पोखरा/पोखरा- ९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृहको शिलान्यास गरे ।
महेन्द्रपुलको उत्तर तर्फ रहेको कि.न.८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण हुन लागेको हो । यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्नेछ । करिब एक करोडको लागतमा निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेनागृहका लागि ६० लाख बराबरको खर्च एनआरएनए र ४० लाख बराबरको खर्च भने महानगरपालिका आफैले बेहोर्नेछ । पोखरा महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् ।
मेयर आचार्यका अनुसार शौचालय पोखराका लागि नमूना हुनेछ । ‘चमेनागृह सहित महिला दिदीबहिनीहरूका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भेन्डर समेत समावेश हुनेछ,’उनले भने,‘ शौचालयसुविधा सम्पन्न होटेलको जस्तै हुन्छ ।’
उनका अनुसार शौचालयबाट निक्लने ग्यास चमेनागृहले प्रयोग गर्नेछ । चमेनागृह विशुद्ध नेपालीपनको हुने उनले बताए । चमेनागृह आसपासमा केही चौतारीहरू निर्माण गरिने छ भने अधिकांश ठाउँ खुल्ला रहने छ । शौचालयको आगामी २०८० को जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्ने उनले घोषणा गरे ।
एनआरएनएका मेगा प्रोजेक्ट संयोजक रविना थापाले शौचालयले पोखरा आउने पर्यटकहरूलाई सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवद्र्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गरिन् । पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले चुनावताका जनताका सामु आफूहरूले गरेका प्रतिवद्धताहरु पूरा गर्ने अभियान सुरु भएको बताए । एनआरएनएका कार्यकारी अध्यक्ष बद्री बहादुर केसीले विदेशमा जस्तै पोखरामा पनि सुविधा सम्पन्न अत्याधुनिक शौचालय निर्माण सुरु भएको बताए । महेन्द्रपुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्ने भएको छ ।
त्यसको शिलान्यास आगामी वैशाख १ गते गरिनेछ । त्यहाँ संयुक्त राष्ट्र संघमा आबद्ध १९५ देशसहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूको झन्डा समेत राखिनेछन् । पार्कको बीच भागमा नेपालको सबैभन्दा ठुलो झन्डा राखिनेछ ।





