सोमबार

तनहुँ / संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको रिक्त रहेका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । तनहुँ-१, चितवन२, र बारा-२ मा वैशाख १० गते उपचुनाव हुँदैछ ।

निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन दिईने निर्वाचन आयोगले जनाएको छ ।

२०७९ वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनय दर्ता गर्न सकिने जानकारी दिएका छन् ।

निर्वाचन आयोगले राजनीतिक दलहरूका लागि चुनावलक्षित १० बुँदे निर्देशन जारी गरेको छ । उपनिर्वाचनको उमेदवारी मनोनयनको पूर्वसन्ध्यामा आइतबार आयोगले दलहरूलाई निर्देशन दिएको हो ।

उनका अनुसार उमेदवारी मनोनयन गर्न जाँदा दलहरूले उमेदवार, समर्थक प्रस्तावकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान पाउने छैनन् ।

त्यसैगरी, मनोनयनपत्र पेस गर्न जाँदा बाजागाजासहित जान नपाउने विज्ञप्तिमा उल्लेख छ । उमेदवारको पहिचान, लोगो, टिसर्ट, ज्याकेट पनि लगाउन पाइने छैन ।

यस्तो छ आयोगको १० बुँदे निर्देशन

१. निर्वाचनमा उमेदवारको मनोनयनपत्र पेस गर्न जाँदा उमेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने,

२. उमेदवारको मनोनयनपत्र पेस गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता २०७९ विपरीतका ब्यानर, चिह्न र झण्डासहित जान नहुने,

३. उमेदवारको मनोनयको समयमा उमेदवारको पहिचान झल्किने लोगो, टीका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने,

४. उमेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उमेदवारको पक्षमा नारा÷जुलुस, भाषण र प्रतिस्पर्धीलक्षित गालिगलौज र टिकाटिप्पणी नगर्ने नगराउने,

५. उमेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पति प्रयोग गर्न नहुने,

६. नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उमेदवारको मनोनयनमा सहभागी हुन नहुने,

७. उमेदवारको मनोनयनका समयमा बालबालिककाको प्रयोग गर्न गराउन नहुने,

८. मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उमेदवारलाई आफ्नो सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने,

९. हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उमेदवारले उमेदवारी मनोनयन गर्न जान नहुने,

१०. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उमेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उमेदवारसँग सहभागी हुन नहुने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->