म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौरस्थित शान्तिचौकको भित्री गल्लीमा एउटा भवनमा लहरै १४ वटा सिलाई मेसिन राखिएको छ।महिलाहरू कोहि थरीथरी डिजाइनका कपडा काट्दै छन् त कोही सिलाउदै छन् ।दिनभरी मेसिन व्यस्त हुन्छन् । ग्राहकको आवतजावतसँगै फोनबाट समेत अर्डर लिने, सामान पु¥याइदिन राजिव जेन्स एण्ड लेडिज टेलरिङ सेन्टरकी सञ्चालिका हिरा शेरपुञ्जा र भुपेन्द्र जुग्जाली ब्यस्त छन् । तालिम लिएर स्वरोजगार बनेका महिलाहरूलाई कपडा सिलाउन भ्याईनभ्याई छ ।१८ बर्ष अगाडी साढे ६ हजारमा एउटा मेसिन खरिद गरी व्यवसाय सुरू गरेकी १० जना महिलालाई रोजगार दिएकी छन् ।चुलोचौकामा सिमित गाउँ घरका महिलाहरु विस्तार घर बाहिर निस्कन थालेपछि अहिले सिलाइकटाइमा जनशक्तीको अभाव छैन् ।
घरायसी काममा सिमित महिलालाई तालिम दिएर रोजगार दिएकी उद्यमी हिरा शेरपुञ्जाहिदी गाउँबाट बावियाचौर बजारमा आएर सिलाइकटाइव्यवसाय सुरू गर्दा कतिले त ‘यसको दिमाग बिग्रियो’ सम्म भने । धेरैले कानेखुसी गर्थे ।कथित तल्लो जातले गर्ने लुगा सिलाउने काम गरेर मगर समुदायको जात फाल्यो’ भनेर बुबाआमालाई सुनाउँथे । घरपरिवार पनि धेरै असन्तुष्ट थिए । जे गरे पनि समाजमा सम्मानित पेसा गर्नुपर्छ, टेलरिङ सम्मानित पेसा होइन भनेर धेरैले सम्झाउने प्रयास गरेपनि उनले आफ्नो ब्यवसायबाट विचलित भइनन् । मेसिन सहित सबै साम्रगी गरी करिब ४५ हजारको लागतमा सुरू गरेकी हिराले टेलरिङको काममा धेरै सोचेरै हात हालेकाले आफ्नो निर्णयमा अडिग रहिन् ।करिब दुईदशक एउटै ब्यवसायमा सक्रिय उनले अहिले कथित तल्लो जातीको काम भन्ने सबैलाई चकित तुल्याइदिएकी छन् । अहिले उनलाई न कामको कमी छ न दामको।संघर्षका ती दिनहरू सम्झिँदै उद्यमी हिराले भन्छिन्, ‘मैले सिलाईकटाई सुरू गरेर धेरै उद्यमी बनाएको छु, रोजगारी दिएर घर खर्च चलाउने बनाएको छु’ ।
सामान्य सिलाईकटाई काम गर्दै गएपछि मैले पैसा आएको देखेपछि करिब ८ बर्ष खाडीमुलुक कतारमा रोजगारीमा रहेका श्रीमान भुपेन्द्र जुग्जाली बुढाथोकी समेत फर्किएर टेलरिङमै ब्यस्त छन् ।‘घर खर्च चलाउन सुरू गरेको व्यवसायले आम्दानी गर्न थालेपछि झनझन् सजिलो हुँदै गयो, दुःख भएन। मेरो काम धेरैले मन पराउन पनि थाले,दिन प्रतिदिन ग्राहकहरू बढे’ उद्यमी हिराले भनिन् । श्रीमानको कतारमा हुने कमाई र टेलरिङबाट हुने कमाईमा केही अन्तर भएपछि विदेशलाई बिट मार्न लगाएको उनले बताइन् ।टेलरिङमा महिलाहरूको विभिन्न डिजाइनका कपडा,सर्ट, पाइन्ट,सुटहरू सिलाउने गरिन्छ ।
सिलाइकटाईमा सक्रिय दम्पत्तीले बार्षिक २० लाखभन्दा बढीको कारोबार गर्छन् । अहिले २५ लाखको हाराहारीमा लगानी भएको छ। गण्डकी प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री नरदेवी पुन मगरको सहयोगमा अनुदानमा समेत प्राप्त भएपछि ब्यवसाय सञ्चालनमा सहज भएको उनको भनाई छ । घरायसी काममा ब्यस्त हुने महिलालाई तालिम दिएर घरमै रोजगारी दिने योजना बनाएको उनले बताइन् ।
बढ्दै गएको लोकप्रियता र मागलाई सम्बोधन गर्न जनशक्ती र मेसिन थप गर्ने योजना रहेको भुपेन्द्र जुग्जालीले बताए । उनले श्रीमान श्रीमति भनेको एक सिक्काको दुई पाटो जस्तै भएकाले श्रीमतीको सफल ब्यवसायमा साथ दिएको बताए । टेलरिङमा विगत दुई बर्षदेखि कार्यरत अर्मनकी कुसुम विकले आफ्नो रुचीको क्षेत्र भएकाले सहज काम गर्ने वातावरण मिलेको बताईन् । उनले ६ महिना तालिम सिकेर काम सुरु गरेको बताईन् । टेलरिङमा कार्यरतले छोराछोरीको शिक्षादीक्षा सहित घरखर्च चलाउन सहज भएको बताउँछन् । सिलाईकटाई व्यवसाय महिलाहरुको लागी सजिलो र सुरक्षित भएको उनको भनाई छ । म्याग्दीमा टेलरिङमा लागेका महिलाहरुले रहरलाग्दो कमाई गरिरहेका छन् ।





