पोखरा/ गण्डकी प्रदेश विराटनगरको शहिर रंगशालामा जारी गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितको लिग चरणबाटै बाहिरिएको छ ।
शनिबार कर्णाली प्रदेशसंग २–२ गोलको बराबरी खेल्दै बाहिरिएका हो । ३ खेल खेलको गण्डकी २ हार १ बराबरी संगै १ अंक बटुल्दै लिगचरणबाटै बाहिरिएको हो ।
गण्डकीका संगम जेटी र असिम ठकुरीले गोल गरे । कर्णालीका लागि जीवन राउतले २ गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यसअघि शुक्रबार राति भएको खेलमा साबिक विजेता त्रिभुवन आर्मीले पूर्व विजेता गण्डकी प्रदेशलाई ८–१ को फराकिलो गोल संख्यामा हराएको थियो ।
आर्मीका रोमन रानाले ३ गोल, काशीराजले २ गोल, देवसिंह धामी र प्रदीप राजवंशीले समान १–१ गोल गरे । गण्डकीका असिम ठकुरीले एक गोल गरेका थिए।
नेपालमा पहिलो पटक रात्रीकालीन हक्की खेल शुक्रबार राति भएको थियो। प्रतियोगिताका संयोजक तथा पूर्व अन्र्तराष्ट्रिय खेलाडी रञ्जन थापाका अनुसार हक्कीलाई रात्रीकालीन बनाउन सकिने आधार तयार गर्ने क्रममा पहिलो पटक विराटनगरमा खेल खेलाइएको हो ।
आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश भने सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको लिगचरणका अन्तिम खेलहरुमा समूह ए बाट त्रिभुवन आर्मी क्लब पहिलो र नेपाल पुलिस क्लब दोस्रो स्थानमा रहँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
समूह ‘बि’ तर्फ सुदूरपश्चिम प्रदेश शीर्ष र मधेस प्रदेश दोस्रो स्थानमा रहँदै अन्तिम चारमा प्रवेश गरेका हुन् ।
आइतबार सेमिफाइनलका खेलहरु हुनेछन् । पहिलो खेल आर्मी र मधेस प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।





