बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

तालचोक–बेगनास सडक शिलान्यास

तालचोक–बेगनास सडक शिलान्यास

समयमा काम सक्न निर्माण व्यवसायीलाई प्रमुख आचार्यको निर्देशन ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०७९, सोमबार

पोखरा/ पोखराको तालचोकदेखि बेगनाससम्म निर्माणाधिन सडक–खण्डको सोमबार शिलान्यास गरिएको छ । विश्व बैङ्कको सहयोगमा स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरे ।

लामो समयदेखि निर्माणको चर्चा चलिरहेको यस सडक खण्डको निर्माण पछिल्लो पटक तोकिएको समय भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई प्रमुख आचार्यले निर्देशन दिए । ‘तोकिएको समय भित्र निर्माण सम्पन्न गर्नुभयो भने, कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई सार्वजनिक अभिनन्दन गर्नेछौँ ।’ प्रमुख आचार्यले भने ।

आगामी २०८१ साल चैत्र २६ गते यो सडकको उद्घाटन गरिने उनले अठोट व्यक्त गरे । तोकिएको समयमा लक्ष्य अनुसारको काम गर्न कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई निर्देशन दिँदै उनले यसका कुनै वाहाना बाजी नचल्ने प्रस्ट पारे । ‘२०८१ साल चैत्र २६ गते हामीले यो बाटोको उद्घाटन गर्नेछौँ’, प्रमुख आचार्यले भने, ‘किन्तु परन्तु, यो भयो, त्यो भयो भनेर कसैले भन्न पाउनु हुनेछैन, कन्ट्याक्टर र कन्सल्टेन्ट कसैले पनि, यसमा कुनै प्रकारको मोलाहिजा हुनेछैन ।’ पैसाका कारण काम नरोकिने भन्दै उनले गुणस्तरीय निर्माणमा जोड दिए ।

निर्माण व्यवसायी नारायण भुसालले तोकिए कै समयमा आफूले पाएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जाहेर गरे ।

यस परियोजनामा विश्व बैङ्कले रु.१ अरब ४९ करोड १५ लाख लगानी गर्नेछ । ३.२८ कि.मी लम्बाइको तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडर सहित चार लेनको हुनेछ । यस खण्डमा ५ वटा पुलहरू निर्माण गरिनेछन् ।

सडकको बिचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->